Comments Add Comment

प्रदेश ४ मा वाम गठबन्धनलाई ५१ प्रतिशत मत, बन्नेभो दुई तिहाइ बहुमतको सरकार

२९ मंसिर, पोखरा । प्रदेश नम्बर ४ मा प्रत्यक्षको प्रतिनिधि सभा तथा प्रदेश सभा र समानुपातिककोसमेत स्याङ्जाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ । निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेसँगै प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने हिसाबकिताब र आंकलन भइरहेका छन् ।

प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा कसको सरकार बन्दैछ ? भन्ने स्पष्ट भइसकेको छ । वाम गठबन्धनले ५१ प्रतिशत मत पाएकाले  दुई तिहाइ बहुमतको सरकार बन्ने पक्का भइसकेको छ ।

प्रदेश नम्बर ४ मा देशकै कान्छो जिल्ला नवलपुरसहित ११ जिल्ला छन् । यी जिल्लाका प्रत्यक्षतर्फ प्रदेश सभाका १७ सिटमा एमालेले कब्जा जमाएको छ भने दोस्रो ९ सिट माओवादी, ६ सिट जितेर कांग्रेस तेस्रो भएको छ । २ सिट जितेको जनमोर्चा चौथो र १ सिट जितेको नयाँ शक्ति पाँचौ पार्टी बनेको छ भने मनाङ प्रदेश सभा २ मा एमाले समर्थनले जीवन गुरुङ स्वतन्त्रबाट सांसद बनेका छन् ।

१५ लाख ६८ हजार ९ सय १७ कुल मतदाता रहेको यो प्रदेशमा सरदर ७० प्रतिशत अर्थात १० लाख ९८ हजार २ सयको हाराहारिमा मत खसेको थियो । जसमा बिहीबार रातिसम्म ९ लाख १६ हजार गणना भइसकेको छ । जसमा एमाले र कांग्रेसको ४० प्रतिशतको हाराहारीमा बराबरी मतपरिणाम आएको छ भने माओवादीको १३, नयाँशक्ति २ र जनमोर्चा करिब डेढ प्रतिशतभन्दा माथि र बाँकी अन्यको छ ।

प्रदेशको बिहीबार रातिसम्मको मतपरिणाम हेर्दा एमालेको ३ लाख ५५ हजार ३ सय ५७, कांग्रेसको ३ लाख ४८ हजार ५ सय ४४, माओवादीको १ लाख १६ हजार ६ सय २४ मत आएको छ । नयाँ शक्तिले २४ हजार ४ सय ७२ ल्याउँदा जनमोर्चाले १९ हजार २ सय ७४ ल्याएको छ भने अन्य पार्टीहरुको पक्षमा ५३ हजार ४ सय ६० मत छ । यसैलाई आधार मानेर हेर्दा सामानुपातिकबाट ९/१० को हाराहारीमा कांग्रेस, एमाले र ३ सिट माओवादीले सांसद पाउन सक्छन् भने नयाँ शक्ति र जनमोर्चाले समानुपातिकबाट १/१ सांसद हात पार्न सक्छन् ।

प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सदस्यीय हुने प्रदेश सभामा वाम गठबन्धनले दुई तिहाइ बहुमतको सरकार निर्माण हुने देखिएको छ । एमाले, माओवादी, जनमोर्चा र एक जना एमालेकै समर्थनले स्वतन्त्रमा चुनाव जितेका उम्मेदवारसमेत गरी वाम गठबन्धनको प्रत्यक्षबाट २९ सिट पुगिसकेको छ । त्यसमा एमालेबाट ९, माओवादीबाट ३ र जनमोर्चाबाट १ सिट समानुपातिकबाट थपिने संकेत छ । यसरी हेर्दा यो प्रदेशमा वाम गठबन्धनको आरामसाथ दुई तिहाइको सरकार बन्ने लगभग पक्का जस्तै देखिन्छ । दुई तिहाइ बहुमतको प्रदेश सरकारका लागि ४० सिट चाहिन्छ ।

वाम गठबन्धनलाई ५१ प्रतिशत मत

नेपाली कांग्रेसले प्रदेश नम्बर ४ लाई मजबुत ठानेको थियो । तर प्रदेशबाट उक्त पार्टीले प्रतिनिधिसभाका १८ मध्ये जम्मा १ सिटमा चित्त बुझाउनुपर्‍यो । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट विजयी भए । गण्डकी र धवलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभामा १ जना पनि पठाउन सकेन ।

प्रदेश नम्बर ४ मा धवलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् । गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवलपुर क्षेत्र पर्छन् ।

गोरखाबाट नयाँ शक्तिका बाबुराम भट्टराई, लमजुङबाट माओवादी केन्द्रका देव गुरुङ र बागलुङ २ बाट माओवादीकै देवेन्द्र पौडेल विजयी भए । बाँकी १४ सिटमा एमालेले जीत हासिल गरेको छ । प्रतिनिधिसभामा १८ मध्ये १६ सिट जितेको वाम गठवन्धनले यो प्रदेशमा खसेको सदर मतमध्ये ५१ प्रतिशत मत ल्याएको छ । १ सिट मात्र जितेको कांग्रेसले गठवन्धनलाई पछ्याउँदै ३९ प्रतिशत मत ल्याएको छ । यसमा नयाँ शक्तिका बाबुराम भट्टराइले ल्याएको ३१ हजार ८ सय ७ मत जोडिएको छैन । भट्टराईले ल्याएको मत जोड्दा ४२ प्रतिशत हुन आउँछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ का ११ जिल्लामा १० लाख ६० हजार ४ सय ३९ मत सदर भएको थियो । जसमध्ये वाम गठवन्धनले ५ लाख ४१ हजार ७ सय ४४ र कांग्रेस एक्लैले ४ लाख १८ हजार ७६ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment