Comments Add Comment

सिन्धुपाल्चोकमा ह्याट्रिकको श्रृंखलाः शेरले जित्दा शमसेरको सिन्धुयात्रा टुंगियो !

ह्याकुला राजनीति पराजित, काजिसाहेब र बाबुसाहेबका नयाँ रेकर्ड


२६ मंसिर, सिन्धुपाल्चोक । १० वर्षे सशस्त्र युद्धपछि शान्तिपूर्ण राजनीतिमा आएपछि संसदीय चुनावमा होमिएका माओवादी नेता अग्नि सापकोटाले लगातार तीन चुनाव जितेर ह्याट्रिक गरेका छन् ।

लोकतन्त्र प्राप्तिपछि भएको ३ निर्वाचनमा लगातार पराजित भएर राप्रपा नेता पशुपतिशमशेर राणाले पनि ह्याट्रिक गरेका छन् ।

निर्वाचन मनोनयकै दिन सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरुलाई ह्याकुलाले पेलेरै भए पनि चुनाव जित्ने उद्घोष गरेपछि पेचिलो बनेको सिन्धुपाल्चोकको निर्वाचनमा अन्ततः ह्याकुला शक्तिको पराजय भएको छ ।

निर्वाचनको प्रचार अवधिभर ह्याकुलाको खुबै चर्चा भयो र निर्वाचनको मतगणना सम्पन्न हुँदासमेत यो विषयले निकै चर्चा पायो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा २० हजार मतान्तरले चुनाव जितेका माओवादी नेता अग्नि सापकोटाले ०७० को संविधानसभा निर्वाचनसम्म आइपुग्दा मतान्तर निकै घटाएका थिए ।

२०७० मा साढे ६ सय मतान्तरले चुनाव जितेका सापकोटाले ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई १० हजार ८ सय ६ मतले पछि पार्दै चुनाव जितेका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कुल ७८ हजार ६ सय ९६ मत खसेको थियो । ७३ हजार २ सय ४८ मत सदर भएकोमा सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी मोहन बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएका थिए । मतगणना सुरु भएदेखि नै अग्रता कायम गरेका सापकोटालाई बस्नेतले एकपटक पनि पछि पार्न सकेनन् ।

मनोनयको दिनपछि निकै आक्रामक रुपमा प्रस्तुत भएका बस्नेत र सापकोटाबीच चुनावी अभियानका क्रममा दुवैले राजनीतिक मुद्दाभन्दा पनि ‘शक्ति’ कसले बढी देखाउन सक्छ त्यसको होड गरेका थिए ।

सुरुदेखि नै अक्रामक हुँदा सिन्धुपाल्चोकको चुनावमा ठूलो झडप हुने सर्वत्र आशंका उत्पन्न भए पनि केही छिटफुट घटनाबाहेक सिन्धुपाल्चोकको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । २१ गते बेलुकी साढे ५ देखि सुरु भएको मतगणना शनिबार बिहान सकिएको थियो । मतपरिणाम सार्वजनिक हुनु केही समय अघि बस्नेतले मतगणना स्थल छाडेका थिए ।

राणाको ह्याट्रिक

चुनावी अभियानका क्रममा अनलाइनखबरको टिम उनको चुनावी क्षेत्रमा पुग्दा योपटक चुनाव जित्नेमा राणा ढुक्क थिए । कार्यकर्ताहरुले उनलाई योपटक मन फुकाएर थैली खोल्न सके मात्रै चुनाव जितिने बताउँदै आएका थिए । तर राणाले अन्तिमसम्म पनि मन फुकाएर थैली भने खोलेका थिएनन् ।

चुनावी अभियानमा राणाका प्रतिष्पर्धी एमाले उम्मेदवार शेरबहादुर तामाङलाई भेट्दै गर्दा उनले भनेका थिए, ‘बाबुसाहेबलाई योपटक ह्याट्रिक चखाइने छ ।’ नभन्दै राणाले योपटक पनि चुनाव हारेर ह्याट्रिक गरेका छन् ।

उता राणाले पनि शेरलाई शमशेरले हराउने भन्दै आफ्नो जित दावी गरेका थिए । यसक्रममा नायिका रेखा थापादेखि राणाका छोरीहरु देवयानी र उर्वशी पनि शेरबहादुरविरुद्ध खनिएका थिए । अब यो हारको ह्याट्रिकसँगै राणाको सिन्धुयात्रा टुंगिएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार दावा तामाङसँग पराजित राणा दोस्रोमा शेरबहादुर तामाङसँग नै पराजित भएका थिए । योपटक जसरी पनि जित्ने उद्घोषका साथ नेपाली कांग्रेससँग सहकार्य गरेर निर्वाचनमा होमिएका राणा अन्ततः योपटक पनि उनै तामाङसँग पराजित भएका छन् ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ७८ हजार ६ सय ९६ मत खसेकोमा ७३ हजार २ सय ४८ मत सदर भएको थियो । तामाङले ३८ हजार ४ सय १ मत ल्याएका थिए भने राणाले ३० हजार ३ सय ६९ मत ल्याएका थिए । ८ हजार ३२ मतअन्तरले राणा पराजित भएका थिए ।

यसरी जिते सापकोटाले

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा यो क्षेत्रमा नेकपा एमाले पहिलो पार्टी थियो भने कांग्रेस दोस्रो र माओवादी तेस्रो थियो । स्थानीय चुनावको मतपरिणाम अनुसार दुई पार्टी मिल्दा सापकोटाको जित सहजै थियो तर पनि द्वन्द्वका घटनाका कारण सापकोटालाई एमालेका सबै मतदाताहरुले मत नदिने हो कि भन्ने शंका थियो तर लामो समयदेखि कांग्रेसबाट पीडित भएका एमाले नेता कार्यकर्ताहरु खुलेरै सापकोटाको पक्षमा लागे, माओवादीका नेता कार्यकर्ताहरुले पनि सापकोटाको जितलाई प्रतिष्ठाको विषय बनाए त्यही भएर नै सापकोटालाई जितको लागि सहज भएको थियो ।

यसरी हारे बस्नेत

कांग्रेस उम्मेदवार बस्नेतलाई लागेको थियो कि एमाले र माओवादीबीच चुनावी तालमेल हुँदा एमालेका धेरै कार्यकर्ताहरु असन्तुष्ट हुन्छन् र एमालेका असन्तुष्टहरुको भोट आफूलाई आउँछ र चुनाव जित्छु भन्ने बस्नेत मानसिकता थियो । केही भोट यसरी आउँछ र केही भोट पैसा खर्च गरेरै भए पनि जित्छु भनेर चुनावी अभियानमा लागेका थिए ।

चुनावी अभियानका क्रममा अनलाइनखबरको टिम माओवादी नेता अग्नि सापकोटाको गृह गाउँ कुभिण्डे पुग्दा बस्नेत भन्दै थिए, ‘आजदेखि मैले चुनाव जितिसकेको छु, अबको मत भनेको मेरो बोनसको मत हो ।’ तर बस्नेतलाई न एमालेको असन्तुष्टहरुको भोट नै आयो न बोनसको भोट नै ।

गाउँस्तरमा संगठन नहुनु, प्रदेशसभामा व्यापारीहरुलाई टिकट दिनुलगायतका कारणले पनि बस्नेतलाई यो चुनावमा समस्या भयो । जनमतमा भन्दा बढी बलमा विश्वास गर्दा पनि बस्नेतलाई यो चुनावमा समस्या भएको प्रष्टै देखियो । विवादित पृष्ठभूमिका व्यक्तिहरुलाई अघिपछि लगाएर हिँड्दा आम मतदाताहरुको सेन्टीमेन्ट उनीप्रति देखिएको थिएन । यो सबै कारण पनि बस्नेतलाई यो चुनावमा समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment