Comments Add Comment

ईश्वर पोखरेलको अभिव्यक्तिले माओवादीमा तरंग

ओली र प्रचण्डबीच 'वन टु वन' छलफल

२९ मंसिर, काठमाडौं । चुनावी अभियान सकेर चितवनबाट काठमाडौं आइपुगेकै दिन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो ।

त्यसको भोलिपल्टै अर्थात शुक्रबार प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे ।

गत दशैंमा एमाले र माओवादीवीच एकता र तालमेलको घोषणा हुँदै गर्दा भावी प्रधानमन्त्री केपी ओली बन्ने र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्ने ‘जेन्टलमेन्ट एगि्रमेन्ट’ को अनौपचारिक चर्चा चलेको थियो । तर, एमाले महासचिव पोखरेलले बिहीबार मिडियामा फ्याट्टै भनिदिए कि प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष एउटै व्यक्ति हुनुपर्छ ।’

एमाले महासचिवको यस्तो सार्वजनिक प्रतिक्रियापछि माओवादीभित्र तरंग आएको स्रोतले अनलाइनखबरलाई बतायो । सबै पदहरु यसरी केपी ओलीमा मात्रै सीमित राख्ने हो भने यसले पार्टी एकताको वातावरण नबनाउने ठहरमा माओवादी नेताहरु पुगेको स्रोतले बतायो ।

भलै एमाले महासचिव पोखरेलले आफ्नो यो भनाइ पार्टीको आधिकारिक नभएर आफ्नो व्यक्तिगत विचारमात्रै भएको स्पष्ट पारेका छन् । तथापि संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक-फरक व्यक्ति हुँदाखेरि बहुकेन्द्र जन्मने एमाले महासचिवको तर्क थियो ।

पोखरेलले यो विचार आफ्नो व्यक्तिगत भएको बताए पनि महासचिवजस्तो पदमा बसेको व्यक्तिले बोलेको कुरालाई माओवादी नेताहरुले गम्भीर रुपमा लिएको स्रोतले बतायो ।

महासचिव पोखरेलको भनाइको तरंगसँगै माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका हुन् । नयाँ बानेश्वर नजिकै एउटा निजी घरमा भएको भेटमा माओवादी र एमालेवीच पार्टी एकताका साथै सरकार गठनका सन्दर्भमा समेत कुराकानी भएको स्रोतले बतायो ।

ईश्वर पोखरेलको अभिव्यक्तिका बारेमा पनि कुराकानी भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

भेटवार्तामा पार्टी एकतालाई आँच पुग्ने र एक अर्कामा आशंका जन्माउने गतिविधि दुबै पक्षका नेताहरुले गर्न नहुने समझदारी भएको र चाँडो पार्टी एकता गर्ने कुरामा दुबै पक्ष प्रतिवद्ध रहने समझदारी भएको बुझिएको छ ।

भेटपछि स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुई नेतावीचको छलफलमा पार्टी एकतालाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि विश्वासको वातावरण बनाउने सहमति भएको छ । र, सरकार गठन लगायतका विषयमा पनि समझदारीका साथ अघि बढ्ने समझदारी भएको छ ।’

भेटमा माओवादी अध्यक्ष प्रचण्डले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ लक्षित गर्दै एमाले नेताहरुमा अनावश्यक दम्भ देखिन नहुने बताएका थिए । केपी ओलीले कतिपय नेताहरुको भनाइबाट एकता बिथोलिनेमा शंका नगर्न भन्दै प्रचण्डलाई आश्वस्त पारेका थिए ।

प्रचण्ड र केपी ओलीको भेट निजी घरमा भएको थियो । र, त्यहाँ कोही पनि मिडियाकर्मीलाई सुइँको दिइएको थिएन । भेटमा भएका विस्तृत कुराहरु बाहिर आएका छैनन् ।

दुबै नेता कानूनी परामर्शमा

यसैवीच राष्ट्रिय सभाको चुनाव नभएसम्म समानुपातिक सांसद नछानिने र नयाँ सरकार पनि गठन नहुने चर्चा चलेपछि यसबारे एमाले अध्यक्ष ओली र प्रचण्डले आफूनिकटका कानूनविदहरुसँग बेग्लाबेग्लै परामर्श लिन थालेका छन् ।

एमाले निकट कानून व्यवसायीहरुले यसबारे शुक्रबार छलफल गरेका थिए भने प्रचण्डले पनि आफूनिकट कानुनविदसँग परामर्श गरेका थिए ।

दुबै नेताको भेटमा पनि सरकार गठनका बारेमा छलफल भएको थियो । सरकारले यसबारे कानूनी एवं संवैधानिक बखेडा झिकेर अल्मल्याउन र सत्ता लम्ब्याउन खोजेको केपी ओलीको निश्कर्ष थियो । सरकारको यस्तो क्रियाकलापको प्रतिवाद गर्ने प्रचण्ड र ओलीवीच समझदारी भएको ओली निकट स्रोतले बतायो ।

राष्ट्रपतिसँग केपी ओलीको भेट

माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेपछि एमाले अध्यक्ष केपी ओलीले सीधै शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे । राष्ट्रपतिसँगको भेटमा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार मात्रै राष्ट्रपतिसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अड्काएर नराख्न र चाडो पारित गरिदिन आग्रह गरेको अनौपचारिक समाचार बाहिर आएको छ ।

तर, एमाले नेताहरुले भने प्रधानमन्त्री चयनमा राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित भइरहनुनपर्ने अडान राखेका छन् ।

यो पनि पढ्नुस्

ईश्वर पोखरेलको मतः प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एकैजना हुनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment