Comments Add Comment

रामघाटका मजदुरले नेतालाई भोट हालेनन् !

भन्छन्- जतिपटक मत हाले पनि हाम्रा लागि केही भएन


३ पुस, पोखरा । लक्ष्मीमायाको शाहीको थुन्से भरियो । बेल्चा फालिन् अनि थचक्क गेगरमै बसिन् । दाहिने हातले निधारका पसिना पुछेर छट्कारिन् र खुइय्य गरिन् ।

घाम अग्लिएर उनको ठीक थाप्लैमाथि आइपुगेको छ । चालेर उकासेको बालुवाको थुप्रोनेरै उभिएका छन्, सानो छोरा शाहिल । उनैलाई पुर्लुक्क हेरिन् र पानीको बोतलतिर इशारा गरिन् । घटघट पानी पिएपछि अर्को पल्ट सुस्केरा काडिन् र भनिन्, ‘दुःखीलाई कहिल्यै सुख आएन ।’

बजारमा चुनावको मैजारो हुँदै गर्दा पृथ्वी राजमार्गनजिकैको रामघाटमा कुनै उत्साह र रौनक थिएन । एकाबिहानै रामघाटमा खाजा बोकेर श्रमिकहरु पुग्छन् अनि शुरु हुन्छ उनीहरुको दैनिकी । प्रायः सपरिवारै रामघाटमै आश्रति छन् त केहीका श्रीमान् अरबतिर छन् । केहीका श्रीमान् त्यहीं ढुंगा, गिटी बोक्ने गाडी चलाउँछन् ।

केही युवायुवती खर्चको जोहो गर्न गिटी कुट्नेदेखि बालुवा बोक्नेसम्म काम गर्छन् ।

भोट हाल्न जानु भएन त ? प्रश्नको उत्तर अनुहारका रेखाहरु हुँदै बल्ल मुखबाट निस्कियो, ‘गइएन यसपालि भोट हाल्न पनि ।’ उनलाई भोट दिने/नदिनेमा कुनै चाख थिएन, शायद । चासो त उनलाई साँझबिहान खाने रोटीको मात्र छ ।

भोट दिनु त तपाईंहरुको अधिकार पो हो त ? ‘अस्ति बैशाखाँ त गा’कै हो । तीन दिन घरतिरै बसियो । आम्दा बिमार परियो । त्यसले अरु तीन दिन गारो भो,’ लक्ष्मीमायाले एकै सासमा पीडा पोखिन् ।

आफैं थपिन् अरु दुःखका गिटीहरु, ‘पाँच वर्षको शाहिल पानी दिन सक्छ, पाँच महिनाको अर्काे बच्चा पेटमा छ, श्रीमान् गाडी चलाउँछन् । कसरी जानु भोट हाल्न । ह्या, जसलाई भोट हालेनि हामीलाई दुःखको दुःखै हो ।’


लक्ष्मीमायाजस्तै पाँच सय जनाभन्दा बढी रामघाटमा छन्, उनीहरुमध्ये अधिकांशले भोट हालेनन्, यसपालि । उत्तरतिर उभिएको माछापुच्छ्रेभन्दा होचो छैन, शायद लक्ष्मीमायाहरुको दुःख । सेतीमा पानी कति बह्यो हिसाबकिताब छैन, जस्तो लक्ष्मीमायाहरुको दुःखको हिसाबकिताब छैन ।

तनहुँकी सुमित्रा नेपाली जालीमा बालुवा हुर्‍याउँदै छिन् । उनलाई बालुवा बोक्नेलाई घाट पुर्‍याउनै हतारो छ । उनलाई चुनावले छोएन, छोयो त आफ्नै भोक मेट्ने धाउन्नले ।

‘जान आउन खर्च मात्रै । यहीँ काम गरेर कम्तिमा गोडादुई हजार त हात पर्‍यो,’ सुमित्रा भन्छिन्, ‘जसलाई भोट दिए पनि यस्तै रहेछ । भोट हालेर नेतालाई फाइदा होला, हाम्लाई त यतै फाइदा भयो ।’

भोट हाल्नुपर्छ है भनेर सिकाउन न कुनै उम्मेदवारले रामघाटको बगर टेक्यो, न त भोट माग्ने कुनै नेताको मान्छे नै पुग्यो । मतदाता शिक्षा दिन हिँडेको सरकारी टोलीको नजरमा उनीहरु श्रमिकमा मात्र दरिए ।

          नेतालाई सुख दिन किन भोट हाल्ने भनेर हामीले त हालेनम्

‘हामीलाई कसैले देखेन । सेती नदीको खोंचमा भएर पो हो कि,’ सरिता कँडेल हाँसिन्, ‘हुन त, हामी गरिब कसको नजरमा पो पर्छौं र सर ?’

एउटा ट्रक भरिँदा जम्माजम्मी पाँच हजार आउँछ । त्यसबाट दुई हजार ठेकेदारले राख्छ । बालुवा बोक्नेलाई १२ सयदेखि दुई हजारसम्म दिएपछि बाँकी बालुवा चाल्नेको कमाइ हो ।

‘कमाइ त राम्रै हुन्छ तर सधैँ गर्न सकिँदैन,’ सरिताले थपिन्, ‘ह्या, मान्छेलाई छोराछोरी कसरी पढाउने, घर गुजारा कसरी चलाउने भन्ने चिन्ता छ, को पो जाओस् भोट हाल्न, गइएन ।’

राम्रो नीति बनाउन, भोलिका सन्ततिकै लागि भए पनि भोट हाल्नुपर्छ भन्ने कसैले सिकाएनन् लक्ष्मीमाया, सरिताहरुलाई । ‘चुनावमा त यस्तो गर्छु, उस्तो गर्छु भन्छन्, जितेपछि बिर्सिन्छन्,’ अशोक श्रेष्ठ आक्रोशित हुन्छन्, ‘नेता पनि गतिलो कोही छैन । अनि, हामीलाई बालुवा नबोकी हुन्न ।’

२०४५ साल अघिदेखि रामघाटमा बालुवा चाल्दै आएका छन्, डिलबहादुर गुरुङ । उनी नेताहरुले अघिल्लो चुनावमा बाटो बनाइदिन्छु भनेर ढाँटेकाले अहिले भोट नहालेको बताउँछन् । रामघाटको बालुवा निकाल्ने ठाउँमा र शव लैजाने तीन वटा बाटोको सारै खाँचो रहेछ, उनीहरुलाई । बाटो न ठेकेदारले बनाइदिएको छ, न त टेन्डर दिएको साविकको जिविसले नै ।

डिलबहादुर भन्छन्, ‘हामी गोरु जोतिएझैं जोतिएका छौं । सा’बहरु पजेरोमा सरर गुड्नुभा’छ । यही हो हजुर फरक ।’

हिउँदमा नदी सानो भएपछि उनीहरुको आम्दानीको मुख्य स्रोत बन्छ, रामघाट । मजदुरले बाँसका अस्थायी पुल-पुलेसा बनाउँछन् । आफूहरुलाई काम गर्न सहज हुने अस्थायी संरचना आफैं तयार पार्छन् ।

रामघाटमा फिताले नापेरै भागबन्डा लगाएर गिटी निकालिन्छ, बालुवा चालिन्छ । पहिले कसले कहाँबाट निकाल्ने भन्ने विषयमै धेरै झगडा हुन्थ्यो । फिता नापेर भागबन्डा लगाउन थालेपछि अहिले उनीहरुलाई हाइसञ्चो छ ।

२५ हजारको ठेक्का दुई करोडको भयो तर मजदुरका लागि सरकारले केही गरेन

‘पहिले त कसले कहाँबाट निकाल्ने, कति निकाल्ने भन्ने विषयमा धेरै झगडा हुन्थ्यो,’ सुमित्राले भनिन्, ‘अहिले त बाउकै अंश लाएझैं भाग लाउने हो । जसले जति सक्छ उति कमाउने हो ।’

१९ वर्षअघि २५ हजार रुपैयाँमा लगाइने टेन्डर अहिले दुई करोडको भएको छ । ‘दुई करोडमा टेन्डर परेको छ, त्यो सबै पैसा हामीले तिर्ने त हो नि,’ डिलबहादुरले भने, ‘हामी मजदुरका लागि सरकारले केही गरेको छैन ।’

बिहान चारदेखि साँझ पाँच बजेसम्म उनीहरु घाटमै बालुवा खोसि्रन्छन् ।


बालुवा चाल्दै गरेकी कृष्णमाया खड्काले कहिल्यै आफूहरुको दुःख नगएको बताइन् । ‘हामीले दिएको भोटले हाम्रो दुःख गए पो ? ल हामीले सुख त पाएनम् रे, विकास पनि केही गरेनन्,’ कृष्णमायाको दुःखेसो छ, ‘भोट हालेर नेतालाई सुख दिन किन भोट हाल्ने भनेर हामीले त हालेनम् ।’

नेपालमा ‘नो भोट’ प्रणाली लागू हुन राजनीतिक दलले नेताले दिएनन् । तर, उनीहरुले भोट नहाले पनि कसै न कसैले जितिहाल्छ, त्यसैले राम्रो मान्छे मानेर मत खसाल्नुपर्छ भन्ने कुरा बुझाउन उम्मेदवार, नेता र कार्यकर्ता चुके, यसपटक पनि ।

नेताले सधैं विकास गर्छौं, हेर्छौं भन्ने तर जितेको भोलिपल्टदेखि वास्ता नै नगर्ने श्रमिकहरु बताउँछन् । चम्पा लामाले सेती घाटमै बालुबा चाल्न थालेको २७ वर्ष भयो । यसबीचमा उनले ४ पटक भोट हालिन् । ‘जतिपटक भोट हाले’ नि हाम्लाई केही भएन,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment