Comments Add Comment

ताइवानको च्याउ खाएर गोरा भए मोदी !

यस्तो छ ताइवानी च्याउको कथा

२७ मंसिर, नयाँ दिल्ली । यूद्धको मैदानमा होस वा राजनीतिको मैदानमा, अन्तिम घडीसम्म आफूलाई हौसला दिने तथा दुश्मनमाथि हमला बोल्ने क्रम जारी रहन्छ ।

भारतको गुजरातमा अहिले निकै रोचक राजनीतिक लडाइँ चलिरहेको छ । र, मंगलबार यो लडाईसँग जोडिएको प्रचारको अन्तिम दिन थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी सी-प्लेनमा उडान भरेर अम्बाजीको मन्दिरमा पुगे र गुजरातको विकासको कसम खाए । उनले राहुल गान्धीले पत्रकार सम्मेलन गरेर सोधेका प्रश्नको जवाफ पनि दिए । दुई दिग्गज नेताहरुबीच एक नौजवान नेता पनि थिए, जसले आफ्नो एक अभिव्यक्तिबाट धेरैको ध्यान आकृष्ट गरे ।

उनी नेता हुन् अल्पेश ठाकोर र विषय बन्यो ‘मसरुम’ अर्थात च्याउ । उनले चुनाव प्रचारको अन्तिम दिन निकै चाखलाग्दो भाषण गरे । उनले भने, ‘मलाई एक जनाले सुनाए, मोदी जुन खानेकुरा खानुहुन्छ, त्यो तपाईं खान सक्नुहुन्न किनकी यो गरीबले खाने कुरा होइन ।’

‘मैले सोधेँ, के हो त्यो खानेकुरा ? उनले भने कि मोदी साहेब च्याउ खानुहुन्छ । त्यसपछि मैले भनेँ, यसमा अनौठो के भयो र ! च्याउ त यहाँ पनि पाइन्छ । उनले जवाफ दिए, ‘तिमीहरु जुन च्याउ खान्छौ त्यो उहाँलाई मन पर्दैन । उहाँले खाने च्याउ त ताइवानबाट आउँछ ।’

उनले अगाडि भने, ‘ताइवानबाट आउने एउटा च्याउको मूल्य ८० हजार रुपैयाँ पर्छ र मोदी साहेब हरेक दिन यस्तो पाँचवटा च्याउ खानुहुन्छ ।’

मैले सोधेँ प्रधानमन्त्री भएदेखि नै खान थाल्नुभएको हो ? उनले जवाफ दिए, होइन, मुख्यमन्त्री भएदेखि ।’

ठाकोरले भने, ‘त्यतिबेला मैले सोचेँ कि उनी पहिले म जत्तिकै काला थिए, पछि गोरा कसरी भए ? मैले ३५ वर्ष पुरानो उनको फोटो देखेको छु । उनी मजस्तै देखिन्थे ।’

‘साथीहरु बुझ्नुस्, जो प्रधानमन्त्री हरेक बिहान चार लाख रुपैयाँको र हरेक महिना एक करोड २० लाख रुपैयाँको च्याउ खान्छन्, उसलाई यो रोटी-चामल मन पर्दैन । यो केवल देखावटी हो ।’

सामाजिक सञ्जालमा रमाइलो

ठाकोरको यो भाषण सामाजिक सञ्जालका लागि राम्रै मसला बन्यो । प्रयोगकर्ताहरुले फरकफरक तस्वीर हालेर च्याउको यस विशेषतालाई रेखांकन गर्न सुरु गरे ।

के च्याउले गोरो बनाउँछ ?

च्याउ कैयौं प्रकारका हुन्छन्, जसमा केही खानलायक हुन्छन् त केही विषालु । विषालु च्याउ खाँदा पेट दुख्न र उल्टी हुन थाल्छ । केहीले त मान्छेको ज्यानै लिन पनि सक्छ ।

खानलायक च्याउमा प्रोटिन र फाइबर पर्याप्त हुन्छ । यसमा भिटामिन बी हुन्छ र सेलेनियम जस्तो शक्तिशाली एन्टीअक्सिडेन्ट पनि । यसले इम्यून सिस्टमलाई बलियो बनाउँछ र सेल-टिस्यूमा हुने नोक्सानीलाई रोक्छ । कुनै च्याउ यस्ता पनि हुन्छन् जसले डीएनएमा हुने क्षतिलाई रोकेर क्यान्सरविरुद्ध पर्खाल खडा गर्छ ।

च्याउलाई यौन शक्तिवर्द्धक पनि मानिन्छ किनकी यसमा जिंक पर्याप्त मात्रमा पाइन्छ । जिंकको कारणले पुरुषहरुमा पाइने सेक्स हार्मोन टेस्टास्टेरनको मात्रा बढ्छ ।

च्याउ खाएर मान्छे गोरो हुन्छ भन्ने कुरा चाहिँ कपोलकल्पित नै मान्नुपर्छ ।

ताइवानको च्याउको कथा

अल्पेश ठाकुरले जोड दिएर भने कि नरेन्द्र मोदीले ताइवानबाट आयातित च्याउ खान्छन् भनेर उनलाई कसैले बतायो । अब जानौं, आखिर ताइवानको च्याउमा खास के छ त्यस्तो ?

एक समाचारमा बताइएअनुसार ताइवानले सबैभन्दा अगाडि केन र बटलबन्द च्याउको निर्यात नियमित व्यवसायीक आधारमा सन् १९६० मा सुरु गर्‍यो । र, १९६३ सम्म यो च्याउको सबैभन्दा ठूलो निर्यातक बन्यो । त्यतिबेला संसारभर निर्यात गरिने च्याउको एक तिहाई हिस्सा ताइबानले ओगटेको थियो ।

सन् १९७८ मा ताइवानको वाषिर्क च्याउ निर्यात १२ करोड डलर पुग्यो । तर, त्यसपछि चीन र दक्षिण कोरियाका किसानले पनि च्याउ खेति गरेर ताइवानलाई चुनौति दिए । आज जापान पनि च्याउको उत्पादनमा आफ्नो प्रभुत्व जमाउने कोशिश गरिरहेको छ । तर ताइबान आज पनि सबैभन्दा बलियो खेलाडी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment