काठमाडौं । बसमा चढनुस् वा ट्याक्सीमा । कुनै बिहे भोजमा पुग्नुस् वा डान्स पार्टीमा । असनको भीडमा मिसिनुस् वा गाउँबेसीतिर उक्लिनुस् । एउटा चिरपरिचित धुन गुञ्जिरहेकै हुन्छ । त्यहाँ या त ‘कुटुमा कुटु’ गुञ्जिरहेको हुन्छ या त ‘ठमेल बजार’ घन्किइरहेको हुन्छ ।
कुनैबेला थियो, यस्ता जमघटहरुमा ‘मुन्नी बदनाम हुई’ या ‘शिलाकी जवानी’कै बोलवाला थियो । मानिसहरु ‘बेबीको बेस पसन्द है’को तालमा कम्मर मर्काउँथे ।
अचेल कुरा बेग्लै छ । पार्टीमा रमाउनेहरुलाई बिन्दास मुडमा नाच्नका लागि ‘सुर्के थैली’ या ‘नीर जैले रिसाउनी’ नभइहुन्न । नेपाली संगीतमा छाएको यो नयाँ क्रान्तिका दुई नायक हुन्, कालीप्रसाद बाँस्कोटा र राजनराज शिवाकोटी ।
‘पारि त्यो डाँडामा’बाट कालीप्रसाद बाँस्कोटा र ‘सुर्के थैली’बाट राजनराज सिवकोटी त्यही विन्दुमा उदाए, जतिबेला नेपाली समाज लामो गृहयुद्ध, जनआन्दोलन, राजनीतिक उथलपुथल, नाकाबन्दी, भूकम्पको विशृंखल चरण पार गरेर सुस्ताइरहेको थियो ।
निःसन्देह यतिबेला नेपाली समाजलाई रमाउने बहाना चाहिएको थियो । पीडाको बोझ बिसाएर छमछमी नाच्ने धुन चाहिएको थियो । त्यही रिक्तता पूर्ति गर्न आइपुगे, राजनराज र कालीप्रसाद ।
करिब एकै कालखण्डमा उनीहरु समानान्तर सांगीतिक दौडमा मिसिए । यो दौडमा कहिले राजनराजले उछिने, कहिले कालीप्रसादले । यद्यपि, उनीहरुले न आफ्नो ट्र्याक छाडे, न गति ।
औंला भाँचेर हिसाब गर्ने हो भने कालीप्रसादको जति गीत रुचाइएको छ, उति नै हाराहारीमा राजनराजको पनि । दुवैका आधा-आधा दर्जन गीतले बजार पिटेका छन् । राजनराज र कालीप्रसादको लोकप्रियताको ग्राफ पनि उस्तै रेखामा उकासिएको छ ।
दुवैमा यस्ता केही समानता छन् । दुवै फिल्मकै संगीत गरिरहेका छन् । दुवै डान्सिङ नम्बर प्रस्तुत गरिरहेका छन् । दुवै स्थानीय लय खोजिरहेका छन् । र, त्यसभन्दा खास्सा समानता भनेको दुवै संगीतका पूर्ण प्याकेज हुन् । अर्थात्, गीत लेख्ने, धुन भर्ने र गाउने पनि ।
एउटै लगाममा बाँधिएर रथ तानिरहेका घोडाहरु पनि समान रेखामा हुँदैनन् । कहिले एउटाको टापले फड्को मार्छ, कहिले अर्कोको । यसको अपवाद हुने कुरै भएन, कालीप्रसाद र राजनराज पनि ।
‘नेपाल आइडल’का निर्णायकमा कालीप्रसादलाई पत्याइयो । देशी-विदेशी मञ्चले पनि उनलाई खोज्छ । उनको डिम्पलवाला अनुहारले ‘सेलिब्रेटी’ फेम पाइसक्यो ।
यता, युट्युबले राजनराजलाई ‘करोड क्लबको किङ’ बनाएको छ । उनको गीतले युट्युबमा यस्तो रेकर्ड राखिरहेको छ, जुन आजसम्म कुनै नेपाली गीतले बनाएनन् ।
अब यी दुईमध्ये कसलाई अब्बल मान्ने ? को निख्खर ? को तिख्खर ? को स्वादिलो ? को बिकाउ ? को टिकाउ ?
राजनराजः एक कारखाना
‘सम्धीज्यु, सम्धीज्यु वार्ता गराइदेउ’ गाउने पनि राजनराज नै हुन् भनेर चिनाउँदा धेरै मानिस आश्चर्यले जिब्रो टोक्छन् । किनभने, यो गीत सुनेर वैंश गुजारेकाहरुले पनि त्यसबेला राजनराजलाई चिनेनन् ।
अनिल सिंहले गाएको ‘म माया गर्छु’, ‘रिसाए नि ठीकै’, अञ्जु पन्तको स्वरवद्ध ‘जिन्दगी यो फूलैफूलको’, प्रकाश तिमिल्सिनाले गाएको ‘पि्रय तिम्रो सिउँदोमा’, गीतमा कतै राजनराजको शब्द मिसियो, कतै संगीत । यी गीत युवापुस्ताको मुखमा झुण्डिए । तर, राजनराज चिनिएनन् ।
दर्जनौं गीतको थुप्रो लगाएका उनलाई चिनाउन भने एउटै गीत काफी भयो, ‘सुर्के थैली खै’ ।
यो गीतलाई दीपक-दीपाको फिल्म ‘वडा नम्बर-६’मा समावेश गरियो । गीत यति चल्यो कि त्यसले राजनराजलाई विश्राम गर्नै दिएन । उनी नित्य हारमोनियममा धुन खोज्न थाले । अन्ततः ‘पूर्व पश्चिम रेल’ हुँदै ‘कुटुमा कुटु’सम्म आइपुग्दा उनका हिट गीतको लामो शृंखला नै बनिसकेको छ ।
एकपछि अर्को गीतले संगीत-बजारको हिस्सा ओगट्दै जाँदा राजनराज हिट गीतका कारखानाजस्तै बन्न पुगे । यस्तो कारखाना, जहाँबाट एकमुष्ट शब्द, धुन, स्वर तयार हुन्छ । संगीतको पूर्ण प्याकेज ।
यस्तो पनि अवस्था देखियो, राजनराजकै गीतको टेकोमा फिल्मले पब्लिसिटी पाउन थाले । चाहे त्यो ‘वडा नम्बर-६’ को होस् वा ‘दुई रुपैयाँ’ नै । फिल्म प्रदर्शनअघि नै दर्शक/स्रोताले ‘सुर्के थैली’ र ‘कुटुमा कुटु’ सुने, रुचाए, गुनगुनाए । त्यसपछि सोधे, ‘यो गीत कुन फिल्ममा छ ?’
किन रुचाइयो त ?
यसका केही कारण छन् ।
पहिलो, यी गीत सजिलै जोकोही गुनगुनाउन सक्छ । स्वर माझिरहनु पर्दैन ।
एकपछि अर्को गीतले संगीत-बजारको हिस्सा ओगट्दै जाँदा राजनराज हिट गीतका कारखानाजस्तै बन्न पुगे । यस्तो कारखाना, जहाँबाट एकमुष्ट शब्द, धुन र स्वर तयार हुन्छ । संगीतको पूर्ण प्याकेज ।
दोस्रो, धुनमा नेपालीपन महशुस हुन्छ ।
तेस्रो, मौलिक शब्दावलीको बिछट्टै स्वाद छ । र, चौथो, गीत गुनगुनाउँदा वा सुन्दा, शरीरका अवयवहरु स्वतःस्फूर्त नाच्न थाल्छन् ।
सुर्के थैली’, कुरुस, झुम्के रुमाल, पिँडालु कोक्याउने, काकाकुल, बन्दकी, कोरीबाटी, लाली ओठैमा जस्ता रैथाने शब्दभण्डार छ, राजनराजसँग । अहिलेका पुस्ताले बिर्सिसकेका मौलिक शब्दावलीलाई कहींकतै घुसाइदिन्छन्, जसले उनीहरुको हठात् ध्यान खिच्नसक्छ ।
यी शब्दावलीसँग उनी यस्ता धुन खेलाउँछन्, जो जिब्रोमा रसाइहाल्छन् । शब्द र धुनको रसिलो कम्बिनेसनले नै हो, राजनराजका गीत सुनिरहुँ बनाएको ।
उनका ‘सुपरहिट’ गीतहरुको पत्र-पत्र केलाउने हो भने शब्दको सिलिसिला त्यति माझिएको वा गहन पाइँदैन । धुन एवं लय भने खास्सा छ । तोते बोली बोल्ने बच्चादेखि गिजा मात्र भएका बुढापाकाले पनि गुनगुनाइहाल्ने ।
कसरी गीत तयार गर्छन् ?
अनलाइनखबरसँग कुराकानीमा राजनराजले भनेका थिए, ‘कहिलेकाहीं झट्ट गीतको लय फुर्छ । कहिले शब्द फुर्छ । त्यसैलाई खेलाइरहने हो । त्यो विस्तारै माझिएर मीठो धुन बन्छ वा मीठो शब्द ।’
राजनराजलाई चिनाउने गीतहरु उनले बन्द कोठाभित्र कनीकुथी लेखेका होइनन् । स्वतःस्फूर्त फुरेका हुन् । कहिले यसै झ्यालमा बसेर टोलाइरहेको बेला, कहिले रुखको फेदमा बसेर सुस्ताइरहेका बेला ।
यसको मतलब के भने उनको मनमा हरदम संगीतको झंकार बजिरहन्छ । एकान्तमा पनि र भीडमा पनि । उनको अन्तरहृदयले लय र धुन खोजिरहेको हुन्छ ।
कालीप्रसादः मेलोडी रनर
‘लैजा रे’, ‘चाहना सकियो’जस्ता दर्जनौं गीत सिर्जना गरेर पनि कालीप्रसादले फुलटाइमर संगीतकार हुने हिम्मत जुटाएका थिएनन् । उनी कीर्तिपुरबाट बिहानै तिलगंगा आँखा अस्पतालमा जागिर खान आइपुग्थे । उनको गीत चलेको थियो तर जीवनको लय फेरिएको थिएन ।
तर, ‘पारि त्यो डाँडामा’ गीतले उनको जीवन-संगीतको धुन बदलिदियो । एक कान, दुई कान हुँदै गीतले काठमाडौं उपत्यकाको परिधि नाघेर पूर्व-पश्चिम मात्र तन्किएन, सात समुद्र पारिसम्म तरंग पैदा गर्यो ।
विदेशमा पढ्न बसेका र उतैको माटोमा हुर्किएकाहरु समेत यो गीतमा नाचे । भिडियो बनाए । युट्युबमा हाले । युट्युबमा कभर सङ, कभर भिडियो गर्नेको अचम्मलाग्दो लहर नै ल्यायो ।
यो गीतको सफलतापछि कालीप्रसाद भन्थे, ‘बल्ल म ट्रयाकमा आएँ ।’
त्यसअघि उनी कहींकतै बरालिएकाजस्ता थिए । ‘संगीत संयोजक’मा चित्त बुझाइरहेका थिए । अरुसँग बोल्न र खुल्न डराउने कालीप्रसाद काठमाडौं आएर चुपचाप जागिर खान्थे, र्फकन्थे । यही उपक्रम चलिरहँदा उनको मनमा नयाँ धुन तरंगित भयो ।
‘पिरतीको छाता’ले भने उनलाई यस्तो ओत दियो, जागिर छाडेरै उनी पूर्णकालीन संगीतमा होमिए । त्यसपछि नै हो, ‘निर जैले रिसाउनी’, ‘सुन साइँली’, ‘ठमेल बजार’ फुरेको ।
किन रुचाइयो ?
कालीप्रसाद साधनाको आलोकमा उभिएका संगीतकर्मी हुन् । उनी गीतलाई खिपेर तयार गर्छन् । त्यही कारण उनको गीत माझिएको हुन्छ । उनको गीत रुचाइनुमा केही कारण छन् ।
पहिलो, गीतमा क्याची शब्द चयन गरिन्छ, स्रोताको जिब्रो त्यसलाई टिपिहाल्न लालायित हुन्छ ।
व्यक्तिगत हिसाबले राजनराज एकदमै सरल, विनयी र मिलनसार छन् । उनमा कत्ति पनि दम्भ छैन । जबकि, कालीप्रसाद पहिलेभन्दा फरक बन्दै गएका छन् । उनको व्यक्तित्वमा ‘स्टारडम’ झल्किन थालेको छ ।
दोस्रो, रैथाने स्वादको धुन हुन्छ । आयातीत धुनको सम्मिश्रण नभएको अर्थात् ककटेलरहित ।
तेस्रो, मुखमा त्यसै-त्यसै झुण्डिरहने । स्वतःस्र्फूत ।
कसरी तयार गर्छन् ?
उनको विशेषता के भने कतै घुम्न जाँदा, बोलचाल गर्दा अरुको ‘भाषा र लवज’लाई टपक्क टिप्छन् । त्यसैमा धुन भरेर एक लाइन गीत तयार गर्छन् । जस्तो, ‘निर जैले रिसाउनी’, ‘परान चोखो पियार’, ‘ट्याउसी चढाउँदै’ । यही ‘हुकलाइन’लाई तन्काएर गीत तयार हुन्छ । उनको गीत ‘तिख्खर स्वादिलो’ हुनुको एउटा कारण यही हो ।
‘स्रोतालाई गीतमा अल्झाएर राख्नका लागि ठाउँ-ठाउँमा हुकलाइन दिनुपर्छ,’ कालीप्रसाद भन्छन्, ‘यो चट्नीजस्तै हो ।’
पश्चिमा हार्ड रक, ब्लुज, पपदेखि बलिउड संगीतको गहिरो रंग पोतिएर थुप्रै नेपाली धुन बनेका छन् । कालीप्रसादकै हकमा पनि यस्तो भएको छ ।
उनले चलचित्र मञ्जरी, भिसा गर्लमा बलिउड शैलीको संगीत गरे । तर, पछि रैथाने धुन खोज्न थाले । ‘जैले रिसाउनी’ शब्द र लवज उनले पोखरा आसपासका बस्तीबाट सापटी लिएका हुन् भने ‘ट्याउसी चढाउँदै’ काठमाडौं उपत्यकाका काँठ क्षेत्रबाट टिपेका हुन् ।
उनी मनमौजी गीतको शब्द, धुन, लय खोज्छन् । यस हिसाबले उनलाई एउटै गीत तयार गर्न लामो समय लाग्छ । अर्थात्, कालीप्रसाद कारखाना होइनन् । उनी आफैं भन्छन्, ‘फटाफट संगीत सिर्जना गर्ने अलौकिक क्षमता मसँग छैन ।’ एउटै गीतले उनलाई धेरै सातासम्म रिंग्याउन सक्छ ।
‘कति धुन त मैले हुक लाइन मात्र बनाएर राखेको छु,’ कालीप्रसाद भन्छन्, ‘तिनीहरुलाई पूर्णता दिनै सकिएको छैन ।’
लुट-२ का लागि उनलाई ‘आइटम गीत’ तयार गर्न भनिएको थियो । धेरै प्रयास गरे तर गीत तयार भएन । फिल्म युनिट फ्लोरमा जाने दिनगन्ती शुरु हुँदासम्म उनमा गीत फुर्दै फुरेन । ‘सुटिङ शुरु हुनु पाँच दिनअघि मात्र त्यसको हुकलाइन क्लिक भयो,’ कालीप्रसाद सम्झिन्छन् ।
कालीप्रसादलाई एउटा गीत तयार गर्न औसत एक महिना लाग्छ । शुरुमा जुन हिसाबले गीत तयार गरिएको हुन्छ, रेकर्ड गर्दासम्म त्यसमा धेरै फेरबदल पनि भएको हुन्छ । कालीप्रसाद भन्छन्, ‘म शुरुदेखि अन्त्यसम्मै मिहिनेत गरिरहेको हुन्छु ।’
राजनराज भर्सेस कालीप्रसाद
राजनराजको एउटै गीत चार करोड पटक हेरिएको छ, युट्युबमा । यो भनेको नेपालीको पूरा जनसंख्याभन्दा धेरै बढी हो । अर्थात्, हरेक नेपालीले एक पटक हेरेर पनि नअघाएको गीत । उनका अरु गीतले पनि युट्युबमा करोड ‘भ्युज’ नाघेका छन् ।
कालीप्रसादको गीतले उसैगरी उधुम मच्याएका छन् । ‘सुन साइँली’, ‘ठमेल बजार’जस्ता अजम्बरी गीतको शंृखला तयार गरिदिएका छन्, उनले ।
रसिलो शब्द चयन एवं कसिलो गीतको बुनाई कालीप्रसादको विशेषता हो । जबकि, राजनराजको शब्द बुनाई ‘क्याजुअल’ शैलीको छ । यद्यपि, उनको धुनले जो कोहीको हृदयको धुन बजाउने सामथ्र्य राख्छ ।
व्यक्तिगत हिसाबले राजनराज एकदमै सरल, विनयी र मिलनसार छन् । उनमा कत्ति पनि दम्भ छैन । जबकि, कालीप्रसाद पहिलेभन्दा फरक बन्दै गएका छन् । उनको व्यक्तित्वमा ‘स्टारडम’ झल्किन थालेको छ ।
तर, उनी संगीत सिर्जनाका सवालमा संयमित छन् । डिमान्ड पुरा गर्ने चक्करमा उनले एकपछि अर्को धुन तयार गरिरहेका छैनन् । जबकि, राजनराज फिल्मी बजारको माग धान्न धमाधम गीत उत्पादन गरिरहेका छन् ।
सिनेमाको बोझ
अहिले फिल्मकर्मीहरु कथा र पटकथाभन्दा पहिले राजनराज वा कालीप्रसादलाई खोज्न थालेका छन् । यस्तो लाग्छ, गीतको फेरो समातेर फिल्मको प्लट तयार हुने हो ।
गीत र फिल्मको तालमेल मिलोस् वा नमिलोस्, राजनराज वा कालीप्रसादको गीत घुसाएको हुनैपर्छ । आफ्नो फिल्म चलाउन चल्तीका गीत राख्नैपर्छ भन्ने मान्यताले राजनराज र कालीप्रसादको डिमान्ड बढाएको छ ।
फिल्ममा गीत गाउनुलाई पाश्र्व गायन भनिन्छ । यसको अर्थ खास गायक छायाँमा बसेर हिरो-हिरोइनका लागि आवाज दिने हो । फिल्मको कथाले मागेअनुसार हिरो-हिराइन हुन्छन् । उनीहरुको स्वरले मागेअनुसार गीत हुनुपर्छ ।
तर, रेडिमेड गीतलाई जबर्जस्ती नायक-नायिकामा ‘एडजस्ट’ गर्दा नेपाली सिनेमा ठट्यौली बन्दै गएको छ । यसको साइड इफेक्ट राजनराज र कालीप्रसादजस्ता साधकहरुमा पर्दैछ, पर्नेछ ।