Comments Add Comment

कथाः सायोनारा, मेरी गुमनाम बहिनी

जापानमा बिहानदेखिको झरीले जनवरीको जाडो झन कठयांगि्रदैछ । आज आइतबार बल्ल हप्ता दिनको फुर्सद आठ बजिसकेको छ । तर, आलस्यले उठ्न दिँदैन । अनिँदोमा झयालबाट हेरें । मनमनै गमें । सडक सुनसान छ । एकाध गाडी हुइकिएका देख्छु, साइकलका यात्री छैनन् सडकमा । पक्कै आज पानी परेको कारण हप्ते विदाको कार्यक्रम घर तिरै मनाउने भएछन् निहोन्जीन (जापानी) हरुले ।

हिसाइ मिएकेनको सानो शहर । सम्भवतः जापानको प्रमुख औद्योगिक शहरमध्य एक सानो शहर । जहाँ हजारौं गाईजीन -जापानीहरुको भाषामा विदेशी) हरु लाखौं सपना बोकेर खाईसामा (कारखाना) दिनरात पसीना बगाउँछन् ।

आफ्नो देशमा अधुरिएका सपनाहरु पूरा गर्न आउने आशावादीहरुको कर्मथलो जापान । तर, सपना पूरा गर्ने लक्ष पैसा र स्वतन्त्रतताको दुरुपयोगका कारण धरमरिएका दुःखद घटनाहरु प्नि थुप्रै छन् जापानमा । सोच र लक्षप्रतिको अडान नै त हो जीवनको सार । कोही कमाउँछन्, कोही भएका सारा गुमाउँछन् । त्यस्तै त्यस्तै कथा र व्यथाहरुको जमातले रुमल्लिएको देश हो जापान ।

हत्तेरी, के सेन्टी भई’रा होला म पनि ।

आफ्नो भावुकताप्रति दिक्क लाग्यो । शायद झयालबाट छिरेको सिरेटोको झट्काले सिरिङ्ग पारेको हुनुपर्छ । म झस्किएँ र सिरक तानेर मुख छोपें । आफ्नै श्वासको बाफले उकुस-मुकुस भयो ।

श्वास फेर्न सिरकबाट टाउको के निकालेकी थिएँ, मञ्जिता ङिच्च अनुहार पार्दै कोठाभित्र छिरी ।

दिदी ओहायो कति सुत्नुभा ? आज भेना आउने होइन र ? एकै सासमा लामो प्रश्न गरी । अँ हो, मैले छोटो उत्तर दिएँ ।

किन किन मलाई उसले भेना भनेको मन कहिले परेन । लाग्छ दाइ भनिदेओस । तर आफनो मन कहिल्यै खोलिनँ । किनकि दाइ शब्दको मर्म बुझ्नेको जमात कम छ यहां । दाइहरुमा र बहिनीहरुमा पनि ।

ओच्या खाने ? भन्दै म उठें, उसले स्वीकृतिमा टाउको हल्ल्ााई । केतलीमा पानी बसाएँ, पानी उम्लेको गुररर आवाजसँगै मोबाईलको घण्टी बज्यो । जानु आज म नआउने है, आज ताईफु आउँदै छ रे, जेआर र केन्टेच्यु दुबै लाईन बन्द रे । डन्ट वरी डिएर, भोलि साँझ बस्ने गरी आउँछु’ लगत्तै फोन पनि काटियो मन खंग्रङ्ग भो ।

हप्तामा बल्ल एक दिन भेट हुने मौका, त्यो पनि ताईफुले उडायो । मेरो मलीन अनुहार पढ्दै मञ्जिताले भनी हा दी… भेना भोलि आइहाल्छ नि,।।ही ही अनि त…. मलाई उसले छिल्लिएको मन परेन । उनको छिल्याईलाई खासै महत्व नदिँदै भनेँ ट्रेन स्टेशन बन्द रे । अब तिमी कसरी निसियो पुग्छौ ?

कपालको केशलाई झटका मार्दै जवाफ दिई, हा…. बाल दिदी, बिहानै स्काईपमा कुरा भइसक्यो उ नागोयाबाट साथीको कारमा आउँंछ रे मलाई लिन । के गर्ने, यहांँ साँचोले दिँदैन बस्न, तपाईको पो लोग्ने त, ब्वाइफ्रेण्डलाई त बस्न नदिने रे …. आज नगए हुन्न र ? मलाई एक्लो महशुस भइरहेको थियो । मैले रोक्न खोज्दै भनें ।

हा दि नि कति सेन्टी भाको ?, म भोलि आइहाल्छु नि, अनि भेना नि आइहाल्छ,, आई प्रोमिस हृवेन, आई विल रिटर्न, आई विल प्रेजेण्ट विङग अ म्याक डोनाल्डा फर यु माई डिएर सिस उनी चम्किँदै बोलिन् ।

मन लाग्थ्यो उ नगई दिए हुन्थ्यो । मैले माथिदेखि तलसम्म हेरें उसलाई । भर्खरै मात्र बीस बर्षकी, मभन्दा १० वर्ष सानी । मंगोलियन अनुहारकी, सर्लक्क परेको जिउडाल, खाइलाग्दो छ । किशोरावस्थाको संघारमा पुगेकी । जीवनमा मीठो सपना बोकेकी हाली ।

हप्ताभर खाइसामा दुःख गर्छे । कमाइ खासै छैन । फेरि पनि नेपालमा जिम्मेवारी छ, नेपालमा थुप्रै । घर खर्च, ऋणका लागि पैसा । त्यसमाथि भाइबहिनीको बढ्दो माग । कहिले लुगा, कहिले निन्तेदो, कहिले ल्यापटप यस्तै यस्तै ।

कहिले दिक्क मान्छे, कहिले प्रफुल्ल हुँदै भन्छे दि आमालाई स्वेटर, राम्रो छ हगि ? आ.. सेलमा किनेको नि, गो हृयाकु येन पर्‍यो, सुगोई ना ? हाईँ म उसलाई खुसी पार्न जवाफ दिन्छु ।
यस्तै सुःख दुःखमा बितेको छ मञ्जिताको यौवन ।

अनि हप्ताभरको अथक परिश्रम र तनाव पश्चात बल्ल एक अँगालोमा समाहित हुने उसको ईच्छालाई किन रोकोस् उसले ? त्यसै पनि जापान यौनका लागि खुल्ला देश । त्यसमाथि विदेशीका गतिविधिमाथि नजर लगाउने समाज छैन । दालभातसरी आधारभूत आवश्यकता हो यौन जापानीहरुका लागि ।

शहरका मुख्य गौंडाहरुमा रहेका लब होटलहरुले खुल्ल्ाा यौन बजारको संकेत गर्छ । आफ्नो यौनेच्छा पूरा गर्न जापानीहरु स्वतन्त्र छन्, कसैलाई पनि लब होटल जान धक लाग्दैन । अनि यौन बजारमा गएकै कारण यहाँ कसैले लज्जित हुनुपर्दैन । न त पुलिसले रेड हान्ने डर ।

अचम्मलाग्दो छ यहाँको संस्कार र सामाजिक परिवेश । शायद त्यसैले पनि होला, यहाँ महिलामाथि कार्यालय वा सार्वजनिकस्थलमा यौन हिंसा गर्ने संस्कार छैन । आफूलाई कोही मन पर्‍यो भने निर्धक्क प्रस्ताव राख्छन् । नो भन्यो भने कथा सकियो ।

पिंपिंप ….मोटरको हर्नले फेरि झसङ्ग बनायो । मन नलागे पनि झयालबाट चिहाएँ । मञ्जिताको ब्वाई फे्रण्ड मोटरको झ्यालबाट हात निकाल्दै करायो ‘हायाकु हायाकु…..मञ्जी डार्लिंग, आनाता ओसोईँ …..’ चत्तोमाते चत्तोमातेू’भन्दै मञ्जिता दगुरी ।

हतारमै भए पनि फुल मेकअप पनि गर्न भ्याई । हातमा अलि ठूलो र एउटा सानो व्याग भिरेकी, क्वार्टर पेण्ट, लगभग नाईटो देखिने गुलाफी रंगको टिर्सट, त्यस्माथि लङ ओभरकोट तर टाँक खुल्लै । शायद जवानीको गर्मीले होला जाडो नलागेको ।

हातको ब्रासलेट र कानको झुम्कीलेे उसको अनुहार र व्यक्तित्व निकै आर्कषक बनाएको छ । फरर कपाल उडाउँदै उ, गाडीभित्र छिरी । गाडी हुँइकियो एउटा अनिश्चित गन्तव्यतिर भोलि बेलुकासम्मका लागि ।

***

मेरो मन कताकता फेरि उराठियो । यसो हेरें- टेबलको ओच्या चिसिएछ मेरो मनजस्तै । विस्तारै फोन उठाएँ र नेपालमा नानीहरुलाई फोन मिलाएँ । फोनको घण्टी बज्यो । उताबाट बाबाको आवाज गुञ्जियो । बाबा नानीहरु कता छन् ? कठै आमाको मन,….. बाबाको हालखबर नै नसोधी नानीहरुलाई पो खोजेछु । हैट …..। सम्हालिँदै सोधें, बाबा हजुरलाई कस्तो छ ? शुक्रबार होस्टेलबाट ल्याएको १५ दिनको जाडोको छुट्टी छ ..।

ल आयो उनीहरु… । फोन छोरीलाई दिनु भो । मम्मी मम्मी…… हृवाई डिड यु सेण्ड सो मेनी चकलेटस् ? डोण्ट सेण्ड अस सो मेनी चकलेटस् स्पेण्डिङ्ग लट अफ मनी, जस्ट यु कम ब्याक सेभिंग मनी…..।

बालसुलभ मनोविज्ञानभन्दा निकै परिपक्व सुझाव एकै सासमा पस्किइन् सानी छोरील,े मन ढक्क फुल्यो । आँखा किन हो, पग्लिएर बगे ।

छोराको पालो आयो । मम्मी, जे कामका लागि जानु भाको हो, त्यो सकेर मात्र आउनुस मम्, म छु नि यहांँ । म नानुलाई केयर गर्छु मम् ।….

अझै भक्कानियो मन् बग्दै गरेको आंसु पुछ्दै भने, राम्रो संग पढ्नु, केही कुराको चिन्ता नलिनु यस्तै यस्तै बात मारियो छोरासँग निकैबेर ।

नेपालको निकै माया लाग्दो रैछ परदेशी भूमिमा ।

कान्साई विमानस्थलमा अवतरण हुँदा जापानमा भर्खर्रै साकुराका बोटहरु क्रमशः पाउलिँदै थिए । सफा सुन्दर तर विरानो देश जापान मेरा लागि खासै रौनक बन्न सकेन कहिल्यै । र, मैले यहीँबाट महशुस गर्न सिकें राष्ट्रियता र राष्ट्रिप्रतिको माया के हो ?

परदेशी भूमिमा पहिचानविनाको दर्जाविहीन नागरिककोे हैसियतमा बाँच्नु पर्दा महसुसहुुँदो रैछ यी सब यर्थाथ । मन ढक्क फुल्छ र अनायास नयन भरिन्छन्, जब स्देशको सम्झना मानसपटलमा गहिरिएर आउँछ ।

जापान आएपछि धेरै कुरा देखें सिकें मैले । वास्तवमा देशको उन्नति नागरिकको त्याग, कर्तव्य र समपर्णमा दरिएको हुँदोरहेछ । न त राष्ट्रवाद कुनै एक पहिरनमा मात्रै परिभाषित र सीमित हुने गर्छ । हाम्रा अग्रज नेतृत्वले हामीलाई हामीबीच उच नीच र धनी गरीबका दर्जा दर्जा र पूर्जापूर्जामा विभाजित गरिदिए । कालान्तरमा सोही दर्जावालहरुको असन्तुष्टि जुर्मरायो र हामी समर्पण होइन, अधिकार खोज्नतिर लाग्यौं ।

हेर्छु, जापानीहरु अधिकार होइन, कतव्यतिर सर्मपित र केन्दि्रत छन् । राजनीतिमा विल्कुलै चासो छैन आम जनतालाई । संसदमा के बहस भइरहेछ , आगामी चुनावमा कोको उठ्दैछन् विल्कुलै मतलव छैन । बस् दिनभर खाइसामा काम गर्‍यो, सुपरमार्केट गयो, मार्केटिंग गर्‍यो, घर गयो अबुरो बस्यो, खाना खायो टीभी हेर्‍यो, सुत्यो । ज्यादा से ज्यादा भए जापानीहरु पाचीकोसम्म जान्छन् जुवा खेल्न ।

नेपालको दश वर्षे द्वन्द्वले धेरै कुरा गुमायो र धेरै कुरा पायो पनि । यो पाउने र गुमाउनेको वीचमा कताकता नेपालको सामाजिक आर्थिक लगायत थुप्रै थुप्रै क्षेत्रलाई थिल्थिलो बनायो ।
आन्तरिक द्वन्द्वबाट विस्थापित भएका र बनाइएका आम नेपालीका कथाहरु कता-कता ओझेलीमा परे कालान्तरमा । राज्य द्वन्द्व चकार्उन र द्वन्द्व सम्याउननमै केन्दि्रत बन्यो । यस द्वन्द्वले कति युवा विस्थापित भए, कतिका घरवार धरापमा परे, त्यसको आँकलन र चिन्ता गर्ने फुर्सद भएन राज्यलाई । द्वन्द्वको मारबाट भाग्ने कोसिसमा मञ्जिता जस्ता हजारौं किशोरीहरु अलपत्र परे परदेशी भूमिमा ।

कल्कलाउँदो र लाउँलाउँ खाउँखाउँ लाग्ने उमेरका मञ्जिताहरु प्ाराई भूमिमा श्रम र यौन शोषणको मारमा परेका छन् । आमाको काख र बाबाको सुरक्षाभन्दा पर कति मञ्जिताहरुका अस्मिता लुटिए होलान् ? अनि कति मञ्जिताहरुसँग लहसिएकै कारण स्वदेशी भुमिमा लोग्नेको प्रतिक्षामा अनेकन कष्ट सहँदै नानीबाबुहरुलाई सम्हाल्दै घर व्यवहार धानीरहेका होलान् श्रीमतीहरुले ? कतिले अनाहकमा श्रीमानहरुको खप्की र शंकाको दायरमा अधमरो बनेर बाँच्नु परेको होला ? यसको लगत छैन मेरो देशसँग ।

नेपालमा फरक पृष्ठभूमिका दुःख व्यहोरेर विदेश आएका नेपालीहरु छन् यहाँ । काम गर्ने जाँगर छ । निकै मेहनती र इमान्दार छन् नेपालीहरु । काम दिनको कम्तिमा १२ घण्टा गर्छन् । लालाबला र परिवारको प्रेमबाट टाढा छन् उनीहरु । त्यसैले यदाकदा मञ्जिताहरुसँग उधारो माया लाउने गर्छन् उनीहरु ।

उसो त श्रमको सम्मान गर्ने जापानीहरु निकै श्रद्धा गर्छन् विदेशीलाई । तर, फेरि पनि गाइजिन् -विदेशी) हुन् भन्ने भावना उनीहरुको रगतमा जमेर बसेको छ । यदाकदा काम बिग्रंदाँओमायो बाकाू शब्द प्रयोग गरी गाली गर्दा नेपालीहरुको मन दुख्ने गर्छ । तर विवशता छ । थुप्रै ऋणपान गरेर दुःख बेसाउन आएका नेपालीहरुको कथा कहिलेकाहीँ म सुन्ने गर्छु म । केही फरक छैन, सबैको जीवन उस्ताउस्तै छ । कथा उस्ताको उस्तै छ ।

यस्तै-यस्तै सोच्दासोच्दै रात परेछ । कतिबेला निदाएँ, पत्तै भएन ।

***

कामको चाप आज निकै बढेछ । त्यसमाथि मञ्जिता आज काममा नआउनाले मेरो भागमा अझै काम डब्लिएछ । भोलि अर्को कारखाना पुर्‍याउनुपर्ने काम गर्नै पर्ने बाध्यता ।

कहिले त मेसिनको तालमा काम गर्दा टाउको भन्न्ााउँछ । दिक्क लाग्ट । अनि सोच्छु यो महिनाको तलब थापेर नेपाल जान्छु । तर, हुन्थ्यो उल्टो । हरिया हरिया कहिले १७ मान कहिले २० मान पैसा तलब थाप्दा भने लाग्छ, होइन नेपाल गएर के हुन्छ ? मेहनत गर्छु यस्तै यस्तै ।
आज पनि मौसम खराब हुनाले खासै ट्रेन चलेन र हामी दुई बुढाबुढी भेट्ने रमाइलो दिनमा तगारो लाग्यो ।

छिन्द्रिङ्ग…साँचो खसेको आवाज आयो । पल्लो कोठातिर नजर लगाएँ । मञ्जिता आएकी रैछ । यसो मतिर पनि नहेरी खसेको साँचो उठाई र ढोका खोलेर भित्र पसी । यो पहिलोपल्ट होइन, उसको व्यबहार । खोई किन हो नरेशसँग रात बिताएर आएपछि अधिकांश दिनहरुमा ऊ दुखी बनेरै आएको मैले महसुस गरेकी छु ।

बिहान जाँदा उदाउँदो सूर्यझैं चम्केर जाने मञ्जिता भोलिपल्ट बेलुकी निचोरिएजस्ती देखिन्थी प्रायः । विचरी उधारो जीवनका लागि उधारो माया र उधारो विश्वासमा बाँचिरहेकी उसको अवस्था मलाई टीठ लाग्ने गर्छ ।

पुरुषको माया वासनाको रंग उत्रेसँगै स्खलित हुने गर्छ रे । तर, महिलाहरु नदीझै प्रेममा निरन्तर बगिरहने गर्छन रे ।

नरेश सुन्दर छ । राम्रो, खाइलाग्दो जिउडाल । बोलीमा अदभुत मादकता र आँखामा चमक । सुन्दर पहिरनमा देखिने उसमा जोकोही पनि सुन्दरीहरुलाई मोहित पार्ने आर्कषण छ । मञ्जिता त्यसैबाटे कायल छे शायद । नेपालमा एक छोरीसहित श्रीमतीका श्रीमान नरेश निर्धक्कसँग मञ्जितालाई माया गर्न भ्याउँछन् जापानमा ।

मायाका परिभाषाहरु खोतल्दा नरेश र मञ्जिताको मायाको त्यहाँ कुनै शाब्दिक अर्थ भेटिँदैन । मात्र क्षणिक शारीरिक चाहना पूरा गर्ने स्वार्थ मात्र । बस् ।

दुई दिनसम्म मञ्जिता अपार्टमा बसेर पनि काममा आइन । भित्र छिरेदेखि ढोका खोलिन उसले । म काममा नगएसम्म उ भित्रै बस्थी । शायद म नहुँदा सबैथोक गर्न भ्याउँदी हो ।

पटक-पटक मोवाईलमा सम्पर्क गर्न खोजें, लाइन काटी । कुनै शंकाले मनमा जरो गाड्यो । पक्कै नरेशसँग झगडा परेको हुनुपर्छ मेरो लख ।

पर्सिपल्ट साँझ बल्ल भान्छामा छिरी । कपाल नकोरेको र रुँदारुँदा आखाम आँशु सुकिसकेको … । अनुहार रंगविहीन । एक मान रुपैयाँ माग्दै भनी- दि.. म काम छोड्दै छु, अन्त काम पाउनेवित्तिकै तपाईको एकाउण्टमा हाल्दिन्छु…।

किन र ? के भयो ? मेरो प्रश्न ।

नरेशले उसकी बुढी नेपालबाट झिकायो, डोयोवीदेखि मेरो ठाउँमा उसकी बुढीलाई काम….। मलाई नरमाइलो लाग्यो । अरुको श्रीमानसँगको प्रेम…। स्खलित वासनासँगै स्खलित हुने कथित प्रेम । अनि स्खलित हुने प्रेमका मञ्चनकर्ता हरु । स्खलित पात्रका स्खलित प्रेमका कथाहरु ।

***

बिहान अलि ढीलो बिउझेँछु । नियमित नित्यकर्म सकेर पौने आठ बजे खाईसा पुग्नुपर्ने मलाई सवा सात बजिसकेछ । मेरो अर्लाम नराख्ने बानी नेपालदेखिकै हो । मलाई लाग्छ, अर्लामले हाम्रो प्राकृतिक दिनचर्यालाई क्रमशः कृत्रिम बनाउँदै लग्छ । हामी अर्लामका दास बन्छौं ।

अब भो… आफ्नो सिद्धान्तको फल मनमनै फत्फताउँदै उठें र हतार-हतार नित्यकर्म सकेर चिया पकाउन भान्छातिर छिरेें ।

ढोका र भ्यालसहितको ठूलो शिशाको ढोका खोल्न यसो हात लम्काएकी थिएँ, देख्छु ….बडो सुन्दर अक्षरमा एउटा कविता कोरिएको पाना टाँसेको रैछ । अक्षर चिन्न समय लागेन । मञ्जिताले कोरेको कविता थियो । तर, यो कसका लागि ?

हिजो मेरो राम्रो थियो,
फूलहरु फक्रिएका थिए ।
हो, बगैंचा सुन्दर थियो
तर ….
आज पराई भइदियो ।
नसोध्नु घाउ कहाँ दुख्यो,
बेलैमा खोजी भएन ।
तिमी मेरो थिएनौ,
मायाको पारो चढ्दा
निमेश, नरेश पत्तै भएन ।

***

हो खोजिनँ मैले मञ्जितालाई । किनकि यहाँ कसैले कसैलाई खोज्ने चलन छैन । जीवनदेखि हारेका र व्यवहारदेखि थाकेकाहरुका आ-आफनै व्यथा छन् सबैका । समस्या बोकेर घर परिवारको माया र आवश्यकता बोकेर आउने हामी नेपालीहरुलाई कसैको चासो गर्ने फुर्सद हुन्न ।

यहाँका मित्र र शत्रु दुवै शीतको थोपाजस्तै समय अन्तरालसँगै स्खलित हुने गर्छन् । प्रायजसो नाम पनि गुमनाम हुने गर्छ अरुको पासपोर्ट र भिसामा जापान छिर्नेहरुको ।

फेरि पनि मेरी वहिनी थिई मञ्जिता । उप्रतिको लगाव र माया मनबाट स्खलित हुने छैन । आँखाबाट नचाहँदै पनि दुई थोपा आँशु झरे .. ।

मसिनो स्वर फुक्त बग्यो-ँसायोनारा मेरी गुमनाम बहिनी… सायोनारा मञ्जिता सान आनाता ओसोई….. ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment