Comments Add Comment

फिल्म हलमा साफसँग कुटाइ खाइयोः रवी डंगोल

म त घरको कान्छो छोरो । अलि बढी पुल्पुलिएँ । सानोमा मलाई जे पनि दुईटा चाहिन्थ्यो । मेरा दाई मभन्दा दुई वर्ष जेठा । अनि त झगडा मज्जैले पथ्र्यो । म निहुँ खोज्न पनि सार्‍है सिपालु थिएँ । आफुले भन्याजस्तो भएन भने निहुँ खोजिहाल्थेँ ।

फिल्म खुब हेर्न मन लाग्थ्यो । त्योबेला हलमा एउटा फिल्म तीन महिनासम्म लाग्थ्यो । एउटै फिल्म दोहोर्‍याई तेहर्‍याई हेरिन्थ्यो । बोर पनि लाग्दैनथ्यो । एक पटकको घटना हो । हामी तीन दाजु भाई फिल्म हेर्न गएका थियौं । फिल्म प्रदर्शन भइरहँदा म चाँही सिटमा गोडा राख्ने या त्यस्तै केही चकचक गर्दै थिएँ । एउटा  दर्शकले आएर मलाई थर्काए, ‘ओइ नचल’ । म पनि के कम ? ‘तँ को हो नचल भन्ने ?’ भनेर थर्काएको मात्रै थिएँ, साफसँग कुटे । कुटाइ कसरी खाएँ भने सुन्नीएको ठिक हुन एक महिना लागेछ ।

स्कुलमा पनि निहुँ खोज्ने र फाइट खेल्ने मामिलामा मनै अगाडि थिएँ । स्वयम्भूस्थित जनसुधार प्राथमिक विद्यालयवाट मेरो स्कुल यात्रा सुरु भएको हो । म सुरुमै १ कक्षामा भर्ना भएँ । त्यतिवेला ‘हाफ क्लास’ भन्ने पनि हुन्थ्यो । हाफ क्लासमा पढ्नेहरु सुकुलमा बस्थे, हामी चाँही बेन्चमा ।

हाम्रो स्कुलमा बिहान तिब्बतीहरुका लागि विशेष कक्षा हुन्थ्यो । तिब्बतीहरु खुबै आउँथे । उनीहरुको कक्षा सकिएपछि हाम्रो पढाई सुरु हुन्थ्यो । स्कुलमा खुल्ला चौर थियो । केटाहरुवीच बेला बेलामा फाइट पनि हुन्थ्यो । म निहुँ खोज्न र फाइट खेल्न उत्सुक थिएँ । स्कुलकै केही दाईहरु मलाई फाइट खेल्न उक्साउँथे । फाइट खेल्न मेरै उमेरका केटा खोजेर ल्याउथे । मसँग भिड्ने प्रायः तिब्बती हुन्थे । म चौरमा फाइट खेल्न थाल्थें । अरु केटाहरु सिट्ठी बजाएर साइडमा बस्थे । अनि रेस्लिङ स्टाइलमा फाइट हुन्थ्यो ।

अहिलेजस्तो स्कुल जाँदा खाजा लाने चलन थिएन । घर आएपछि खाजाका रुपमा मकै भटमास खाने चलन थियो । विदाको दिन हामी प्रायः गोठालो जान्थ्यौं । हाम्रोमा बाख्रा, बोका र हाँस हुन्थे । काठमाडौ पुरै फाँटै फाँट थियो । हिँउदका दिन गोठालो जान खुब मज्जा आउँथ्यो । मंसिरमा धान काटेपछि भने माछा मार्ने काम सुरुहुन्थ्यो । धान काटिसकेपछि खेतको जमेको पानीमा माछा पाइन्थ्यो । हामी मस्तले माछा माथ्र्यौ ।

गोठालो जाँदा हामी पुरै शिकारी शैलिमा जान्थ्यौ । गुलेली कहिल्यै छुट्दैनथ्यो । चरा देख्नै हुन्नथ्यो गुलेली हानीहाल्थ्यौ । एक दिन एउटा चरा पुक्लुक्कै ढल्यो । ठुलै पौरख गरेको भनेर गुलेलीले मारेको चरा बोकेर घरमा आएँ तर, आमाले गाली गर्नुभयो । ‘तेरो र उस्को ज्यान उस्तै हो’ भनेपछि म अक्क न वक्क भएँ । त्यसपछि चरालाई गुलेली हान्न छाडिदिएँ ।

बद्मासीका कुरा त गरिसाध्यै छैन कति गरियो कति । काँक्रो, मुला र सुन्तला कति चोरी कति । घरमा पैसा चाँहि चोरिन । पैसा खासै चाहिदैन थियो । फिल्म हेर्न एक मोहोर भए पुग्थ्यो । त्यो पैसा घरवाटै पाउँथें ।

एक दिनको कुरा हो । बसन्तपुर दरवारमा निकै भिड रहेछ । केको भिड भन्दै म पनि नजिकै गएर हेरेको त हिन्दी फिल्म ‘महान’ को सुटिङ भइरहेको रहेछ । अमिताभ बच्चन, शक्ति कपुर लगायतका कलाकार थिए । भिड छिचोल्दै म अगाडी पुगें र अमिताभ बच्चनलाई निकै नजिकवाट नियालेँ । केही समयपछि जब मैले ‘महान’ हेरें, त्यसमा अमीताभको ‘ट्रिपल रोल’ रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment