Comments Add Comment

अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ?

हिमाल र पहाडमा निराशाजनक मत,जनजाति नेता सबै पराजित

३ पुस,काठमाडौं । संघीय समाजवादी फोरमले देशभर ४ लाख ७० हजार मत पाउँदा आदिवासी जनजाति बाहुल्य पहाडी जिल्लाबाट भने निराशाजनक मत हात पारेको छ ।

पहाडका जिल्लाबाट सो पार्टीले समानुपातिकतर्फ ३० हजार मत पनि कटाउन सकेन । यसमा झापाको मत समेत जोडिएको छ ।

पहाडमा संगठन र जनमत बिस्तारका लागि अशोक राईको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेका उपेन्द्र यादवलाई अशोक समूहसँगको एकीकरणले केही मत थपे पनि अपेक्षित सफलता भने हात लागेन । एमालेबाट फुटे लगत्तै अशोक राईको पार्टीले देशभर १ लाख २० हजार मत पाएको थियो ।

५ वर्षअघि जातीय पहिचानको एजेण्डा नमिलेर एमालेबाट बाहिरिएका अशोक राई,राजेन्द्र श्रेष्ठ,रकम चेम्जोङ,अजम्बर काङमाङ,आङकाजी शेर्पा जस्ता नेताहरुको प्रभाव मध्य र पूर्वी पहाडका जिल्लाहरुमा यसपटक पनि देखिएन ।

२०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष नजिते पनि समानुपातिकमा ५ सिट पाएको संघीय समाजवादी यसबीचमा मधेशी जनअधिकार फोरमसँग मिलेर सँंघीय फोरम बनेको छ ।

संघीय फोरमले पहाडबाट यसपटक पनि प्रत्यक्षतर्फ एक सिट जित्न सकेन । प्रतिनिधिसभामा अशोक राई स्वयं कांग्रेसको समर्थनमा सुनसरी १ मा उम्मेदवार थिए । तर उनी विपक्षी एमालेका जयकुमार राईसँग २२ हजार भन्दा बढी मतान्तरमा पराजित भए ।

त्यस्तै उपमहासचिव अजम्बर काङमाङमा भोजपुर १ बाट प्रदेशसभाको उम्मेदवार थिए । नेपाली कांग्रेसको समर्थन पाएका काङमाङ एमालेका राजेन्द्रकुमार राईसँग ८ हजार मतान्तरमा पराजित भए ।

त्यस्तै धनकुटा २ बाट प्रदेशसभा उम्मेदवार बनेका फोरम नेता अर्जुन थापा पनि एमालेका इन्द्रमणी पराजुलीसँग करिब तेब्बर मतान्तरले पराजित भए । उनलाई राप्रपा र कांग्रेसको समर्थन थियो । त्यसो त संघीय समाजवादीले स्थानीय तह चुनावमा पनि पहाडका जिल्लामा चुनाव जित्न सकेको थिएन ।

कुन नेताको जिल्लामा कति मत ?

पहाडका आदिवासी जनजाति समुदायमा पार्टीको प्रभाव देखाउन नसकेपछि समानुपातिक उम्मेदवारको अग्रपंक्तिमा रहेका फोरम नेता राजेन्द्र श्रेष्ठलाई सांसद नबनाउन पार्टीभित्रै उपेन्द्र यादवमाथि मधेशी नेताहरुले दबाब दिएका छन् ।

हुन त फोरमले समानुपातिकबाट पाएका सबै सिटमा महिला पठाउनुपर्ने देखिन्छ । राजेन्द्र श्रेष्ठ समानुपातिकबाट सांसद हुनकै लागि प्रत्यक्ष चुनाव लड्न मानेका थिएनन् । उनले चुनाव लड्न मानेको भए कांग्रेसले काठमाडौंमा फोरमलाई एक सिट छाड्ने भनेका थियो ।

राजेन्द्र श्रेष्ठको जिल्ला काठमाडौंबाट फोरमले समानुपातिकमा जम्मा ३ हजार ७ मत पाएको छ । त्यस्तै अशोक राईको जिल्ला खोटाङबाट २ हजार ४ सय मत समानुपातिकमा प्राप्त गरेको छ ।

अजम्बर राईले प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा ११ हजार मत पाएको भोजपुरमा जिल्लाभर फोरमले समानुपातिकमा जम्मा २६ सय मत पाएको छ । त्यस्तै रकम चेम्जोङको जिल्ला धनकुटामा समानुपातिकतर्फ संघीय समाजवादी फोरमले २५ सय मत पाएको छ ।

आङकाजी शेर्पाको जिल्ला सोलुखुम्बुमा सो पार्टीले जम्मा ३८१ मत पाएको छ । शेर्पा पनि समानुपातिक सूचीमा छन् ।

मुस्ताङमा १ भोट,मनाङमा २

पहाडी जिल्लामध्ये संघीय समाजवादीले इलामबाट ३३ मत पाएको छ भने ताप्लेजुङबाट ५२० मत पाएको छ ।

त्यस्तै पाँचथरबाट २३८३ मत पाएको छ भने ओखलढुंगाबाट ६६२ र रामेछापबाट ३१६ मत प्राप्त गरेको छ । संखुवासभामा ८१८ मत पाएको संघीय समाजवादी फोरमले अर्को जनजाति बाहुल्य दोलखाबाट २१२ मत पाएको छ ।

सिन्धुपाल्चोकबाट ९६१ मत पाएको सो पार्टीले काभ्रेबाट ४९१ मत पाएको छ । संघीय समाजवादी फोरमले आदिवासी जनजातिको मात्र बसोबास रहेका जिल्लामध्ये समानुपातिकबाट मनाङमा २ र मुस्ताङमा एक मत पाएको छ ।

हिमाली जिल्लामा संघीय समाजवादीले उपस्थिति जनाउन नसकेको समानुपातिकको मतपरिणामले देखाएको छ । आदिवासी जनजाति आन्दोलनका अगुवा र हेबिवेट नेताहरु हुँदा पनि पहाड तथा हिमालमा संघीय समाजवादीले सो समुदायका मत आकषिर्त गर्न नसकेको नेताहरुले स्वीकार गरेका छन् ।

हिजो जातिवादी भने,आज मधेशवादीः शेर्पा

संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले भने पहाडमा आफ्नो मत नघटेको दावी गरे । तर, पहाडका आदिवासी जनजातिमा फोरम भनेपछि मधेशी पार्टी भन्ने भ्रम परेकाले अपेक्षित मत ल्याउन नसकिएको उनले बताए ।

शेर्पाले भने-पहिलो चुनावमा हामीलाई जातिवादी पार्टी भनियो,बाहुन क्षेत्री विरोधीका रुपमा स्थापित गरियो । अहिले मधेशवादी पार्टी भन्ने भ्रम परेकाले पहाडका आदिवासी जनजातिको अपेक्षित मत पाइएन । तर, अब २ नम्बर प्रदेशमा हामीले चलाउने सरकारले त्यसको जवाफ दिनेछ ।

फोरमका मधेशी नेताले भने पहाडमा अशोक राई समूहको प्रभाव कमजोर देखिएको बताए । उनले भने-पार्टी एकताबाट राजेन्द्र श्रेष्ठजीहरुलाई त सांसद बन्न फाइदै होला तर समग्रमा पार्टीलाई एउटा सांसदको पनि योगदान भएको देखिएन । पहाडका आदिवासी जनजाति एमालेको भ्रमबाट मुक्त हुन सकेका रहेछनछन् ।

तर पनि पार्टीलाई राष्ट्रिय आकार ग्रहण गर्न अशोक राईसँगको एकीकरणले सहज भएको उनले बताए । ‘आज उपेन्द्र यादव रामेछापदेखि कास्कीसम्म गएर भाषण गर्न सक्छन्,यसको आधार भनेको अशोक राईहरुसँगको एकीकरणनै हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment