Comments Add Comment

अब पशुपतिनाथ मन्दिर क्षेत्रमा सवारीलाई नो इन्ट्री, हेर्नुस् ७ तस्वीर

११ पुस, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ ।

यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भने, ‘श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि सवारी साधन निषेध आवश्यक देखियो ।’

यसअघि पशुपतिनाथ मन्दिरको पश्चिम र दक्षिण ढोका अगाडि रहेको सडकमा गाडीहरु गुड्थे ।

यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठ्यारो हुने गरेको थियो । डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’

शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पास

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपतिनाथ मन्दिरको कोर क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।

पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ । ‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

बनकाली र उमाकुण्डमा पार्किङ

मंगलबारबाटै पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । पार्किङका लागि वनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।

ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट वनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।

फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment