Comments Add Comment

सप्तरीको अनौठो रुझानः जसले दोहोर्‍यायो उसले हार्‍यो

अपवाद बन्दैछन् मृगेन्द्रकुमार र तेजुलाल

२४ मंसिर, सप्तरी । मधेस आन्दोलनको उदगम भूमि मानिएको सप्तरी जिल्लामा यसपटक मधेसी दलहरुको वर्चस्व देखियो । उपेन्द्र यादवको नेतृत्वमा यो जिल्लामा मधेसी दलले वर्चश्व कायम गरेका छन् ।

उपेन्द्र यादव निर्वाचित भएको सप्तरीको दुई नम्बर क्षेत्रले प्रत्येक चुनावमा नयाँ अनुहारलाई ल्याउने गरेको छ । यो क्षेत्रबाट कुनै पनि नेताले दुईपटक चुनाव जितेको इतिहास छैन ।

उपेन्द्र यादवसँग पराजित भएका उमेश यादव दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालप्न ३ नम्बर रहेको यही क्षेत्रबाट विजयी भएका थिए । उमेश पहिलो संविधानसभामा भने पराजित भएका थिए ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सदभावना पार्टीका नेता महेश यादव यहाँबाट निर्वाचित भएका थिए । तर, महेशले दोस्रो संविधानसभामा जित्न सकेनन् । उनले मात्रै ४५ मत प्राप्त गरे ।

०४८ सालदेखि नै यो निर्वाचन क्षेत्रमा कुनै पनि व्यक्तिले दोस्रोपटक जितेका छैनन् । ०४८ सालको निर्वाचनमा हरिप्रसाद राय कांग्रेसबाट विजयी बनेका थिए ।

०५१ को निर्वाचनमा सदभावना पार्टीबाट अनिस अन्सारीले जिते । ०५६ सालको निर्वाचनमा राप्रपाबाट रेणु यादव विजयी भइन् ।

उसो त ०६२/०६३ को आन्दोलनपछि भएको निर्वाचनमा पनि यहाँका प्रायः निर्वाचन क्षेत्रहरुमा यस्तै भएको छ । कुनै एक व्यक्तिले दुई पटक निर्वाचन जित्न सकेका छैनन् ।

पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट मारबाडी समुदायका हेमराज तातेड विजयी भएका थिए ।

तर, दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीका मानपुर चौधरी निर्वाचित भए । अहिले प्रतिनिसधसभाको निर्वाचनमा फोरमका डा. सूर्यनारायण यादव निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ लाई हेर्ने हो भने पहिलो संविधानसभामा फोरम नेपालबाटै रेणु यादव निर्वाचित भइन् भने दोस्रो चुनावमा एमालेका ताराकान्त चौधरी निर्वाचित भए । दोस्रो चुनावमा रेणु पराजित भइन् ।

साविकको ४ नम्बर क्षेत्रका केही भागलाई समेत मिसाएर बनाइएको यो क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचनमा राजपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।

साविकको क्षेत्र नम्बर ५ (जसका केही भाग जोडेर क्षेत्र नम्बर ४ बनाइएको छ) मा पनि चुनावैपिच्छै नयाँ अनुहार आइरहेका छन् । पहिलो संविधानसभामा स्वतन्त्र उम्मेदबार सदरुल हक जितेको यो क्षेत्रबाट दोस्रोमा कांग्रेसका तेजुलाल चौधरी जितेका थिए ।

अहिले प्रतिनिसभाको निर्वाचनमा चौधरीले राजपाका मृगेन्द्रकुमार सिंह यादवसँग प्रतिस्पर्धा गरिरहेका छन् । अग्रता लिइरहेका चौधरी निर्वाचित भए भने उनले जिल्लामै नयाँ इतिहास रच्न सक्छन् ।

हुन त यस क्षेत्रबाट मृगेन्द्रकुमारसिंह यादव भने पहिलो संविधानसभामा निर्वाचित भए पनि दोस्रोमा पराजित भएका थिए । यसपालि उनले जिते भने पनि नयाँ इतिहास दोहोरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment