Comments Add Comment

सार्वजनिक जग्गामा भू-माफियाको चलखेल

२९ मंसिर, सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ मा बस्दै आएका सुकुम्वासी दलितहरुको जग्गाको लालपुर्जा अर्कै व्यक्तिको नाममा भएको भेटिएपछि उनीहरु बसोबास उठ्ने डरले पीडित बनेका छन् ।

वडा नं. २३ का वडाध्यक्ष असलम देवानले वडा भवन बनाउन केही सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा ३ वटा बस्ती अर्कै व्यक्तिको नाममा रहेको खुलेको हो ।

वि.सं. २०५५ साल पुसमा सुकुम्बासी समाधान आयोगको नक्कली प्रमाण पेस गरी करिब २० बिगाह सार्वजनिक जमिनको व्यक्तिको नाममा पुर्जा बनेको भेटिएको छ ।

मालपोत कार्यालयमा सुकुम्वासी समाधान आयोगको सिफारिस लिएर पुगेका उनीहरुले मातपोतले पुर्जा बनाइदिन नमानेपछि पुनरावेदन हुँदै सर्वाेच्च अदालतसम्ममा उजुरी गरेका थिए । मालपोत कार्यालयलाई विपक्षी बनाइ उनीमध्ये एक प्रधुन्नराज पाण्डेले सर्वोच्च्ामा आफ्नो नाममा श्रेस्ता कायम भएको जग्गाको पुर्जा नपाएको भनी मुद्दा लडेका थिए ।

०७४ कात्तिक २८ गते न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला मालपोतलाई पाण्डेले दाबी गरेको कित्ताको मोठ स्रेस्ताको प्रमाणित प्रतिलिपि र निज पाण्डेको हगभोगमा जग्गा छ या छैन भनि सात दिन भित्र जानकारी दिन पत्र काटेका थियो ।

यता, मालपोतले भने पाण्डेले दाबी गरेको जग्गाको श्रेस्ता नभेटिएको र सो जग्गा हालसम्म पनि नेपाल सरकारकै नाममा रहेको लिखित पत्र पठाएको छ । कार्यालयका एक कर्मचारीले प्रधुन्नराज पाण्डेको नाममा रहेको पुर्जाको कुनै श्रेस्ता नभएको र ०५५ सालतिरै कुनै कर्मचारीकै मिलोमतोमा नक्कली पुर्जा बनेको हुन सक्ने बताए ।

निजहरुले करिब २० बिगाह जग्गाको नक्कली पुर्जा बनाइ सदर गर्न मालपोतका कर्मचारीको मिलोमतोमा त्यहाँ रहेको पुरानो कित्ताको रेकर्डलाई गुमनाम बनाई नक्कली पुर्जा फाइलको बीचमा राखिएको पाइएको छ ।

पाण्डेले हाल जितपुरसिमरा-२३, साबिक रामपुरटोकनी २ को कित्ता नम्बर ३६२ को नाममा बनाएको पुर्जाको सोही कार्यालयमा श्रेस्ता नभेटिए पनि उनको पुर्जा नक्कली रहेको ठहर भएको हो ।

हाल अमेरिका बस्ने स्थाई घर काठमाण्डौं भएका पंकजराज पाण्डे, पर्साका प्रधुन्नराज पाण्डे, काठमाडौंकी बन्धना पाण्डे र अर्चना पाण्डे लगायत केही अन्य व्यक्तिहरुले ती २० बिगाह जग्गा आफ्नो नाममा बनाएका हुन् ।

सो समयमा मालपोत कार्यालयले आर्थिक प्रलोभनमा परी ऐलानी जग्गालाई भुमाफियाको कागजी रुपमा सुकुम्वासी प्रमाण बनाई ३ वटा बस्तीको जग्गा अन्यत्र बस्नेहरुको नाममा नक्कली पुर्जा बनाइदिएको खुलेको छ ।

सोही नक्कली पुर्जाकै आधारमा उनीहरुले यहाँका केही सडक किनारका जग्गाहरु भाडामा समेत लगाएको खुलेको छ । वीरगञ्ज पथलैया करिडोरमै पर्ने भलुही लगायत अन्य केही जमिनमा उद्योग स्थापनाका लागि समेत दिएको खुलेको छ ।

सोही सार्वजनिक जग्गामा पर्ने चित्रगुप्त पेट्रोलपम्प रहेको स्थान समेत पम्पका सचालक सुरेन्द्र श्रीवास्तवले जग्गा लिजमा लिएर चलाएको रहस्य खुलेको छ भने केही माफियाको वारेस स्थानीय व्यक्ति नै वसी यहाँको सूचना उनीहरुलाई दिने गरेको बताइएको छ ।

स्थानीयको विरोध

यसैबीच, सो स्थानको सार्वजनिक जग्गामा बसोबास गर्दै आएका दलित मुस्लिम लगायतका सुकुम्बासी परिवारले आफू बसोबास गर्दै आएको जग्गा व्यक्तिको नाममा रहेको पाएपछि आन्दोलित बनेका छन् ।

उनीहरुले सार्वजनिक जग्गा फिर्ता गर, भूमाफियालाई कारबाही गर, लगायतका माग राखी र्‍याली निकालेका छन् ।

उनीहरुले ४० वर्षदेखि वसोवास गर्दै आएको जग्गालाई भूमाफियाले आफ्नो कब्जामा पारी वस्ती विस्थापित बनाउन खोजेको आरोप लगाएका छन् ।

उनीहरुलाई ०५५ सालमै सुकुम्बासी आयोगले आफूहरु बस्दै आएको जग्गाको दर्ता नम्बर कायम गरी दर्ता प्रमाण पत्र समेत दिएको बताएका छन् ।

जितपुरसिमरा वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवानले नक्कली लालपुर्जा बनाई उनीहरुले भित्रभित्रै किनबेचको योजना बनाइएको रहस्य खुलेको बताएका छन् ।

निजहरुले सुकुम्बासी आयोगबाट नक्कली सिफारिस बनाएर मालपोतको कर्मचारीसँंग मिलोमतो गरी नक्कली पुर्जा बनाएको खुलेपछि नगरपालिकाबाट केही दिन अघि जग्गा किनबेच रोक्का गर्न मालपोतलाई पत्र पठाएको बताएका छन् ।

सो क्षेत्रमा अहिले करिब १ हजार ५ सय परिवारको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment