Comments Add Comment

गुजरात चुनावः कहाँ गयो हिन्दुत्वको मुद्दा ?

भारतको गुजरातमा हालै सम्पन्न विधानसभा चुृनाव कयौं कारणले गर्दा विगतका भन्दा पृथक रह्यो ।

चुनाव प्रचारका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी पार्टी कांग्रेसलाई पाकिस्तानसँग जोडेर आलोचना गरे पनि समग्रमा यो पटक साम्प्रदायिक धु्रविकरणको कुरा खासै भएन ।

प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको जोडदार प्रयासका बाबजूद पनि न हिन्दुत्व ठूलो मुद्दा बन्न सक्यो न त विकास नै । सर्वप्रथम त मोदी मुख्यमन्त्रीबाट प्रधानमन्त्री बन्नुले गुजरातको राजनीतिलाई सन् २००२ को साम्प्रदायिक दंगाबाट पर लग्यो ।

जब मोदी गुजरातका मुख्यमन्त्री थिए, विपक्षी कांग्रेस र मिडियाले हमेशा सो दंगालाई केन्द्रमा राखेर उनलाई हेर्ने गर्थे । मोदी स्वयम्ले दंगासँग जोडिएको आफ्नो छविलाई विकासको नयाँ मोडल विकसित गर्ने नेताका रुपमा बदल्न निकै कडा मेहनत गरेका छन् । तर, चुनाव प्रचारका दौरान दंगासँग जोडिएको उनको छवि फेरि ब्यूँतिने गर्छ ।

२००२ जस्तो छैन २०१७

गुजरातमा यसपटक राजनीतिक मुद्दा अन्य मसलाले भरिएको छ । सन् २००२ को चुनाव दंगासँग सम्वन्धित थियो भने २००७ को विकास र २०१२ को मोदी प्रधानमन्त्री बन्नका लागि केन्द्रित थियो ।

२०१७ को चुनावी एजेन्डा मोदी वा भाजपाले तय गरेका थिएनन् । यदि भाजपाले यो चुनाव आरामले जित्यो भने पनि पाटीदार आन्दोलन, किसानको समस्या, जीएसटीको लफडा र अन्य मसलाहरुमा यो पार्टी हारेको छ ।

जाति अन्य राज्यहरुको जस्तो यहाँ त्यति महत्वपूर्ण हुन सक्दैन तर, यो चुनाव जातिभन्दा बढी हिन्दु एकीकरणको मुद्दामा थियो । अर्थव्यवस्थाको खराब स्थिति, किसानले आफ्नो उत्पादनको मूल्य पाउन नसकेको गुनासो, तथा जीएसटीको झट्का खाएका व्यापारीहरुका कारण भाजपा विकासको मुद्दा उछाल्न असमर्थ थियो ।

यसका बाबजुद शहरी गुजराती मतदाता र गाउँका पनि कैयन् व्यक्ति अझै पनि मोदी र भाजपालाई राज्यमा पछिल्लो दुई दशकमा भएको विकासको श्रेय दिइरहेका छन् ।

पाटीदार आन्दोलनले खासगरी हिन्दूत्वमाथि कडा प्रहार गरेको छ । हार्दिक पटेलको नेतृत्वमा भएको पाटीदार आन्दोलनले यस चुनवामा पाटीदार र आरक्षणलाई हिन्दूत्वभन्दा ठूलो मुद्दा बनाइदियो । जब मानिसहरुलाई कसले जित्दैछ भनेर सोधिन्छ, धेरैले भन्छन् कि भाजपाको जित्ने चान्स धेरै छ तर पाटीदारको मुद्दाले कांग्रेसलाई प्रतिस्पर्धामा उभ्याएको छ ।

पार्टीदारहरुको एउटा युवा वर्गको भाजपाबाट मोहभंगले पनि हिन्दूत्वको मुद्दालाई झट्का दिएको छ । गुजरातमा पटेलहरुले हिन्दूत्वको राजनीतिका लागि मार्गप्रशस्त गरेका थिए । यदि गुजरातमा भाजपाले लामो समय पटेलहरुको समर्थन गुमायो भने हिन्दूत्व एकीकरण पनि लामो समयसम्म चल्ने योजना बन्न सक्छ ।

ध्रुवीकरणका अन्य स्तम्भ

कांग्रेसले हिन्दू-मुस्लिम ध्रुविकरण रोक्न राम्रो भूमिका निभाएको छ । उसले पछिल्लो पटकको ६ को तुलनामा यसपटक मुस्लिमहरुलाई पाँच टिकट दियो तर मुस्लिम मतदाता वा उनीहरुको मुद्दामाथि आवाज उठाउनबाट टाढै रह्यो । राहुल गान्धी मन्दिरमा जानु कांग्रेसको हिन्दु विरोधी र मुस्लिम हितैषी छवि विपरित देखियो ।

मौन हिन्दुत्व

गुजरात रातारात धर्मनिरपेक्ष बन्यो भन्नु सही हुँदैन । मानिसहरुमा कांग्रेसले जित्यो भने मुस्लिम बलिया हुन्छन् भन्ने डरले अझै पनि डेरा जमाइरहेको छ ।

यद्यपि, राहुल गान्धीको मन्दिर भ्रमणले यस प्रकारका कुरालाई धेरै हदसम्म शान्त गरिदिएको छ । यदि कांग्रेसले आफ्नो मुख्यमन्त्री उम्मेदवार घोषित गरेको थियो भने यो पूर्णरुपमा निष्प्रभावी हुने थियो ।

हिन्दु पहिचान शहरी मतदाताहरुका लागि एउटा ठूलो मुद्दा हो । तर, यस चुनावमा हिन्दूत्वको नाममा भोट पाउन मुस्किल छ, जबसम्म यो विकाससँग जोडिएको हुँदैन ।

यही कारणले प्रधानमन्त्री, कांग्रेसको तीखो आलोचना गर्दै भन्छन् कि उसले गुजरातमा भाजपालाई हराउनका लागि पाकिस्तानसँग मिलेर षडयन्त्र गरिरहेको छ ।

नतिजापछि

चुनावमा जित नै अन्तिम सत्य हो । यदि भाजपाको पक्षमा नतिजा आएन भने यसलाई हिन्दुत्वको हारको रुपमा हेरिने छ र वाम-उदारवादी तप्काले यसलाई धर्मनिरपेक्षताको जीत बताउनेछन् ।

यदि भाजपा यो चुनावमा आरामले जित हासिल गर्‍यो भने -जुन सम्भावना प्रबल छ), यो भनिने छ कि प्रधानमन्त्रीले पाकिस्तानलाई मुछेकाले पार्टी जोगियो ।

धरातलीय यथार्थ यो हो कि आम मतदाताले यस विषयमा कुरा गरिरहेका थिएनन् । उनीहरु पाटीदार, विकास, जीएसटी, अर्थव्यवस्था, सिंचाई, शिक्षाका कुराहरु गरिरहेका थिए ।

यदि भाजपाले जित्यो भने यो ओबीसी एकीकरण, आदिवासीहरुको बीच यसको पहुँच, मोदीको व्यक्तिगत लोकपि्रयता तथा एक गुजराती प्रधानमन्त्रीलाई कुनै पनि हालतमा तल देखाउनु हुँदैन, भन्ने तर्कका कारणले सम्भव हुनेछ ।

यो यसकारण कि भाजपाको धरातलीय संयन्त्र काग्रेसको तुलनामा अत्यधिक शक्तिशाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment