Comments Add Comment

बाराको मुसहर बस्तीमा जाडोले सकस, बृद्धबृद्धा र केटाकेटी बढी प्रभावित

२ पुस, बारा । मुसहरबस्तीकी सञ्जु मााझी । जितपुरसिमरा-१७ को मुसहरबस्तीमा उनको खरले छाएको सानो घर छ । उनलाई आफ्नो जन्ममिती थाहा छैन, आफुसँगैकाको उमेर अनुसार उनी १५ बर्षकी भइन् ।

तीन बर्ष अघि बिहे भएर यहाँ आएकी उनले दूइ सन्तानलाई जन्म दिइसकेकी छिन् । २ बर्षको छोरो कोक्रोमा हल्लिरहँदा उनलाई काखको ४ महिनाको छोरीको स्याहारको पिरलो छ ।

हिजोआज जाडो निकै बढेको छ । बिहानको घाम तोपेर बसिरहेकी उनले रातभरी जाडोले निदाउन नमानेको ४ महिने काखको छोरो सुताउने प्रयासमा छिन् ।

जितपुरसिमरा उपमहानगरकै रामनगरबाट बिहे गरेर यहाँ आएकी उनी निरक्षर हुन् । नेपाली भाषा पनि थोरै बुझ्ने उनी नेपाली प्रश्नको जवाफ चैँ फर्काउन सक्छिन् ।

उनका श्रीमान जयप्रकास माझी दिनभरी काममा जान्छन र बेलुका मात्र फर्किर्न्छन् । दैनिक खोलामा गिट्टी कुट्ने गरेका जयप्रकास बेलुका फर्किदा साँझको छाकका लागी सामलतामल बोकेर फर्किने गरेका छन् ।

अब जाडो सुरु भयो, सञ्जुले जाडोमा आफ्नो भन्दा सन्तानको पिरलो मानिरहेकी छिन् । दिनभरी श्रीमानले कमाएको ज्याला छाक मात्रै पुग्छ, जाडोका न्यानो कपडा कहाँबाट किन्ने उनको चिन्ता छ ।

जाडोमा न्यानो कपडाको आशा

पुस महिना सुरु भएदेखि यहाँ जाडो हृवात्तै बढ्यो र हिँजोबाट त झन घाम लागेको छैन । रातभरी ४ महिने छोरी च्यापेर आफ्नै शरिरको तापले बिहान बनाउने सञ्जुलाई आफ्ना र बच्चाका लागि न्यानो कपडा आवश्यक छ ।

तीन बर्षअघि सिमराको बिवेकशील नेपाली समूहले सडकमा पुराना कपडा संकलन गरेर बितरण गर्न जाँदा उनले पाएको एक सरो कपडा देखाउँदै भनिन् , ‘जब जाडो सुरु हुन्छ, न्यानो कपडा दिने कोही गाउँ छिर्छन कि भन्ने आश लाग्छ ।’

जंगल क्षेत्रको एैलानी जग्गामा बर्षौदेखी जीवन बिताउँदै आएका उनीहरुले अझसम्म बिजुली बाल्न पाएका छैनन् । रातमा मधुरो मैनबत्ती र टुकीको साहारामा गुजारा गर्ने उनीहरुले चुनाबका बेला भोट माग्न जाने नेतासँग बिजुली र बाटो मागेका छन् ।

थुप्रैैपटक मतदानमा सहभागी भएका उनीहरु गाउँमा कोही नयाँ मान्छे आउने बित्तिकै खुशी हुँदै भेला हुन्छन् ।

मुसहर बस्तीमै भेटिएकी ८ बषिर्या नन्दनी माझी कक्षा २ मा पढ्छिन् । दिनभरी कमाउन जाने उनका बुबा आमाले कहिलेकाँही भाइ बहिनीको हेरचाह गर्न उनलाई स्कुल नपठाई घरमै राख्ने गरेका छन् ।

तर, जाडोमा भने नन्दनी न्यानो कपडा नभएका कारण पनी बिद्यालय जाँदिनन् । जाडो छल्न मुसहर बस्तीका अधिकांश बालबालिकालाई बाबुआमाले ले स्कुल पठाउँदैनन् ।

जाडोमा बिशेषगरी उनीहरु आँगनमा आगो बालेर दिनभरी ताप्छन् । बस्तीमा जाडोको लागी प्राय घरहरुमा सिरक र डसना छैन । परालको ओछयानमा गुन्द्रीको ओडनेले निन्द्रा नलागे आगोको घुर तोपेर रात बिताउँने परिपाटी उनीहरुको पुरानै हो ।

जाडोले ३ महिने छोरो गुमाएकी लालमती

मुसहर वस्तीलाई खासगरी हुर्किंदै गरेका केटाकेटीको जाडोको बर्षैपिच्छे चुनौती हुन्छ । प्रायः घरमा ४ देखि ८ सम्म एक बाबुआमाको सन्तान छन् ।

६ बर्ष अघिको पुसमा ३ महिने छोरो गुमाएको सम्झँदै लालमती माझीले भोजपुरीमा सुनाइन् , ‘धेरैजसो घरमा ओड्ने ओछयाउने छैन, यो बर्षपनि जाडो निकै बढयो भने गाउँका कोही न कोही बच्चा मर्छन् । ‘

निमोनियाको उपचार नपाएर छोरोको ज्यान गुमाउनुपरेको दुखेशो पोख्दै उनले मुसहर बस्तीमा जाडो कहिले नआओस जस्तो लाग्ने बताइन् ।

जाडो छल्न मदिरा

मुसहरबस्तीमा प्राय मजदुरी गर्ने पुरुषहरु घरमै परिवारसँग बसेर रक्सी पिउने गर्छन । दिनभरी काममा थाकेको उनीहरु बेलुका जाडो र भोक दुबै मार्न रक्सी पिएर निदाउने गरेको यस बस्ती धेरै उदाहरणहरु छन् ।

अरुदिन बिहानै काममा जाने गरेका रमेश कुश्वार सामान्य अस्वस्थ्यताका आज घरमै घाम तापेर बसिरहेका छन् । उनले आज आफ्नी श्रीमतीलाई काममा पठाएको सुनाउँदै भने , ‘घरको एकजना काम नगए बेलुका के खाने ? खुट्टा बिमारी भएर आज काममा जान सकिन । ‘

उनी बिहानैदेखि हृवास्स गन्हाउने भएका रहेछन् । उनले कहिलेकाहीँका लागि भनेर घरमै रक्सी सञ्चय गरी राखेका छन् ।

बेलुकाको लागी सधैँ रक्सि चाहिने बताउँदै रमेश भन्छन् , ‘नत्र जाडोमा रात बिताउनै मुस्किल पर्छ । यो खाएपछि न्यानो हुन्छ, निन्द्रा पनि लाग्छ, ओढने पनि चाहिदैन ।’

उनले आफु र श्रीमती बाहेक छोराछोरीलाई भने सामान्य घरमै पुराना लुगा र गहुँको भुस मिलाएर ओडने बनाइदिएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment