Comments Add Comment

पर्सा र बाराका विभिन्न स्थानमा आगलागी

२७ मंसिर, वीरगञ्ज । पर्सामा बुधबार दिउँसो हावाहुरीका चलेपछि जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ । आगलागीबाट १५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीका कारण लाखौंको धनमाल जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

पर्साको जगरनाथपुर गाँउपालिका– ५ धर्मपुर गाँउमा बुधबार दिउँसो आगलागी हुँदा ८ वटा घर गोठ जलेर नष्ट भएको छ । स्थानीय हरेन्द्र साह गोढको घरबाट सल्केको आगो, धुरी साह गोढ, शिवनाथ गोढ, जगदिश ठाकुर हजाम, राजेन्द्र पण्डित र धुरी पण्डित लगायतको घर जलेर नष्ट भएको छ ।

आगलागी हुँदा घरमा रहेको कपडा, अन्न, भाडाकुडा लगायतका सामाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

साथै, गोठ नजिकै रहेको खलियनामा रहेको ३ हजार धानको बोझा पनि जलेर नष्ट भएको छ । आगलागीमा नष्ट भएको विस्तृत विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । पौने २ बजेतिर लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

घरमा लागेको आगो नियन्त्रणमा आएको भएपनि धानको बोझामा लागेको आगो नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा आगलागी नियन्त्रणका लागि प्रयासरत छ ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा–३० लालपर्सामा पनि आगलागी भएको छ । आगलागीमा फुसको घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय गगनदेव सहनी र गम्भिरा राम चमारको घर जलेर नष्ट भएको हो ।

दुई वटा साइकल, लत्ता कपडा र ४ लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ । गम्भिराको घरमा राखिएको बाढी पीडित मुक्तिलाल महराको सामान पनि आगलागीमा जलेर नष्ट भएको छ । आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिएका छन् ।

यसैबीच, कलैया उप–महानगरपालिका वडा नं. २० बसतपुरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । ५ जनाको लागेको घर र दुई जनाको धान गरी करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

कलैया उप–महानगरपालिका वडा नं. २० स्थित बसतपुरमा परालमा लागेको आगोले स्थानीय मनोज शाह तेली, जोखन ठाकुर लोहार, धनधारी मण्डल, रामसुन्दर मण्डल, वीरेन्द्र मण्डल लगायतका घर जलेर नष्ट भएको छ भने स्थानीय भिखारी शाह तेली र हिरालाल शाह धानुकको करिब २ लाख बराबरको धान जलेर नष्ट भएको छ ।

आगलागीबाट लत्ताकपडा अन्नपात जलेर नष्ट भएको छ ।

दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा लागेको आगो वीरगञ्ज महानगरपालिका, जितपुर, अमलेखगन्जबाट गएको बारूण यन्त्रको सहयोगमा ३ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

बारुण यन्त्रको मद्दतमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा २ घन्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment