Comments Add Comment

किर्ते गरी भारतीयलाई नेपाली नागरिकता ! वडासचिवसहित ६ जना पक्राउ

२८ मंसिर, सप्तरी । सप्तरी प्रहरीले किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई पक्राउ गरेको छ ।

आर्थिक चलखेल गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने सरकारी कर्मचारी, सहयोगीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा सचिव, प्रशासन कार्यालयका कार्यालय सहयोगी समेत छन् । नागरिकता बनाउन आएका दुई जना भारतीय पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १० का सचिव वर्ष ४९ का वकील मियाँ, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय अजय कुमार यादव, सुनसरी हरीपुरका ५५ वर्षीय कलिम मियाँ, झापाको बिर्तामोड नगरपालिका ४ का २० वर्षीय मो.सईरो छन् ।

यस्तै भारतीय नागरिक ३१ वर्षीय मो. लतिफुर रहमान र भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष २६ का मो.नवेद छन् ।

कसको साथबाट के बरामद ?

वडा सचिव वकिल मियाँको साथबाट नगद एक लाखसहित दुई जनाको किर्ते नागरिकता प्रमाण पत्र फेला परेको छ ।

उनको साथबाट मो.वकिल अन्सारीको नाम र फोटोसहित जारी मिति २०६९-०३-२६ उल्लेख गरी जिप्रका सप्तरीको नागरिकता कार्डमा तयार भएको नागरिकता प्रमाणपत्र र मो.हदिस नामको फोटो सहितको २०३८-११-२४ मितिमा जारी भएको उल्लेख गरिएको नागरिकता भेटिएको छ ।

भारतीय नागरिक लतिफुर रहमानको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीको १६८९५७ नम्बरको जारी मिति २०६७-०३-२९ उल्लेख भएको नेपाली नागरिकता प्रमाण पत्रका कार्ड एक थान बरामद भएको छ ।

नागरिकतामा फोटो निजको भएतापनि नाम मो.लतिरा लेखिएको पाईएको छ । उनको साथबाट नगद दश हजार ४४५ रुपैयाँ समेत बरामद भएको प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।

कलिम मियाँको साथबाट मो.सईरो नाम र फोटोसहित नेपाली नागरिकताको कार्ड एक थान, बरामद भएको छ ।

भारतीय नागरिक नवेदको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नेपाली नागरिकता बरामद भएको छ ।

रंगशालामा चल्दैथियो लेनदेनको कुरा

आर्थिक लेनदेनको कुरा गरिरहेको अवस्थामा ६ जनालाई राजविराज ७ स्थित रंगशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सिंहले बताए । ६ जनामध्ये ५ जनालाई किर्ते नागरिकता र नगदसहित पक्राउ गरिएको भएपनि प्रशासन कार्यालयका सहयोगी यादवको साथबाट केहि बरामद भएको छैन । यादव आर्थिक लेनदेनको कुरा गरिरहेको प्रहरीको भनाइ छ ।

किर्ते नागरिकता बनाउने गिरोह सक्रिय रहेको विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्’ प्रहरी प्रमुख सिंहले भने, ‘सरकारी छाप दस्तखत र सहीछाप समेत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाण पत्र खडा गरी वितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।’

उनीहरुबिरुद्व सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment