Comments Add Comment

कान्ति लोकपथ फेरि ६ महिना धकेलिँदै, विष्फोटक पदार्थ नपाउँदा निर्माणमा ढिलाइ


२८ मंसिर, काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा बनिरहेको कान्ति लोकपथ फेरि समस्यामा अल्झिएको छ । निर्माण शुरु भएको ६१ वर्षपछि पूर्णता पाउने अन्तिम चरणमा रहेका बेला आयोजना समस्यामा परेको हो ।

मार्ग विस्तारका लागि कडा चट्टान फुटाउन विष्फोटक पदार्थ अभाव भएपछि आगामी असारमा काम सक्न मुस्किल हुने अवस्था आएको आयोजनाले जनाएको छ ।

नेपाली सेनाले डेढ वर्षअघि नै पाँच टन विष्फोटक पदार्थ दिने सहमति जनाएको थियो । तर, अभाव भएको बताउँदै सेनाले विष्फोटक पदार्थ दिएको छैन ।

‘अहिले नै हामीले विष्फोटक पदार्थ पायौं भने आयोजनाको निर्धारित मिति धकलिँदैन । नत्र अर्को ६ महिनासम्म काम सक्न मुस्किल पर्छ,’ कान्ति लोकपथ आयोजना प्रमुख देवेन्द्रप्रसाद साहलेे भने । उनका अनुसार तत्काल विष्फोटक पदार्थ उपलब्ध नभए आयोजना ६ महिना पछाडि धकेलिने सम्भावना छ ।

उक्त लोकपथका विभिन्न खण्डमा अहिले ठूला चट्टानको अवरोध छ । ती चट्टान हटाएर सडक विस्तार गर्दै कालोपत्र गर्ने योजना छ । धेरै स्थानमा चट्टान पन्छाएर सडक सफा बनाउन बाँकी छ ।

‘अब चट्टान हटाउने काम छुट्टै प्याकेजमा राखेर काम गरिरहेका ठेकेदारलाई सम्भव भएका सबै खण्डमा कालोपत्र अघि बढाउन भन्छौं,’ साहले भने ।

अहिले १३ वटा प्याकेजमा काम भइरहेको छ । आयोजनामा अब मुख्य रुपमा कालोपत्रेकै काम बाँकी छ ।

ट्रयाक खुलेको ६० वर्षपछि हेटौंडातर्फबाट यो मार्गमा कालोपत्रे शुरु भइसकेको छ । अहिलेसम्म हेटौंडातर्फको साढे आठ किलोमिटर सडक कालोपत्रे भएको आयोजना प्रमुख साहले बताए । ललितपुरतर्फको डेढ किमि पनि कालोपत्रे भएको छ ।

उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने दुई सय २६ र पालुङ हुँदै आउने एक सय २६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रुपमा आवागमन गर्नसक्ने छन् । कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’को प्रयोग गरिँदैछ ।

काठमाडौंबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । यो लोकपथको निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

अघिल्लो आर्थिक वर्ष ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा चालु आवका लागि पनि त्यति नै विनियोजन भएको छ । काम तीव्र गतिमा भए थप बजेट प्राप्त गर्न समस्या नहुने साहले बताए ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि लम्बाइको छ, यो मार्ग, जसलाई साढे आठ मिटर चौडा बनाइनेछ । र, दुई लेनमा गाडी चल्ने गरी सात मिटरमा कालोपत्रे गरिँदैछ ।

कान्ति लोकपथको ट्रयाक ०१३ सालमा खुलेको थियो । शुरुमा एक लेनको यो सडकमा ०१६ सालदेखि गाडी चल्न थालेका थिए ।

तर, ललितपुर र मकवानपुरको सीमास्थित वागमती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन अयोग्य रहँदै आएको थियो ।

६० वर्षपछि मात्र उक्त सडक सरकारी प्राथमिकतामा परेको हो ।

यस मार्गलाई मकवानपुर जोड्ने दक्षिणकाली-सिस्नेरी सडक र त्रिभुवन राजपथको विकल्पका रुपमा पनि लिइएको छ ।

छोटो दूरीमा पर्ने भएकाले वीरगञ्ज नाकाबाट नेपाल र भारतबीचको व्यापार विस्तारमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा छ । त्यसबाट काठमाडौंको आपूर्ति व्यवस्था सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment