Comments Add Comment

‘म नायिका हुँ भनेर नै विर्सिन्छु: दीया पुन

नायिका दीया पुन बेलायतमा बस्छिन् । बेलायतमा रहँदै आफ्नै व्यवसाय र मोडलिङलाई अगाडि बढाउँदै आएकी यी सुन्दरीलाई चलचित्रको रंगिन दुनियाँले भने आकषिर्त गरेको छ ।

बेलायतमा नै निर्देशक मिलन चाम्ससँग भेट भएपछि दीयाले ‘विर विक्रम’ नामक चलचित्र खेल्ने अवसर पाइन् । यसपछि, भने उनको चलचित्र यात्रा अगाडि बढिरहेको छ । पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’को प्रचारका लागि नेपाल आएकी दीया अहिले दौडधुपमा नै व्यस्त छिन् ।

चलचित्रकी नायिका बन्छु भन्ने उनले सोचेकी नै थिइनन् । तर, मिलनसँगको अचानक भेटले उनको परिचय बदलिदियो । उनले लगातार ३ वटा चलचित्रमा काम गरिन् । जसमध्ये २ चलचित्रमा दयाहाङ राई र एक चलचित्रमा सौगात मल्ल उनको जोडीको रुपमा छन् । दीया भन्छिन्-‘मलाई चलचित्रमा दर्शकले गाउँले भूमिकामा हेरिरहनुभएको छ । तर, मलाई अब फरक भूमिकामा काम गर्न मन छ । यहि, भूमिका त भन्दिनँ तर फरक चरित्रमा काम गर्न पाए रमाइलो हुन्थ्यो ।’

चलचित्र ‘मिस्टर झोले’का लागि उनलाई निर्देशक रामबाबु गुरुङले नै फोन गरेका थिए । चलचित्रमा आफू ‘नानु’ नाम गरेकी पात्रको भूमिकामा देखिएको उनले सुनाइन् । यसपटक दयाहाङसँग बिहे हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भनिन्-‘चलचित्रमा बिहे त हुन्छ, तर कसको हुन्छ भन्ने जान्नका लागि दर्शकले चलचित्र नै हेर्नुपर्छ ।’

चलचित्रका नायक दयाहाङ राई रोमान्टिक रहेको उनको वुझाई छ । ‘तर, पर्दा भित्र भन्दा भाउजुसँग बढी रोमान्टिक हुनुहुन्छ दया दाई’, दीयाले रमाइलो कुरा सुनाइन् ।

चलचित्र क्षेत्रलाई दीयाले करिअर नै सोचेको बताइन् । आफूलाई धेरै चलचित्र खेलेर भन्दा पनि दर्शकले संझने खालको भूमिकामा काम गर्न मन लाग्ने उनले सुनाइन् ।
चलचित्र ‘विर विक्रम’मा काम गरेपछि आफूलाई बेलायतमा बस्ने नेपालीले हेर्ने शैली केहि बदलिएको दीयाको भनाई छ । दीयाले भनिन्-‘सार्वजनिक कार्यक्रममा पुग्दा मलाई तपाई पनि यहाँ आउनुभएको भन्नुहुन्छ । एकछिन त म आफै किन यसो भने होलान् भनेर छक्क पर्छु । पछि चलचित्रकी नायिका भनेर संझिन्छु । कहिलेकाही त म चलचित्रकी नायिका हुँ भनेर नै विर्सन्छु ।’

चलचित्र क्षेत्रमा सबैसँग काम गर्न मन लागेको अनुभव सुनाउने दीया बेलायतमा पनि चलचित्र क्षेत्रको बजार बढेको बताउँछिन् । विगत ४ बर्षदेखि बेलायतमा चलचित्र क्षेत्रले राम्रो स्थान जमाएको दीयाले जानकारी दिइन् ।

कुरा एकछिन ‘मिस्टर झोले’कै गरौ । दीयाको नजरमा कस्तो चलचित्र हो त, ‘मिस्टर झोले’ ? उनी भन्छिन्-‘यो एकदमै राम्रो चलचित्र बनेको छ । पारिवारिक, सामाजिक कथावस्तुलाई उठान गरिएको छ । दर्शकले चलचित्र हेर्दा आफ्नो पैसा गुमेको महशुश गर्नुहुन्न ।’

‘मिस्टर झोले’को ३ वटा पावरफूल पक्ष दीयाको नजरमा के-के होलान् त ? उनी भन्छिन्-‘गाउँतिर औशीको रातमा जन्मिएको मान्छेलाई राम्रो नजरले हेरिदैन । यसले यो कथालाई उठान गरेको छ । झोले भनेको करिअरको विचमा अड्किएको मानिसको कथा हो । हाम्रो दैनिक जीवनमा आइपर्ने बिषयलाई यसले उठान गरेको छ । यी पक्षका कारण पनि चलचित्र चल्छ ।’

कुराकानीको क्रममा दीया लजालु देखिइन् । उनले आफू समाजसँग चाडै नै घुलमिल हुन नसक्ने मानिसको सूचिमा पर्ने बताइन् । दीयाका अनुसार आफ्नै चलचित्र हेरेपछि अरुले सकारात्मक प्रतिक्रिया दिएपनि आफूले नै आफ्नो आलोचना गर्ने उनको बानी छ ।

तपाइलाई अभिनय र नृत्यमा कुन गर्न मन लाग्छ, दीयाले जवाफ दिइन्-‘गीतमा हाउभाउ मात्र व्यक्त गर्दा हुन्छ । अभिनय कठिन छ । तर, म दुबैमा रमाउँछु । मलाई डबिङ गर्न भने सबैभन्दा दिक्क लाग्छ । एउटा मेरो भाषाको समस्या, अर्को स्वरको । यसैले, डबिङ नै गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।’

बेलायतमा बस्दै गरेकी दीया चलचित्र क्षेत्रमा लामो दौडमा उभिने प्रयासमा छिन् । ‘मिस्टर झोले’ले उनको करिअरमा त्यो मोड ल्याउला, पौष २८ सम्म प्रतिक्षा गरौ ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment