Comments Add Comment

प्रतिनिधिसभामा जनजाति र मधेसीको बलियो उपस्थिति

दुई वटा प्रदेशसभामा जनजाति, एउटामा मधेसी समुदायको बहुमत

२९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइसक्दा यसपटक दुवै संसदमा आदिवासी जनजाति, मधेसी थारु र दलितको उपस्थिति विगतको भन्दा बढेको देखिएको छ । तर, महिला र मुस्लिमको संख्या भने प्रत्यक्ष निर्वाचनबाट कम आएकाले समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने देखिन्छ ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये मधेसी, थारु र मुस्लिम समुदायबाट ४२ सांसद निर्वाचित भएका छन् ।

दलित समुदायबाट ३ जना सांसद निर्वाचित भएका छन् । समग्रमा प्रतिनिधिसभामा ८१ सांसद ‘उत्पीडित समुदाय’का निर्वाचित भएका छन् भने ८४ सांसद खसआर्य समुदायका छन् ।

प्रतिनिधिसभाका १६५ प्रत्यक्ष निर्वाचित सांसदमध्ये ३६ जना पहाडका आदिवासी जनजाति समुदायका प्रतिनिधि निर्वाचित भएका छन् ।

३६ जना आदिवासी जनजाति सांसदमध्ये एमालेका सबैभन्दा बढी २१ जना निर्वाचित भएका छन् ।

माओवादीबाट १० जना आदिवासी जनजाति नेता सांसद निर्वाचित भएका छन् भने कांग्रेसबाट २ जनामात्र छन् । राप्रपाबाट एकमात्र सांसद आदिवासी जनजाति छन् भने नेपाल मजदूर किसान पार्टी र स्वतन्त्रबाट एक एकजना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

आधा मधेसी सांसद मधेसवादीबाट

मधेसी र थारु समुदायबाट निर्वाचित ४२ मध्ये सबैभन्दा बढी संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबाट बराबर १०/१० छन् । तीमध्ये दुईजना मुस्लिम छन् भने दुईजना थारु छन् । फोरमबाट जित्ने अधिकांश सांसद यादव छन् ।

कांग्रेसले जितेको कुल २३ सिटमध्ये ८ जना मधेसी थारु सांसद छन् । तीमध्ये तीनजना थारु र एकजना मुस्लिम छन् ।

माओवादीबाट ८ जना मधेसी र थारु सांसद जितेका छन् । तीमध्ये तीनजना थारु छन् । एमालेबाट ६ मधेसी-थारु सांसद जितेकामा दुईजना थारु छन् । यसपटक समग्रमा १० जना थारु प्रत्यक्ष निर्वाचित भएर आएका छन् भने मुस्लिमको संख्या ३ मात्र छ ।

दलित समुदायबाट यसपटक तीनजना सांसद प्रत्यक्ष जितेर आएका छन् । तीमध्ये एमालेका छविलाल विश्वकर्मा र जगत विश्वकर्मा छन् भने माओवादीका महेश्वर गहतराज छन् ।

प्रदेश नम्बर १ र ४ मा जनजातिको बहुमत !

आदिवासी जनजाति बाहुल्य रहेका प्रदेशहरुमा प्रदेशसभा सदस्यमा आदिवासी जनजातिहरु उल्लेख्य संख्यामा निर्वाचित भएका छन् । प्रत्यक्ष निर्वाचित सदस्यको संख्या हेर्दा प्रदेश १ र ४ मा आदिवासी जनजातिको बहुमत पुग्ने देखिएको छ भने ३ नम्बर प्रदेशमा पनि समानुपातिक जोडिँदा आदिवासी जनजाति बहुमतमा पुग्न सक्छन् ।

प्रदेश १ मा प्रत्यक्ष निर्वाचित भएर आउने सांसदमध्ये आदिवासी जनजातिको लगभग बहुमत देखिएको छ ।

५६ प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यमध्ये २७ जना जनजाति छन् । जसमा एमालेबाट १७ जना, माओवादीबाट ८ जना आदिवासी जनजातिले जितेका छन् भने कांग्रेसका दुईजनाले जितेका छन् ।

प्रदेश नम्बर १ मा मधेशीबाट भने निकै कम संख्यामा जितेका छन् । कांग्रेसबाट चारजना मधेसीले जितेका छन् भने एमाले, माओवादी र फोरमबाट एकएक जनाले जितेका छन् । समग्रमा प्रदेश १ को प्रदेशसभामा आदिवासी जनजाति र मधेसीको बहुमत पुगेको छ ।

प्रदेश ३ बाट ६६ मध्ये २७ प्रदेशसभा सदस्य आदिवासी समुदायबाट निर्वाचित भएका छन् । तीमध्ये एमालेका १२ जना छन् भने माओवादीका ७, कांग्रेसका ६ जना निर्वाचित भएका छन् ।

नयाँ शक्तिको १ र नेपाल मजदूर किसान पार्टीका एक सांसद आदिवासी जनजाति समुदायका हुन् ।

प्रदेश ४ का ३६ प्रदेशसभा सदस्यमध्ये करीव आधा संख्यामा आदिवासी जनजाति समुदायका निर्वाचित भएका छन् । गुरुङ र मगर समुदायको उल्लेख्य बसोबास रहेको यो प्रदेशबाट एमालेका १० जना आदिवासी जनजाति निर्वाचित भएका छन् ।

त्यस्तै माओवादीबाट ४, राष्ट्रिय जनमोर्चाबाट २ र कांग्रेसबाट एक जना निर्वाचित भएका छन् । मनाङबाट स्वतन्त्र निर्वाचित दिपक मनाङ्गे जोड्दा जनजातिको संख्या १८ पुगेको हो ।

प्रदेश २ मा मधेसी बहुमत, ५ मा मधेसी थारु दोस्रो

प्रदेश २ मा मधेसी समुदायको पूर्ण बहुमत देखिएको छ । ६४ सिट प्रत्यक्ष निर्वाचित मध्ये पहाडे मुलका जम्मा ६ जना मात्र निर्वाचित भएका छन् भने अरु सबै मधेशी र थारु समुदायका छन् ।

प्रदेश २ मा पहाडे मूलका एमालेबाट ५ जना र कांग्रेसबाट एक जना निर्वाचित भएका छन् ।

प्रदेश ५ बाट भने आदिवासी जनजातिभन्दा मधेसी र थारुको संख्या बढी निर्वाचित भएका छन् । सो प्रदेशको ५२ सिटमध्ये १६ जना मधेसी र थारु जितेका छन् भने ८ जना जनजाति जितेका छन् । यो प्रदेशमा खस आर्यपछि दोस्रो स्थानमा थारु र मधेसी आएका छन् ।

एमालेबाट ५ मधेसी र ४ जनजाति जित्दा कांग्रेसबाट ६ मधेसी समुदायका उम्मेदवारले जितेका छन् । त्यस्तै संघीय फोरमबाट ३ र माओवादीबाट एक मधेसीले जितेको देखिन्छ ।

प्रदेश ५ मा समानुपातिकसहित जोड्दा कुनै एक समुदायको मात्र बहुमत पुग्ने देखिन्न ।

प्रदेश ६ र ७ मा खसआर्यको बहुमत

प्रदेश नम्बर ६ बाट दुईजना दलित र एकजना जनजाति जितेका छन् । जनजाति र एक दलित एमालेबाट निर्वाचित हुन् भने एक दलित माओवादीबाट निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ७ बाट एक जनजाति, एक दलित र चारजना थारुले निर्वाचन जितेका छन् । तीमध्ये एकमात्र जनजाति र दुई थारु एमालेबाट निर्वाचित भएका हुन् । माओवादीबाट एक दलित र एक थारु निर्वाचित भएका छन् भने राजपाबाट एकजना थारुले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment