Comments Add Comment

वीरगञ्जमा ग्याष्ट्रोकाइसिसको सफल शल्यक्रिया

२७ मंसिर, वीरगञ्ज । वीरगञ्जमा एउटा नवजात शिशुमा देखा परेको अनौठो तथा दुर्लभ प्रकारको रोगको सफल शल्यक्रिया गरिएको छ । लाखौंमध्य एकजनामा देखापर्ने ग्यास्ट्रोकाइसिस (Gastroschisis) रोगको सफल शल्यक्रिया गरिएको हो ।

जन्मजात शिशुमा देखापर्ने ग्यास्ट्रोकाइसिस रोग शरिरको भित्री भागका अंगहरु सबै बाहिरपट्टी नै बस्ने गरेको हुन्छ । पेटलाई ढाक्ने बाहिरी भाग नहुने र खुला हुने तथा भित्री भागहरु (आँतहरु) बाहिर नै हुने यस्तो खालको रोग गर्भमा रहेको बच्चा विकसित भइनसकेको जस्तो देखिन्छ ।

वीरगञ्जको पानीटंकीस्थित आशाराम अस्पतालका पाँचजना डाक्टरहरुको समूहले जन्मिएको २ घण्टा ३० मिनेटको नवजात शिशुको चार घण्टा लगाएर सफल शल्यक्रिया गरेका छन् । शिशुको अहिले अस्पतालका डा. अलिसा दासको निगरानीमा अति सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार भइरहेको छ । अहिले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक समेत रहेका नवजात शिशु रोग विशेषज्ञ डा. अशोक दासले बताए ।

‘ग्यास्ट्रोकाइसिस रोग भएको शिशु जन्मिएपछि अभिभावक निकै चिन्तित भएका थिए । काठमाडौं लगेर उपचार गर्नुपर्ने डर उनीहरुमा थियो,’ डा. दासले भने, ‘हावा लाग्ने बित्तिकै टाँसिने भएकाले निकै जोखिमयुक्त हुने हुन्छ, तैपनि जन्मिएको अढाई घण्टाको शिशुलाई चपुरबाट वीरगन्जमा ल्याएर निरन्तर चार घण्टाको प्रयासपछि सफल अपरेशन गर्न सफल भयौं ।’

रौतहटको चन्द्रपुर अस्पतालमा सबरा खातुनले शिशु जन्माएकी थिइन् । डा. दासका अनुसार यस्तो खालको रोगमा बच्चाको शरिरका सबै अंगहरु परिपक्व रुपमा विकसित नभइकन बाहिर नै रहिरन्छ ।

बंगलादेश हुँदा २÷३ वटा बच्चामा यस्तो रोग देखेकाले त्यही अनुभवले काम गरेको उनले बताए । खासगरी नजिकको नाता सम्बन्धमा विवाह गर्ने दम्पत्तीहरुबाट, धुम्रपान, मदिरा सेवन गर्नेहरुबाट पनि यस्तो खालको शिशु जन्मिन सक्ने सम्भावना बढी हुने बाल रोग विशेषज्ञ डा. दासको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment