Comments Add Comment

केपी ओली महान, माधव नेपाल परीक्षित !

माधवकुमार नेपाल एमालेका शक्तिसम्पन्न पूर्वमहासचिव, पूर्वप्रधानमन्त्री तथा हाल पार्टीका वरिष्ठ नेता हुन् । जननेता मदन भण्डारीको असामयिक तथा रहस्यमय हत्यापश्चात् पार्टी नेतृत्व सम्हाल्न पाएका नेपाल थप एक कार्यकाल सर्वाधिकार सम्पन्न महासचिव भए ।

राजनीतिक र राजकीय अवसर प्राप्तिमा पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीले नेता नेपाललाई विगतमा एक किसिमले भन्ने हो भने काँध नै हालेका थिए । तर, पार्टीको आठौँ महाधिवेशनमा ओलीको विचार पारित भए पनि माधव नेपालले झलनाथ खनाललाई काँध हाले ।

पार्टीको नवौँ महाधिवेशनमा नेतृत्व सहज हस्तान्तरणको विषय उठ्ता नेता नेपाल विगतमा कमजोर नेतृत्वका बाबजुद तेस्रो कार्यकालका लागि पार्टी प्रमुख हुने प्रयासमा लागे । दुई कार्यकाल पार्टी प्रमुख /अध्यक्ष भएका नेता उम्मेदवार नै नहुने पार्टीको प्रावधान विपरीत नेपाल दशौँ महाधिवेशनमा पार्टी अध्यक्ष हुन प्रयासरत देखिएका छन् ।

प्रतिनिधिसभाको चुनावमा रौतहट जिल्ला परित्याग गरेर काठमाडौँबाट जितेका नेपालले देशका लागि अझै केही गर्ने जाँगर रहेको उल्लेख गरेर पार्टी अध्यक्ष वा प्रधानमन्त्री पदमा अर्जुनदृष्टि लगाइरहेको देखिन्छ । तर, दुवै पदमा उनको पहिले नै परीक्षण भइसकेको छ ।

माधव नेपाल केपी ओलीमा अन्तरनिहीत प्रतिभा, क्षमता र बहुआयामिक व्यक्तित्वलाई देख्न र सुन्न चाहँदैनन् । विगत नौ महिने ओली नेतृत्वको सरकार गिराउन नेपालले आफ्ना गुटका माध्यमबाट बखेडा गरेर ओलीलाई लाञ्छित गर्ने प्रयत्न पटक-पटक गर्न भ्याए । एमाले र माओवादी गठबन्धन सरकार टुटाएकामा नेपालले ओलीलाई मात्रै सरापे, तर त्यसको प्रतिवाद भीम रावलले गर्नुपर्‍यो । सदन, सडक र मिडियामा ओलीविरुद्ध माधव नेपालले कटाक्ष गरे ।

यही चुनावी अभियानमा पनि प्रचण्डलाई चितवनदेखि झिकाएर आफ्ना पक्षमा प्रचार गर्न लगाउने नेपालले आफ्नो क्षेत्रमा पार्टी अध्यक्ष ओलीलाई लगेनन् ।

निर्वाचनपूर्व बसेको एमालेको बैठकमा नेता ओलीलाई भावी प्रधानमन्त्री उद्घोष गरेर चुनावी अभियान जाने प्रस्तावमा नेपालले असहमति जाहेर गरे । उनी काठमाडौँबाट विजयी नभएका भए ओलीलाई नै हारको कारण बताउथे होलान् ।

एमाले नेता माधव नेपालको आगामी गेम प्लान उनका विगत गतिविधिहरुलाई हेर्दा आँकलन गर्न सकिन्छ । अहिले नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुनुहुँदैन भन्ने गेम प्लान अगाडि सार्ने देखिन्छ । नेपालले यस कुराका प्रवक्ता घनश्याम भुसाललाई अघि सार्ने सम्भावना देखिन्छ । अनि नेपालले विगत स्थानीय तहको निर्वाचनमा आˆना गुटका नामका गुमनाम पात्रहरुलाई गहन जिम्मेवारी दिलाएझैँ कामकाजी भन्दा पदराजी पात्रहरुलाई पद दिलाएर गुटलाई बलशाली बनाउने ध्याउन्न राखेको देखिन्छ ।

यदि केपी ओली नवौँ महाधिवेशनबाट अध्यक्ष नबनेका भए एमाले पार्टी रसातलमा पुग्ने थियो । देश त झन् कहाँ पुग्थ्यो, सम्झँदा आङ सिरिङ्ग हुन्छ । नवौँ महाधिवेशनमा निर्वाचनमार्फत् नेतृत्व हस्तान्तरण गर्ने विषयमा ईश्वर पोखरेलले पार्टीको भाग्य र भविष्यका खातिर आˆनो व्यक्तिगत राजनीतिक भविष्यलाई दाउमा राखे ।

केपी ओलीले नवौँ महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेद्वारी दिएपछि माधव नेपाल उनीविरुद्ध अराजनैतिक र अस्वस्थ तरिकाले आक्रामक दुस्प्रचारमा ओर्लिए । त्यसबेला ओलीलाई लाञ्छित गर्दै माधव समूहले बोलेका कूटकलुषित दुर्वाच्यहरु सम्झँदा अहिले पनि पार्टीमा प्रतिवद्ध इमानी नेता, कार्यकर्ता र शुभचिन्तकहरुको मन कटक्क काटिन्छ ।

लेखक पोखरेल

माधव नेपाल स्वयंले मोदीजस्तो र आफूजस्तो दिनको हजारौँ किलोमिटर दौडधूप गर्न सक्ने नेता पो नेता भनेर तत्काल धेरै हिँडडुल गर्न नसक्ने बिरामी ओलीप्रति कटू कटाक्ष गरेका थिए । अहिले चुनावमा ओलीको क्रियाशीलता देखेर माधव नेपाल आफैँ छक्क पर्दै होलान् ।

केपी ओली पार्टीभित्र अत्यन्त प्रतिकूलतासित जुधेर अनवरत उचाइ कायम गर्दै शिखर आरोहण गर्ने राजनेता हुन् । ओली उठ्ता देश उठ्तो रहेछ, देश र जनताको स्वाभिमान अग्लिँदो रहेछ । ओलीले बोल्दा देश बोल्छ । ओली जुट्ता देश जुट्दोरहेछ । ओलीका हर कुरामा देश, जनता र जनजीविकाको सवाल सर्वोपरि हुन्छ । उनका हर शब्द, शब्दावली वाक्यांश र वाक्यमा कहीँ न कहीँ अत्यन्त शिक्षाप्रद विषय प्रस्तुत हुन्छ । नित्य नवीन विषय र मार्मिक प्रस्तुति ओलीको विशेषता हो । ओली खुल्ला किताब हुन् । यस्ता किताब हुँदा पनि ओलीका विशेषता र व्यक्तित्वलाई आत्मसात् नगर्नु एमाले नेता र अगुवाजनको सुस्त मनस्थिति हो ।

यस लेखकले एमाले नेता जीवन घिमिरे र मोरङ अध्यक्ष विनोद ढकालसहितको सभामा ओली हुन रातको बाह्र बजेसम्म पढ्नुपर्छ भनेको थियो । टाउकामा कालो छड्के टोपी मात्र लगाएर मदन भण्डारी हुन सकिन्न भनेको थियो । हो, ओलीवृत्तका कतिपय नेता र अगुवा कार्यकर्ताहरुको कार्यशैली कार्यकर्तामैत्री स्रष्टा मैत्री र लेखक मैत्री छैन । तिनमा पठन संस्कृति त झन् छँदैछैन भने हुन्छ ।

तर, केपी ओली प्रतिभामैत्री भावका नेता हुन् । केपी ओली गुटका नाममा भएगरेका गलत कामको विरोध र दण्डको विधान गर्छन् । तर, नेपाल भने माधव त्यसका विपरीत देखिन्छन् । उनी गुटका नाममा भएका कामहरुलाई उल्टो प्रोत्साहित गर्छन् । केपी ओली आफ्नै गुटका पूर्वमन्त्री कर्णबहादुर थापालाई कार्वाही गर्ने आँट गर्छन् । तर, नेपाल आˆनो लबीका पार्टीबाट त्यहीबेला निष्काशित तत्कालीन संस्कृति तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यका पक्षमा अनुचित अडान लिन्छन् ।

भीम आचार्य पटक-पटक आर्थिक विवादमा परेका छन् । उनले प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा दाबा गरिरहँदा पनि आफू पूर्वमन्त्री रहेर काम गरेको विषय उठान गर्नै सकेका छैनन् । मन्त्री हुँदा आचार्यले राष्ट्रिय जनसांस्कृतिक महासंघले सिफारिस गरेका वरिष्ठ समालोचक तथा विषय विज्ञ भिक्टर प्रधानलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषदमा नियुक्त नगरी चरम अवसरवादी एक स्रष्टालाई प्राज्ञ परिषद् सदस्य बनाए । उनले जीवनभर राजशाही पञ्चायतपरस्त सर्जकलाई प्रज्ञापरिषद्को सदस्य बनाए ।

स्थानीय चुनावको टिकट वितरणको चलखेलमा पनि आचार्य मुछिए । जिल्लाबाट सिफारिस नै नगरिएका कार्यकर्तालाई आचार्यले प्रदेश नं. १ को मोरङ जिल्लाको प्रदेश सभामा टिकट दिलाए । जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भनेको छ, तर आचार्यमा यसखालको कार्यशैली पाइन्न । यसखालको नेतृत्वले प्रदेशको मुख्यमन्त्रीको गरिमा के कति कायम होला ? सांसदहरुले गम्भीर भएर सोच्ने विषय हो ।

केपी ओलीलाई माधव नेपाल समूहले गुटवाज भने पनि त्यो रत्तिभर प्रमाणित हुँदैन । भरखरै ओलीले भूतपूर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका एमाले नेताको व्यवस्थापन गर्ने समस्या भन्दा जनताका आर्थिक, भौतिक लगायत समस्याहरुको व्यवस्थापन पहिलो प्राथमिकता बताए । उनले भोलिका दिनमा एमाले वा बाम गठबन्धनलाई भोट दिउँ दिउँ लाग्ने गरी काम गर्न विजयी नेता र कार्यकर्तालाई बताए ।

ओलीका हर काम देश र जनताको भाग्य र भविष्य केन्द्रमा हुन्छ । अग्लो मानिसले आफू अग्लो देखिन र हुन अरुलाई होच्याइरहनै पर्दैन । माधव नेपाल भने पार्टीभित्र अत्यन्त अनुकूल अवस्था र परिस्थितिमा बनेका नेता हुन् । ओली नै सहज र सहयोगी हुँदा यो अनुकूलता नेपाललाई परेको हो ।

सिद्धान्तका दृष्टिले ओली दूरदर्शी तथा सिर्जनशील महान क्षमताका नेता हुन् भने नेपालमा विचार निर्माण, सम्बर्धन र त्यसको विस्तार गर्ने क्षमताको अभाव देखिन्छ ।

त्यसैले नेता नेपालले विगतका जस्ता गलत गेम प्लान नखेलून्, ओलीका आलोचनात्मक समर्थक र सहयोगी बनून् । अनि ओलीले जुनसुकै कित्ताका भए पनि सक्षम र कुशल नेताहरुलाई उपयुक्त जिम्मेवारी प्रदान गरुन् । यो अभूतपूर्व रुपमा प्राप्त मौका पूरै सदुुपयोग गरी देश र जनताका लागि अविस्मरणीय काम गरुन् । अहिले बन्न लागेको वाम सरकार पश्चिम बंगालको कम्युनिष्ट पार्टीजस्तो भएर पचासौँ वर्ष पछाडि पर्ने अवस्था नआओस् ।

(इटहरी निवासी डा. पोखरेल नेकपा एमालेनिकट बुद्धीजीवी हुन् । प्रस्तुत लेखमा व्यक्त विचार उनका निजी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment