Comments Add Comment

‘प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एकैजना हुनुपर्छ’

‘एमालेमा पार्टी हेड नभएकाले वाम एकता भएको होइन’

२९ मंसिर, काठमाडौं । अनलाइनखबर टिम टोखास्थित ईश्वर पोखरेलको निवासमा पुग्दा उनी चुनावी बधाइ लिइरहेका थिए । लगातार दुईवटा संविधानसभा निर्वाचनको पराजयले एमाले महासचिव पोखरेलको शक्ति पार्टीमा जति बलियो थियो, राज्यसत्तामा कमजोर बनाएको थियो ।

एमालेको कार्यकारी महासचिव भएर पनि पोखरेलले दुई चुनाव हार्नुको पीडा भोगेका थिए । यसपटक काठमाडौं ५ मा दुवैपटकको हारको बदला हुने गरि उनले कांग्रेस नेता डा.प्रकाशशरण महतलाई १० हजार भन्दा बढी मतान्तरमा पराजित गरे ।

२०५६ मा चुनाव जितेका पोखरेल त्यसयता लगातार संसद बाहिर रहे । एमाले र माओवादी पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका पोखरेल नै संयोजक रहेको कार्यदलले वामपन्थी गठबन्धनको सिट बाँडफाँड गरेको थियो । सिट बाँडफाँड गर्दा पोखरेलले पार्टीभित्र केही नेताबाट अपजश पनि पाए ।

उनले सिट बाँडफाँडका क्रममा एमालेले जित्ने क्षेत्र माओवादीलाई बुझाएको भनेर पार्टीभित्रैबाट आरोप पनि खेपेका थिए । तर, पार्टी नै एकता हुने भएपछि एक दुई सिट तलमाथि हुँदा दुःखमनाऊ नगर्न उनले आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

निर्वाचन परिणामले पोखरेल नेतृत्वको कार्यदलको सिट बाँडफाँडलाई अपवाद बाहेक सफलता दिएको छ । अब सरकार गठन र पार्टी एकता प्रक्रिया कसरी अघि बढ्छ ? अब पार्टी र सरकारको नेतृत्व कसले गर्छ ? यी प्रश्नको जवाफ हामीले पोखरेलसँग खोज्यौं ।

प्रस्तुत छ, एमाले महासचिव तथा पार्टी एकता संयोजन समितिका सदस्य पोखरेलसँग गरिएको कुराकानी ।

एमाले र माओवादीको पार्टी एकता कसरी अघि बढ्दैछ ?

चुनावअघि नै हामी एक हुने थियौं तर यसबीचमा चुनाव आइलाग्यो, जसले गर्दा पार्टी एकीकरण हुन सकेन । तत्काल के गर्ने त भन्दा हामीले ६०/४० को बाँडफाँड गरेका हौं । मान्छेहरुले अन्दाज नै गरेका थिएनन् कि हामीबीच यो ६०/४० को सिटबाँडफाँड मिल्ला भनेर । तर, हामीले सहजरुपमा सिट बाँडफाँड मिलायौं र त्यही अनुसारको मतपरिणाम पनि आयो ।

सिट मिलाउने कुरामा हामी सफल भयौं । किन यो सम्भव भयो भन्दा देशभरीका दुवै पार्टीका कार्यकर्ता अब एकताबद्ध हुनुपर्छ भन्नेमा पुगेका थिए । जनता र कार्यकर्ताको जबर्जस्त समर्थन हामीले पायौं । हामीलाई एकताका लागि ताकत जनता र कार्यकर्ताले दिए । चुनावबाट त हाम्रो एकता अनुमोदन भएको छ ।

तर, एमालेले माओवादीको हैसियतभन्दा बढी सिट दियो भन्ने आरोप पनि त तपाईमाथि लाग्यो हैन ?

आरोपहरुका पछि नलागौं । हामीले ६०/४० को कुरा गरिरहँदा हाम्रो पार्टीले कति पाउँछ भन्ने सोचेनौं । वामपन्थी गठबन्धनले कसरी जित्छ भन्नेतिर हाम्रो मुख्य ध्यान केन्द्रित भयो । हामीबीच सिद्धान्त र बिचारमा भिन्नता नभएपछि अलग–अलग चुल्हो चौको आवश्यक छैन भन्नेमा पुग्यौं । यो सिटको तालमेलमात्र होइन, एउटै पार्टी बनाउने संकल्प हो ।

हामीले एउटै घोषणापत्रमार्फत देश निर्माणको संकल्प गरेका छौं । हाम्रा सपनाहरुको संकल्प हो त्यो घोषणपत्र । देश बनाउने सपना र संकल्पहरु हाम्रा साझा छन् । हामी कसरी देश बनाउछौं भन्ने प्रष्ट रुपमा उल्लेख गरेका छौं । त्यसैले सिट कसले कति पायो भन्नेतिर हामीले सोच्दै सोचेनौं ।

चुनावको परिणामसँगै वाम एकता नहुने चर्चा पनि सुन्न थालिएको छ नि ?

तपाईहरुले के बुझ्नु पर्‍यो भने नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको प्रक्रिया अघि बढिसकेको छ । यो चुनाव र सिटको तालमेल होइन, दीर्घकालीन योजनाअन्तर्गत गरेको हो । चुनाव त तत्काल आइलागेको खण्डखातिरमात्र हो । हामीले पार्टी एकताको संयोजन समिति नै बनाइसकेका छौं । जनताले वामपन्थीलाई मत दिएका हुन् । कुनै एउटा पार्टीलाई भनेर दिएका होइनन् । अब पार्टी एकता त सरकार गठनलगत्तै अघि बढ्छ ।

अब सरकार गठन गर्दा पनि केन्द्र र प्रदेश सरकार सबैतिर ६०/४० को भागबण्डा गर्ने कि ?

मैले भनिसकेको छु, हामीले कुनै कुरा लुकाएका छैनौं । अब सरकार गठन, प्रदेश सरकार गठन सबै प्रक्रियामा हामीले हाम्रो राजनीतिक समझदारीको आधारमै उभिएर गर्छौं ।

६०/४० भनेको ढुंगामा लेखिएको अक्षर होइन । ६०/४० को कुरा गर्दा बिगतमा सिट बाँडफाँडको बेला पनि दुवै पार्टीका नेता कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहालले हामीलाई भन्नुभएको थियो– जित सुनिश्चित हुनुपर्‍यो, ०७४ को स्थानीय तहको चुनावको मतलाई आधार बनाउनुपर्‍यो र ६०/४० लाई पनि मिलाउनुस ।

एमाले भन्ने पार्टीमा हेड नभएर हेडको खोजी गर्दै हिँड्ने सिलसिलामा बामपन्थी एकता भएको होइन । हाम्रो पार्टीको हेड हुनुहुन्छ र हेड चलाएका नेताहरु पनि हुनुहुन्छ

त्यही आधारमा हामीले सिट बाँडफाँड टुंगो लगाएका थियौं । एमालेले समग्रमा १०३ ठाउँमा उम्मेदवार उठायो भने माओवादीले ६२ ठाउँमा उममेदवार उठायो । यसमा हामी प्रतिशत समातेर बसेनौं । अब सरकार गठनको कुरा गर्दा पनि त्यसका केही जस्टिफाइड आधार हुन्छन् ।

कसको हुने नहुने भन्ने नै रहेन । जब पार्टी एकताको कुरा गर्दैछौं भने तत्काललाई कोही एमालेबाट कोही माओवादीबाट मुख्यमन्त्री होला, मन्त्री होला । मूल रुपमा वामपन्थी गठबन्धनले जे बिचार र योजना अघि ल्याएको छ, त्यसलाई सपोर्ट हुने गरी हामी सरकार गठन गर्छौं । यस हिसाबले केन्द्रीय सरकार र प्रदेश सरकार गठनमा पनि ६०/४० लाई हेक्का राख्छौं ।

अबको प्रधानमन्त्री केपी ओली भनेर त विदेशी मिडियाले समेत लेख्न थालिसके, यसमा तपाईहरुबीच कुनै कन्फ्युजन छ ?

यसमा के हो भने, म वामपन्थी गठबन्धनको एउटा घटकको महासचिव हुँ । मैले सञ्चारमाध्यममा बोल्दा आधिकारिक र निर्णित कुरा गर्नुपर्छ । यस्ता विषयमा हामी छलफल गरेर संस्थागत ढंगले निर्णय गर्छौं ।

तर, तपाईसँग अनौपचारिक कुरा गर्दा यो त स्वतः बुझिने कुरा छ । आज बामपन्थी एकता गराउने कुरामा, राष्ट्रिय राजनीतिलाई सही नेतृत्व गरेको आधारमा र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका आधारमा हाम्रो पार्टीको अध्यक्ष केपी ओली अहिले समग्र मुलुकको नेता हो ।

एमाले पार्टी अध्यक्ष संसदीय दलको नेता र योग्यतापूर्वक मुलुकलाई नेतृत्व गरेको नेता, नेकपा एमालेको हैसियतलाई ख्याल गर्दा हाम्रोे अध्यक्ष नै प्रधानमन्त्री बन्ने कुरामा विवाद छैन । स्वयं माओवादी अध्यक्ष प्रचण्डले यो कुरा भनिसक्नुभएको छ ।

अरु नेताहरुको व्यवस्थापनचाहिँ कसरी गर्नुहुन्छ ?

मैले पटक–पटक भनेको छु, केही नेताहरुको व्यवस्थापनका लागि यो एकता भएको होइन । सिंगो मुलुकको व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण हो । यो निर्वाचनमा आएको अभिमत नेताको व्यवस्थापनका लागि होइन, जनताको समृद्धिका लागि हो । मुलुकको व्यवस्थापन गर्नका लागि जनताले मत दिएका हुन् हामीलाई ।

कुन नेतालाई कहाँ जिम्मा दिने भनेर कुरा गर्न थालियो भने ठीक ठाउँमा पुगिँदैन । आवश्यकताअनुसार नेताहरुको व्यवस्थापन त आफैं भइरहेकै छ ।

तर, पार्टीको हेड को बन्ने भन्ने विवाद त शुरु भयो नि हैन ?

हेडको कुनै टेन्सन नै छैन । एमाले भन्ने पार्टीमा हेड नभएर हेडको खोजी गर्दै हिँड्ने सिलसिलामा बामपन्थी एकता भएको होइन । हाम्रो पार्टीको हेड हुनुहुन्छ र हेड चलाएका नेताहरु पनि हुनुहुन्छ । जरुरत पर्दा हेड हुन सक्ने नेताहरु पनि हुनुहुन्छ । त्यसैले हेडको समस्या होलाजस्तो मलाई लाग्दैन ।

हामीबीच पार्टी एकताको सहमति भइसकेको छ, त्यसबाट कोही पछि हट्दैन । पहिलो त एकताको कुरा हो नि । एकतावद्ध पार्टीको हिसाबले पार्टीको आवश्यकताको हिसाबले नेता बनाउने हो । नेता जो पनि हुन सक्छ ।

केपी ओली प्रधानमन्त्री भएपछि प्रचण्ड पार्टी अध्यक्ष हुने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ हो ?

हाम्राबीच कुनै गुप्त सहमति वा ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ छैन । जे हो जनतालाई प्रष्ट भनेका छौं । त्यसैले यसमा जे हुन्छ, संस्थागत ढंगले हुन्छ । तर, पनि म व्यक्तिगत रुपमा के ठान्छु भने पार्टीको अध्यक्ष, संसदीय दलको नेता, प्रधानमन्त्री पृथक–पृथक व्यक्ति हुनुपर्छ भन्ने पक्षमा म छैन । यसले पार्टीमा मल्टी सेक्टरको स्थिति ल्याउन सक्छ ।

पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुँदा पार्टीमा बहुकेन्द्रहरु रहँदैनन् भन्ने मेरो व्यक्तिगत मान्यता हो । यो हाम्रो संस्थागत निर्णय भइसकेको कुरा होइन । पार्टी एकताको प्रक्रियामा गइसकेपछि यस्ता सबै कुरा मिल्छन् ।

अनि प्रचण्डलाई चाहिँ के त ?

प्रचण्डजीलाई के वा ओलीलाई के भनेर एकता भएको होइन । एमालेका नेताहरुलाई के, माओवादीका नेतालाई के भन्ने कुराले फेरि पनि नेताको व्यवस्थापन ठूलो कुरा होइन । पार्टी एकता भएपछि प्रचण्डले नेतृत्व लिन पनि सक्नुहुन्छ, अर्कोले पनि गर्न सक्छ । यो ठूलो इस्यु नै होइन । हामी त्यसमा सहज अवतरण गर्छौं ।

एमाले र माओवादीबीच पार्टी एकताको प्रक्रिया कस्तो हुन्छ ? कहिले हुन्छ एकता ?

पार्टी एकता यही मितिमा हुन्छ भनेर तिथिमिति किटेर भन्न सकिन्न । तर, एकताको प्रक्रिया चाहिँ शुरु भइसकेको छ । असोज १७ गते जारी गरेको संयुक्त वक्तव्यमा हाम्रा नीतिगत अवधारणाहरु, सहमतिका धारणाहरु सार्वजनिक गरिसकेका छौं । त्यही नीतिगत अवाधारणमा उभिएर संगठनात्मक संरचना मिलाउने बिन्दूमा छौं । अब पार्टी एकता भनेको केही बैचारिक पक्ष र संगठनात्मक पुनव्यवस्थापनको कुरा बाँकी हो ।

त्यसको मतलब, अब पार्टीका कमिटीहरु एकीकरण हुनमात्रै बाँकी हो ?

संगठनात्मक पुनव्र्यस्थापन भनेपछि संसदीय दलको कुरा आउँछ । त्यस्तै कमिटीहरु छन् । दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरेर संयुक्त समिति गठन गर्ने भनेर तल सर्कुलर पठाइसकेको छ । अहिले पनि तपाईहरुले अनलाइनखबरमार्फत सम्झाइदिनुस, बिर्सिसकेका हुन सक्छन् । दुवै नेताले हस्ताक्षर गरेको सर्कुलरका आधारमा कुन मोडालिटीमा संयुक्त समिति बनाउने भन्ने मोडालिटीमा जान बाँकी छ । चुनावको चटारो सकिएपछि अब तत्काल संयुक्त कमिटीहरु बन्छन् ।

संयुक्त कमिटीहरु पनि चुनावी सिट र सरकार गठनमा जस्तै ६०/४० कै अनुपातमा हुने हो ?

कमिटीहरु ६०/४० भन्दा पनि औचित्यका आधारमा गठन हुन्छन् । हुँदै नभएको ६०/४० कहाँबाट ल्याउने ? प्रतिनिधिसभा र प्रदेशसभा चुनावको नतिजा, स्थानीय तहको नतिजा, पार्टीहरुको आकार, क्रियाशीलता र संगठनात्मक संरचनाहरुका आधारमा कमिटीहरु तय हून्छन् । त्यसको पनि एउटा मापदण्ड बन्छ नि ।

समग्रमै बामपन्थी गठबन्धनले जुन नतिजा ल्याएको छ, एमालेको महासचिवको हिसाबले भन्दा यो तपाईहरुले अपेक्षा गरेकै अनुसार आएको हो ?

सर्वप्रथम त, जनताले दिएको विश्वसको मत र हामीलाई दिनुभएको पोजिशनप्रति म मतदातालाई जनतालाई धन्यवाद दिन चाहन्छु पार्टीको तर्फबाट । जनताको मत अत्यन्त मूल्यवान छ । यलाई हामी भविष्यमा पनि जनताको यो अभिमतको सम्मान गर्दै अघि बढ्न चाहान्छौं । जनताको मतको अपमान हुन दिने छैनौं ।

पार्टीको अध्यक्ष, संसदीय दलको नेता, प्रधानमन्त्री पृथक–पृथक व्यक्ति हुनुपर्छ भन्ने पक्षमा म छैन । यसले पार्टीमा मल्टी सेक्टरको स्थिति ल्याउन सक्छ

जहाँसम्म यो नतिजा अपेक्षित थियो कि थिएन भन्ने कुरा छ,यो हामीले अपेक्षा गरेकै मत हो । हामीले १० गते ३७ ठाउँमा निर्वाचन भए लगत्तै, मैले त्यतिबेलै भनेको थिएँ–हामी थोरैमा ३० देखि ३२ सिट जित्छौं । हामीले तीमध्ये ३६ सिट जित्यौं । दोस्रो चरणका १२८ मध्ये एक सय देखि १०५ जित्छौं भनेको थिएँ । हामीले आँकलन गरेरै भनेका थियौं । त्यहि अनुसार नतिजा आयो । समग्र नतिजाबाट हामी शन्तुष्ट छौं ।

वामपन्थी गठबन्धन कारण यो सम्भव भयो होइन त ?

स्वाभाविक रुपमा वामपन्थी गठबन्धन एउटा महत्वपूर्ण कारण हो । वामपन्थी गठबन्धनले जनतामा उत्साह ल्यायो । राजनीतिक अस्थिरताबाट जनता अक्रान्त थिए,हामीले अब स्थिर सरकार दिन्छौं भन्यौं । हामीले लिएका अडान र देशभक्तिपूर्ण लाइनका कारण पनि जनताले हामीलाई रुचाए । बहुमतको सरकार बनोस भन्ने जनताको उत्कट चाहनालाई बामपन्थी गठबन्धनले बुझेर हामीले गठबन्धन गरेको हो । त्यसलाई जनताले पत्याए ।

हामीले वामपन्थीहरुको बहुमत सरकार किन भन्यौ र जनताले हामीलाई किन विश्वास गरे भन्दा, इतिहासमा कांग्रेसले बहुमत ल्याउँछ तर राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने पुष्टि भयो । त्यसैले हामीलाई जनताले हेर्न खोजे,अब हामीले वामपन्थी भनेका कांग्रेसभन्दा फरक हुन्,यिनीहरुलाई भरोसा गर्न सकिन्छ भन्ने पुष्टि गर्नुपरेको छ ।

वामपन्थी गठबन्धनमात्र पनि भएन, पार्टी नै एकता हुन्छ भनेपछि मत एकै ठाउँमा सोहोरिएको होइन र ?

हामीले पार्टी एकता भन्नका लागि भनेको होइन, यो त गर्ने नै हो । पार्टी एकताको प्रक्रिया अघि बढिसकेको छ । हामी मिल्ने आधारहरु तय भइसकेका छन् । संयुक्त घोषणापत्र आइसकेको छ ।

हिजो हामी किन मिलेनौं भन्दा बाटो मिलेको थिएन,विश्लेषण मिल्दैनथियो । आज हाम्रो बाटो र बिचार विष्लेष्णा मिलेको छ । हामी प्रतिस्पर्धाको राजनीति,लोकतन्त्रमा विश्वास गर्ने शक्ति हौं । हामी प्रतिस्पर्धाको राजनीतिमा श्रेष्ठताको बलमा शासन सत्ताको जिम्मेवारी लिने भन्ने सिद्धान्तबाट अघि बढेका थियौं । यसमा हामी दुवै पार्टी एक ठाउँमा उभिएका छौं । भिन्नता नरहेपछि अलग ठाउँमा रहनुको औचित्य रहेन,त्यसैले हामी एक ठाउँमा आएका हौं ।

तपाईहरुले दुई तिहाईकै नजिक बहुमत ल्याइरहँदा, मधेस विशेष गरी २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनले जितेको छ, उनीहरुले यसलाई संविधान संशोधनको पक्षमा आएको जनमत भनेका छन्,अब संविधान संशोधनका सन्दर्भमा तपाईहरुको दृष्टिकोण के होला ?

एउटा त निर्वाचन सम्पन्न भयो, निर्वाचनको बेला हामी प्रतिस्पर्धामा थियौं । एकले अर्काको कमजोरीका बारेमा र आफ्ना सबल पक्षको बारेमा जनतालाई बतायौं । निर्वाचनकै कालखण्डका कुराहरु निर्वाचनपछि पनि बोकेर हिँड्नुहुँदैन । देश बनाउने कुरामा अब हाम्रा साझा एजेण्डा छन् ।

जहाँसम्म मधेसको कुरा छ, २ नम्बरमा हामीले १४ सिट ल्याएका छौं । मतको हिसाबले हामीले राम्रो मत ल्याएका छौं । त्यहाँ मधेसवादी गठबन्धनपछि एमालेको मत आएको छ । त्यो प्रदेशका सरकार बनाउने सन्दर्भमा पनि हामी सम्वाद परामर्श गरौंला । कसले नेतृत्व लिनु उचित हुन्छ, सल्लाह गरौंला । मधेस वा पहाड, हिमालका मुद्दा छन् । हामी ती साथीहरुसँग पनि छलफल गर्छौं । उहाँहरुसँग बसेर सल्लाह गर्छौं । हामी मधेसवादी दलका एजेण्डामा छलफल गर्न तयार छौं ।

कुनै मधेसवादी दललाई सरकारमा पनि सँगै लैजाने सोच्नुभएको छ कि ?

मलाई यो विषयमा धेरै भन्नुछैन । वामपन्थी गठबन्धनले दुई तिहाई ल्याइसकेको अवस्थामा ओपन कुराप्रति कसैले अन्यथा सोच्छ जस्तो मलाई लाग्दैन ।

दुई तिहाईको नजिक त पुग्नुभयो, तर दुई तिहाई ल्याएर संविधानमा कम्युनिस्ट व्यवस्था अनुकुल हुने गरी संशोधन गर्ने हो कि भन्ने त्रास पनि शुरु भयो नि ?

हामी बोल्ने एउटा, गर्ने अर्को गर्दैनौं । संविधान जारी गर्ने बेलामा हामीले जे प्रतिबद्धता व्यक्त गरेका थियौं, त्यसमा हामी प्रतिबद्ध छौं । शासन प्रणालीका सन्दर्भमा पनि हामीले किटान गरेर सचेततापूर्वक गरेका छौं ।

हामीले जारी गरेको संविधानको रक्षा गर्ने कुरामा हामी अग्रपंक्तिमा उभिन्छौं । हिजो संविधान जारी गर्ने बेलामा संवैधानिक हैसियतले बसेका व्यक्तिहरु, संविधान जारी गर्ने ठाउँमा रहेका कार्यकारी व्यक्तिहरु खुट्टा कमाउदै थिए । कार्यकारी पदमा बसेर संविधान जारी गर्नुपर्ने व्यक्तिहरु दुई महिना सारौं भन्दै थिए ।

कसको भूमिका के थियो भन्ने सबैलाई थाहा छ । हामीले जारी गरेको संविधानको स्वामित्व हामी लिन्छौं । यसो भनिरहदा संविधानलाई धर्मशास्त्र जस्तो असंशोधनीय भन्दैनौं । संविधानको संशोधन र परिवर्तन भनेको आवश्यकता, अभ्यास र औचित्यले पुष्टि गरेका आधारमा हुन्छ । संशोधन त हामीले संविधान जारी गरेलगत्तै पनि गरेको हो ।

हामीले सुशील कोइराला प्रधानमन्त्री भएका बेला संशोधन नगरी नहुने भयो भनियो, तर त्यसले समाधान त भएन । त्यसैले अभ्यास र औचित्यले पुष्टि गर्छ भने संविधान संशोधन हुन्छ ।

संवैधानिक अड्चन देखाएर तपाईहरुको सरकार गठनमै बिलम्ब आउने देखियो नि ? यसको समाधान कसरी खोज्दै हुनुहुन्छ ?

पहिले सरकार गठन हुनुपर्छ । अहिले संविधानको किटानी व्यवस्था अनुसार राष्ट्रिय सभाको गठन गर्नुपर्छ । राष्ट्रपतिबाट अध्यादेश आएको छैन । त्यो विषय हामी बुझ्दैछौं । तर, एउटा कुरा के हो भने, यतिबेला अड्काउने हिसाबले होइन राजनीतिक सहमतिको प्रक्रियाबाट अघि बढ्नुपर्छ । वृहत राजनीतिक सहमतिबाट अघि बढ्नुपर्छ यस्ता विषयमा ।

राजनीतिक प्रक्रिया अवरुद्ध गर्ने, सरकार गठनमा अवरोध गर्ने ढंगले कोही आउनुहुँदैन तत्काल गर्न सकिने कुरा छन् भने फास्ट ट्र्याकबाट गर्नुपर्छ । तर, अड्काउनुहुँदैन ।

व्यक्तिगत कुरा गर्दा, तपाई लगातार दुईपटक संसद बाहिरै रहनुभयो, यसपटक त काठमाडौं ५ बाट बदला लिएजसरी नै निकै ठूलो मतान्तरमा जित्नुभयो नि होइन ?

म तपाईले भनेजस्तै १० हजार मतान्तरले बिजयी भएको छु । विगतका दुई चुनाव प्राविधिक कारणले हारेको थिएँ, यसपटक यति अन्तरले जित्नुको कारण के हो भने वास्तवमा म यहाँ चुनाव जितेका बेला पनि र हारेका बेला पनि जनतासँगको सम्बन्धमै थिएँ ।

चुनाव जितेका बेला पनि यहाँका जनताको समस्या समाधानका लागि निरन्तर काम गरेँ । चुनाव हारेका बेला पनि जनताको वारेस बनेर लागिरहेँ । जनतासँग विकास निर्माण सामाजिक समस्या आइपर्दा म यहाँ सधैं अटुट सम्बन्धमा रहेका कारण मेरो बिजयको आधार बनायो ।

दोस्रो कुरा, जनतासँग मैले गरेको प्रतिबद्धता हार्दा होस वा जित्दा होस सधैं सँगै रहन्छु,शीर झुकाउने काम गर्दिन भनेको थिएँ । म यहाँका जनताका लागि मर्दाको मलामी र बाँच्दाको जन्ती हुँ । जनताले यसपटक मेरो अभाव महसुस गरेरै सबैले साथ दिनुभयो ।

अर्को कुरा पार्टीले राष्ट्रिय राजनीतिमा लिएको अडान, हाम्रो नीति र नेतृत्वप्रति जनताको सम्मान र वामपन्थी गठबन्धनले पनि मेरो विजयलाई सहज बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment