Comments Add Comment

अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने

बन्द भएको ‘इन फ्लाइट ड्युटी फ्री सर्भिस’ पुनः शुरु गरिँदै

२९ मंसिर, काठमाडौं । विदेशबाट फर्कंदै गर्दा घरपरिवार र साथीभाइका लागि गिफ्ट किन्न छुट्न सक्छ । तर, नेपाल वायुसेवा निगमका विमानबाट स्वदेश फर्किंदै गरेका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुअघि नै उपहारका सामग्री खरिद गर्न सक्नेछन् ।

निगमले तीन महिनाभित्र यस्तो सेवा शुरु गर्दैछ । त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी १० जनवरीभित्र इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन् ।

एसिया र मध्यपूर्वका ड्युटी फ्री तथा ट्राभल कम्पनीलाई मुख्य प्राथमिकता दिइने श्रेष्ठले जानकारी दिए ।

छनोट भएको कम्पनीले कम्तिमा १० वटा एयरलाइन्सहरुलाई सेवा दिइरहेको हुनुपर्ने प्रावधान छ । वार्षिक ५० लाख यात्रुलाई सेवा दिन सक्ने कम्पनीले मात्रै आवेदन दिन पाउने छन् ।

उक्त सेवालाई ‘इन फ्लाइट ड्युटी फ्री सर्भिस’ भनिन्छ । छनोट हुने कम्पनीले निगमका विमानभित्रै चस्मा, पफ्र्युम, गिफ्ट आइटम र मेकअपका सामान बिक्री गर्नेछ । उपहारका सामग्री भने निगमकै ‘क्रु मेम्बर’ले यात्रुसम्म पुर्‍याउनेछन् ।

श्रेष्ठका अनुसार उक्त सेवा निगमका विमानमा धेरै वर्षअघि थियो । बीचमा आएको उतारचढावका कारण बन्द भएको थियो । र, फेरि शुरु गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उक्त सुविधा उपलब्ध गराउँछन् ।

श्रेष्ठले भने, ‘अन्य एयरलाइन्सजस्तै हामीले पनि सुविधा थप गर्न लागेका हौं ।’ उक्त सुविधा नेपालबाट बाहिरिँदा पनि उपलब्ध हुनेछ ।

पाँच वर्षका लागि छनोट हुने कम्पनीलाई सामान प्याक गर्न निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै ठाउँ उपलब्ध गराउने छ ।

राष्ट्रिय ध्वजाबाहक निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले एक बोइङ–७५७ र दुई एयरबस–३२१ विमान उपलब्ध छन् । थप दुई वटा वाइडबडी एयरबस खरिदको प्रक्रियामा छन् । मे २०१८ सम्ममा दुवै विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइसक्ने निगमको लक्ष्य छ ।

थप दुई वटा न्यारोबडी विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा छ, निगम । ती सबैमा उक्त सुविधा उपलब्ध हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment