Comments Add Comment

कुलेखानीमा छैन चिन्ता, गत वर्षभन्दा बढी पानी सञ्चित

तनावमुक्त देखिन्छन्, विद्युत प्राधिकरणका अधिकारीहरु

कुलेखानी । फाइल तस्वीर

७ पुस, काठमाडौं । गत साउनमा कुलेखानी जलाशय आसपासमा पानी नपर्दा विद्युत प्राधिकरणका पदाधिकारीको तनावको पारो ह्वात्तै चढेको थियो । त्यतिबेला जलाशयको सतह गत वर्षको तुलनामा कम थियो ।

अहिले भने प्राधिकरणका अधिकारीहरु निश्चिन्त देखिएका छन् । कारण, पानीको सतह अहिले १५ सय २४ मिटरमा छ । गत वर्ष एक मिटर तलै थियो ।

पानीको सञ्चिति बढ्नुको कारण हो, अहिलेसम्म कुलेखानी आयोजनाको प्रयोग गर्न आवश्यक नपर्नु ।

उक्त आयोजना सुख्खायाममा लागि ‘ब्याक अप’का रुपमा राखिने गरेको छ । कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवका अनुसार अहिले प्राधिकरणले विद्युत नपुग भएको अवस्थामा मात्रै उत्पादन गर्ने गरेको छ ।

प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्ने गर्छ । आपतका बेलामा सञ्चालन गर्न सकिने ‘रिजर्भवायर प्लान्ट’ प्राधिकरणसँग यो एक मात्र उपलब्ध छ ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ

पानीको सतह कम भएका कारण गत साउनमा तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सकभर आयोजना सञ्चालन नगर्न निर्देशन दिएका थिए । १ साउनदेखि डेढ घण्टासम्म कुलेखानी सञ्चालनमा आउने गरेको थियो ।

कुलेखानी प्रथमका प्रमुख यादवका अनुसार त्यसयता उक्त आयोजना प्रयोगमा कमै आयो । ‘कहिलेकाहीं एकदेखि डेढ घण्टासम्म चलाउने गरेका छौं, पुसको अन्तिमदेखि मात्रै सञ्चालनमा ल्याउने गरिन्छ,’ उनले भने ।

सुख्खायाममा ‘पिक आवर’मा विद्युत उत्पादन गरिने भएकाले यस आयोजनालाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

‘गत वर्षको तुलनामा पानी अझ बढी छ । यसलाई अहिले सञ्चालन गर्नुपर्ने स्थिति छैन, त्यसैले बचाएर राखेका छौं,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन् ।

देशका अधिकांश जलविद्युत आयोजना ‘रन अफ दी रिभर’मा आधारित छन् । कुलेखानीपछि अहिलेसम्म कुनै जलाशययुक्त आयोजनाको निर्माण हुन सकेको छैन । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना वर्षौंदेखि विवादमा रुमल्लिएको छ ।

सोही कारण सुख्खायाममा नदीमा पानीको सतह कम हुनासाथ विद्युत उत्पादन ह्वात्तै तल झर्ने गरेको छ । भारतबाट आयातीत बिजुलीबाट उपभोक्ताको माग धान्नुपर्ने अवस्था सोही कारण उत्पन्न भएको हो ।

प्राधिकरण र निजी क्षेत्रको गरी अहिले नौ सय ५६ मेगावाट स्वदेशी उत्पादन छ । ९२ मेगावाटको कुलेखानी सुख्खायामबाहेक प्रयोग गरिँदैन ।

नदीहरुमा पानीको सतह घटेकै कारण अहिले पाँच सय ९२ मेगावाट मात्र उत्पादन छ । माग भने १२ सय ८० मेगावाट छ । माग र आपूर्तिबीच ठूलो ‘ग्याप’ रहँदा उपभोक्ताको घरमा बिजुली बाल्ने उद्देश्यले कुलेखानीलाई ‘रिजर्भवायर’का रुपमा सञ्चित राख्ने गरिएको हो ।

कुलेखानीको जलाशयबाट प्राधिकरणले ६० र त्यहाँबाट बाहिरिने पानीबाट ३२ मेगावाट मेगावाट उत्पादन गर्छ । विद्युतको उच्च माग हुने साँझ पाँचदेखि राति आठ बजेसम्म ती आयोजना सञ्चालन हुने गर्छन्, सुख्खायाममा ।

कुलेखानी दोस्रोबाट बाहिरिने पानीबाट पनि विद्युत उत्पादन गर्न कुलेखानी तेस्रो निर्माणाधीन छ । ठेकेदार कम्पनीको बदमासीका कारण हालसम्म उक्त आयोजनाको निर्माण सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment