Comments Add Comment

काठमाडौंमा हारेका योगेश भट्टराईले ताप्लेजुङबाट जित निकाले

प्रदेशमा एक एमाले, एक माओवादी, कांगेस शून्य

२३ मंसिर, ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । काठमाडौंमा निर्वाचन जित्न नसकेका एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा अत्यधिक बहुमतले निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले केन्द्रीय सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभातर्फ (क) मा एमालेका जिल्लाअध्यक्ष बलबहादुर साम्सोहाङ र (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् ।

एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाएका छन् भने दाहालले १६८८८ मत पाएका छन् ।

को हुन् योगेश ?

एमालेका युवा नेता भट्टराईको जन्म ०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

भट्टराईले ०३७ सालदेखि अनेरास्ववियुको राजनीति थालेका हुन् । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काम गरेका भट्टराई अखिलका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनी ०५१ सालमा अनेरास्ववियूको अध्यक्ष भएका थिए ।

नेकपा एमालेको जिल्ला कमिटी र अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य बनेका भट्टराई हाल एमालेको प्रचार विभाग प्रमुख एवं केन्द्रीय सचिव छन् ।

नेता भट्टराई यसअघि ०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र ०७० सालको दोस्रो चुनावमा पनि काठमाडौंबाटै उम्मेद्वार बनेका थिए । यसपटक भने प्रतिनिधिसभाको निर्वाचनमा उनी आफ्नै गृहजिल्ला ताप्लेजुङबाट उम्मेदवार बने र विजयी भए ।

भट्टराईलाई ताप्लेजुङ राम्रोसँग फापेको छ । उनका प्रतिस्पर्धी मानिएका कांग्रेस उम्मेदवार दाहाल यसअघि फुङ्लिङ नगरपालिकामा एमालेकै छत्रपति प्याकुरेलसँग पराजित भएका थिए ।

प्रदेशसभा (क) मा एमालेका बलबहादुर विजयी

ताप्लेजुङको प्रदेशसभातर्फ क्षेत्र नम्बर (क) बाट नेकपा एमालेका बलबहादुर साम्सोहाङ विजयी भएका छन् । उना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लीला बोखिमलाई ४४४३ मतान्तरले पराजित गर्दै साम्सोहाङ विजयी भएका हुन् ।

विजयी साम्सोहाङको १५४१७ मत पाएका थिए । पराजित बोखिमले १०९७४ मत पाएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

यस्तै प्रदेशसभा (क) मा संघीय समाजवादीका भक्तबहादुर एङ्देनले १५८ मत पाए । राष्टिय जनमुक्ति पार्टीका बलबहादुर लिम्बुले १२२ मत पाए भने नयाँशक्ति पाटीका मानबहादुर गुरुले २६७ मत पाए । राप्रपा राष्ट्रवादीका गायत्रीप्रसाद थेबेले ८४ मत पाए ।

प्रदेशसभा (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी

ताप्लेजुङको प्रदेशसभा (ख) मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङलाई ४६११ मतले पराजित गर्दै विजयी बनेका हुन् । विजयी आङ्बुहाङले १२१९८ मत प्राप्त गगरेका छन् भने कांग्रेसका सेन्दाङले ७५८७ मत प्राप्त गरे ।

विजयी आङ्बुहाङ यस अघि ६३ सालमा माओवादी केन्द्रका तर्फबाट अन्तरिम सांसद थिए । त्यसपछि भएका दुईवटा संविधानसभाको निर्वाचनमा उनी पराजित भएका थिए । यसपालि उनी केन्द्रको राजनीति छाडेर प्रदेशमा झरेका छन् ।

प्रदेश (ख) मा संघीय समाजवादी फोरमका सुकवीर लिम्बुले २३८ मत पाएका छन् । त्यस्तै राप्रपा राष्ट्रवादीकी सपना सामेखामले ८३ मत पाएकी छिन् । राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार लिम्बले २२२ मत पाएका छन् भने नयाँशक्ति पार्टीका विशाल लिम्बूले १०६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment