Comments Add Comment

काठमाडौंका मतदाताले माओवादी मन पराएनन्

एमालेको समर्थन पाउँदा पनि माओवादीका सबै उम्मेदवार पराजित

२४ मंसिर, काठमाडौं । राजधानीका मतदाताले माओवादीलाई यसपटक पनि नरुचाएको निर्वाचन परिणामले देखाएको छ ।

स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भोगेको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको समर्थन पाएर पनि काठमाडौंमा एउटै सिट जित्न सकेन ।

काठमाडौंमा माओवादीले उठाएका पाँचैजना उम्मेदवार पराजित भएपछि काठमाडौंका जनताको मन जित्न अझै नसकिएको निष्कर्षमा माओवादी पुगेको छ । माओवादीका काठमाडौं जिल्ला इञ्चार्ज लेखनाथ न्यौपानेले उम्मेदवार चयनदेखि नै भएको त्रुटी र जनताको मनोविज्ञान बुझ्न नसक्नु पराजयको कारण रहेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौंमा माओवादीले प्रतिनिधिसभाका १० मध्ये तीन सिटमा उम्मेदवार उठाएको थियो । प्रदेशसभामा माओवादीका दुई जना उम्मेवार थिए ।

प्रतिनिधिसभामा काठमाडौं १ बाट अनिल शर्मा, ६ बाट झक्कु सुवेदी र १० बाट हितमान शाक्य उम्मेदवार थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेका तीनैजना माओवादी नेता स्थानीय होइनन् । स्थानीय उम्मेदवार नभएकै कारणले पनि पराजय भोग्नुपरेको माओवादी कार्यकर्ताले टिप्पणी गरेका छन् । शर्मा रुकुमका हुन् भने हितमान शाक्य बाग्लुङ र झक्कु सुवेदी रोल्पाका हुन् ।

यद्यपि शाक्य र सुवेदीले ०६४ मा काठमाडौंबाटै चुनाव जितेका थिए । तर, ०७० मा माओवादीका उम्मेदवारले काठमाडौंका सबै क्षेत्रमा पराजय भोगेका थिए ।

माओवादीका तीन उम्मेदवारमध्ये शर्मा तेस्रो भए । स्थानीय तहको मत परिणाम अनुसार माओवादीले हारेका तीनवटै क्षेत्रमा बामपन्थी गठबन्धनको मत बढी थियो । तर, माओवादीको मत अत्यन्त न्यून रहेको ठाउँमा उसले भागबण्डामा सिट लिँदा वामपन्थी गठबन्धनले कम्तिमा २ सिट गुमाउनु परेको एमालेका नेता बताउँछन् ।

एमालेका ती नेता भन्छन्- माओवादीले काठमाडौंमा आफ्नो अवस्था बुझेर मात्रै सिट लिनुपर्थ्यो, हामी कम्तिमा क्षेत्र नम्बर ६ र १० मा जित्ने थियौं, जसले गर्दा वाम गठबन्धनका दुई सिट गुमे ।

प्रदेशसभातर्फ पनि माओवादीले प्रदेश नम्बर ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनलाई उम्मेवार बनाएको थियो । उनीहरु दुवै फराकिलो मतान्तरमा पराजित भए । जबकि ती दुबै क्षेत्रका अन्य प्रदेशसभामा एमालेका उम्मेवार बिजयी भए ।

काठमाडौंमा प्रतिनिधिसभाका १० सिटमध्ये एमालेले ६ र कांग्रेसले ४ सिट जित्दा माओवादी नील भयो । त्यस्तै प्रदेशसभाका २० सिटमध्ये क्षेत्र नम्बर ५ को क र ख को परिणाम आउन बाँकी छ ।

अन्य १८ सिटमध्ये कांग्रेसले ४ सिट जितेको छ भने एमालेले १४ सिट जितेर मतगणना भइरहेका दुवैमा अग्रता लिइरहेको छ । उपत्यकामा माओवादीले ललितपुरमा एक सिट प्रतिनिधिसभा र दुई सिट प्रदेशसभा जितेर चित्त बुझाउनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment