Comments Add Comment

समयमै परीक्षण उत्पादन गर्न सकेन चमेलियाले, एक महिना विलम्व

जनवरी २०१८ देखि मात्र परीक्षण उत्पादन थालिने

२ पुस, काठमाडौं । चमेलिया जलविद्युत आयोजनाले पूर्वनिर्धारित समयमा ‘वेट टेस्ट’ र परीक्षण उत्पादन गर्न सकेको छैन ।

ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि पानी भण्डारण हुन सकेको छैन, जसका कारण परीक्षण उत्पादन एक महिना पर सरेको छ ।

पानी भण्डारण गर्न नसकेपछि केही दिन त्यसको मर्मतमै बितेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख अजय दाहालका अनुसार ड्याम साइटको १ नम्बर गेट लगाउँदा पनि पानी ‘लिकेज’को समस्या देखिएको छ । उक्त गेटको मर्मत शुक्रबार मात्रै सकिएको छ ।

त्यसपछि पनि सरसफाइ तथा कंक्रिट जम्न करिब एक साता लाग्छ ।

१८ कात्तिकमा बाँधका गेटहरु बन्द गरेर पानी जम्मा गर्ने योजना थियो । २६ मंसिरमा परीक्षण उत्पादन थाल्ने लक्ष्य थियो । पानी लिकेजकै कारण योजना पूरा हुन नसकेको हो ।

‘गेट निर्माण भएको लामो समयसम्म पनि आयोजना सञ्चालन हुन सकेन, जसका कारण वर्षातको पानीले गेटको कंक्रिटमा क्षती पुग्यो । अब ११ दिनपछि पानी जम्मा गर्न शुरु गर्ने योजनामा छौं,’ आयोजना प्रमुख दाहालले भने ।

साधारणतया आयोजना सञ्चालनमा आएको १० वर्षभित्रमा मर्मत गर्नुपर्छ । तर, चमेलियाको गेटको कंक्रिट आयोजना निर्माण हुन लामो समय लागेकाले सञ्चालनअघि नै मर्मत गर्नुपर्ने भएको हो ।

अहिले सुरुङ, हेडवर्क्स  र गेट परीक्षण सम्पन्न भएको छ । गेट परीक्षणका क्रममा कंक्रिटमा क्षय भएको पत्ता लागेको हो ।

दार्चुलाको शैल्य शिखर नगरपालिका १ बलाँचमा निर्माणाधीन चमेलिया सन् २००७ देखि निर्माण शुरु भएको हो । एक दशक बितिसक्दा पनि उत्पादन शुरु हुन सकेको छैन । सोही कारण आयोजनाको लागत पनि बढेको छ

आयोजनाले १० पुसदेखि ‘वेट टेस्ट’ गर्ने योजना बनाएको छ । परीक्षण उत्पादन भने जनवरीदेखि थाल्ने योजना छ । जनवरीदेखि एउटा एकाइमा भए पनि उत्पादन थालिने दाहालले जानकारी दिए ।

उक्त आयोजनामा १५/१५ मेगावाटका दुई युनिट छन् । बाँधमा पनि दुई वटा गेट छन् । अहिले देखिएको समस्या गेट नम्बर १ को हो ।

दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचमा निर्माणाधीन चमेलिया सन् २००७ देखि निर्माण शुरु भएको हो । एक दशक बितिसक्दा पनि उत्पादन शुरु हुन सकेको छैन । सोही कारण आयोजनाको लागत पनि बढेको छ ।

३० मेगावाटको आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ । आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्न प्रसारण लाइन पनि तयार पारिसकेको छ । प्रसारण लाइनमा देखिएका समस्या गत असोजमै मर्मत गरिएको थियो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा दुई सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरिएसन मूल्यांकनमा भ्रष्टाचार भएको बताउँदै बीचमा काम रोक्न निर्देशन दिएको थियो ।

२७ माघ ०७१ देखि बन्द भएको सुरुङ मर्मत १२ असोज ०७३ मा मात्र शुरु भएको थियो । ऊर्जा मन्त्रालयले गत ६ असोजमा नयाँ कार्यसूची दिँदै पुसभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment