Comments Add Comment

नेपाली चलचित्रमा ‘स्ट्राइकर’ हिरोइनको खडेरी

१९ पुस, काठमाडौं । जमाना यस्तो पनि थियो, जब हिरोइनलाई नै केन्द्रमा राखेर चलचित्र बनाइन्थ्यो । हिरोइनहरु पनि एकसेएक थिए, जसको अभिनय बेजोड हुन्थ्यो ।

शर्मिला मल्ललाई केन्द्रमा राखेर ‘कान्छी’ बनाइयो । गौरी मल्ललाई केन्द्रमा राखेर ‘कन्यादान’ बनाइयो । कालान्तरमा करिश्मा मानन्धर र रेखा थापाकै केन्द्रीय भूमिका भएका दर्जनौं चलचित्र बने । हाम्रो चलचित्रको इतिहास नै हिरोइनको केन्द्रीय भूमिकाबाट शुरु भएको थियो, जतिबेला ‘आमा’ र ‘कुमारी’जस्ता चलचित्र बनेका थिए ।

अचेल पर्दामा स्ट्राइकर हिरोइनहरु हराएका छन् । नेपाली चलचित्र अहिले ‘हिरो’कै कब्जामा छ । हिरो भन्नासाथ फटाफट नाम आइहाल्छ, दयाहाङ राई, अनमोल केसी, सौगात मल्ल, पल शाह । तर, हिरोइन ?

कनीकुथी दर्जन हिरोइनको सूची तयार गर्न सकिन्छ । यद्यपि, सिल्भर स्क्रिनमा उनीहरुको पकड खासै बलियो छैन । चलचित्रलाई आफ्नो काँधमा बोक्नसक्ने त्यस्ता हिरोइन देखिँदैनन्, जसमाथि निर्माता निर्धक्क पैसा खन्याउन सकून् । जसको नामैले दर्शक हलसम्म तानियोस्, त्यस्ता हिरोइन खै ?

अभाव स्ट्राइकरको

अहिलेको चल्तापूर्जा हिरोइन को हो ? एक वाक्यमा फ्याट्ट जवाफ दिन सकिँदैन । कसैले पि्रयंका कार्कीको नाम लिन सक्लान् । तर, उनले नै धानेको कुनै चलचित्र छैन । भाग्यवस, चलेका एवं दर्शकले रुचाएका चलचित्रमा मिसिइन्, उनी । तर, ती चलचित्रमा उनको भूमिका खासै थिएन । पि्रयंकालाई सम्झाउने खालको कुनै चलचित्र छैन ।

नम्रता श्रेष्ठ, निशा अधिकारी, दिया मास्के, केकी अधिकारी, वर्षा शिवाकोटी, वर्षा राउत, नम्रता सापकोटा, नीता ढुंगाना, ऋचा शर्मा, रिमा विश्वकर्माको लहरबाट केही हिरोइन नकआउट भइसकेका छन् । तीमध्ये जति मैदानमा छन्, उनीहरुले पनि आफूलाई ‘स्ट्राइकर’ सावित गर्न सकिरहेका छैनन् ।

अभिनयका हिसाबले केकी अधिकारी अग्रपंक्तिमा छिन् । उनले पनि स्कोर गर्न भने सकिरहेकी छैनन् । उनको ग्ल्यामर त्यति चहकिलो छैन ।

अभिनयको बलमा भने उनी जादु देखाउने क्षमता राख्छिन् । पछिल्लो समय प्रदर्शित ‘ऐश्वर्य’मा रमेश उप्रेतीलाई स्थापित गर्न केकीलाई प्रवेश गराइएको छ । तर, पुरै चलचित्र केकीको काँधमा थामिएको छ ।

केकी पारिवारिक रुपमै प्रशिक्षित भएर आएको मानिन्छ । बाबु बद्री अधिकारी अब्बल रंगकर्मी भएकाले त्यसको छाप केकीमा परेको मान्न सकिन्छ ।

दिया मास्के पनि माझिएकी अभिनेत्री हुन् । तर, उनी रक्षात्मक पोजिसनमै अल्झिएकी छन् । रंगमञ्चबाट खारिएकी उनी हिरोइनका रुपमा भने चम्किएकी छैनन् । नम्रता श्रेष्ठमा धेरैले ‘सम्भावना’ देखेका थिए । तर, उनी बीचमै अलमलिइन् । अन्य हिरोइन औसतभन्दा माथि उक्लन सकेका छैनन् ।

अफस्क्रिन क्रेज

पछिल्लो छिमलमा साम्राज्ञी राज्यलक्ष्मी शाह, दीपिका प्रसाईं, सुरक्षा पन्त, आँचल शर्मा, अदिती बुढाथोकी, मरिष्का पोखरेल, स्वस्तिमा खड्का, आना शर्माहरु आए । तीमध्ये अहिले अदितीको क्रेज बढी छ । तर, त्यो पनि उनको अफस्क्रिन क्रेज हो ।

अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’मा स्क्रिन सेयर गरेकी अदिती ग्ल्यामर लुक्सको बलमा चर्चामा छिन् । यो छिमलका अन्य हिरोइन पनि अनमोल केसीकै टेकोमा उभिएका हुन्, आफ्नै बलबुताले होइन ।

तैपनि, अब नेपाली चलचित्रमा चलमलाउने भनेका यही पंक्तिका अभिनेत्री हुन् । यद्यपि, उनीहरुमा अभिनयको खडेरी छ । साधनाको अभाव छ । यी हिरोइनहरुमा अहिले जुन चमकदमक देखिएको छ, अभिनयको कसीमा त्यो खुइलिन पनि सक्छ ।

रेखा युगको पटाक्षेप


एउटा थियो, रेखा थापाको युग । बलिउड मार्काको मसलेदार चलचित्रको तलतल नमेटिएको अवस्थामा रेखाकै राज चल्यो । उनको ताकत कतिसम्म रह्यो भने आफ्ना समकक्षी हिरोहरुलाई उनले साइड लगाइदिइन् ।

राजबल्लभ कोइराला, आर्यन सिग्देल, विराज भट्ट, निखिल उप्रेतीहरुलाई कोर्टबाट बाहिर निकालेर उनले पर्दामा ‘काली’को शक्ति देखाइन् ।

‘काली’, ‘हिम्मतवाली’, ‘रुद्रप्रिया’जस्ता चलचित्रबाट रेखाले आफूलाई एक्लो खेलाडी सावित गर्ने प्रयास गरिन् । रेखालाई नै ख्याल गरेर चलचित्रको कथा लेख्न थालियो । अहिले दर्शकमा पुरातन शैलीको ह्याङ्ओभर उत्रिएसँगै रेखाको प्याराफिट पनि रित्तिएको छ ।

हुन त, गत तिहारको मेसोमा रेखाको ‘रुद्रपि्रया’ सार्वजनिक भयो, जसमा उनकै लिड रोल थियो । हिरोइनकै हालिमुहाली भएको यो चलचित्र भने पुरानै लयमा बगेकाले दर्शकले चासो दिएनन् ।

सिंगल थिएटरमा ‘ठीकठाक’ व्यापार गरेको चलचित्रले ‘हिरोइनको ताकत’ देखाउन सकेन । हिरोइनकै बलमा चलचित्र चल्छ भन्ने मान्यतामा बल पुर्‍याएन ।

यसबीचमा रेखा ट्र्याक पनि चलचित्रबाट बाहिर गयो । उनी राजनीतिमा लागिन् । नेताहरुसँगको उठबसले उनलाई चलचित्रको लय समात्न दिएन ।

एउटी थिइन्, करिष्मा


उमेरले ४३ वर्ष काटिसक्दा पनि करिष्मा मानन्धर अझै तरुनी देखिन्छिन् । उनको अनुहार वा व्यक्तित्व ‘कमन म्यान’को जस्तो मात्र छैन । तर, करिअरको उत्तरार्द्धमा उनी अभिनेत्री होइन, नेतृको रुपमा चलखेल गरिरहेकी छन् ।

एक जमाना थियो, जब ‘हिरोइन भनेकै करिष्मा मानन्धर हो’ भनिन्थ्यो । नेपाली चलचित्रले हिरोइनको जुन मानक बनाएको थियो, त्यसमा करिष्मा सबै आयामबाट फिट देखिन्थिन् । उनको उचाइ, गोलाइ, रुपरंग सबैमा हिरोइनको शतप्रतिशत गुण थियो ।

प्रकाश थापाजस्ता अग्ला कदका निर्देशकले इन्ट्री गराएकी किशोरवयकी करिष्माले एउटा कालखण्डमा पर्दामा जादु नै देखाइन् । चलचित्र ‘सन्तान’बाट शुरु भएको उनको यात्रा ‘ढुकढुकी’सम्म करिब उस्तै गतिमा चालु रह्यो ।

यसबीचमा उनले ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘वसन्ती’, ‘पंक्षी’जस्ता चलचित्रको थुप्रो लगाइन् । आफ्नो जमानामा उनकै हैकम चल्यो । राजेश हमालजस्ता ‘टाउको बिक्ने’ स्टारडम पाइसकेका समकक्षीसँग टक्कर लिएर पनि उनले रजतपटमा राज गरिन् ।

तर, अब करिष्माको पनि युग सकिएको छ । नेपाली सिनेमालाई चलायमान बनाउने अवस्थामा करिष्मा छैनन् ।

मागेन कथाले

हिरोइनको भूमिकालाई नेपाली चलचित्रले खुम्याइरहेको छ । हिरोको जीवनमा रंग भर्नका लागि मात्र उनीहरुको उपस्थिति हुन्छ । प्रेम-रोमान्सका गोलचक्करबाट निकालेर मूल कथालाई डोर्‍याउने भूमिका उनीहरुलाई दिइएको छैन ।

अचेल धमाधम चलेका चलचित्रमा हिरोइनको ‘स्पेस’ त्यतिमै खुम्चियो, जति ‘कथाले मागेको’ थियो । उनीहरुलाई कथाले अगाडि ल्याउनै चाहेन/सकेन । चलचित्रकै भाषामा भनिने ‘नारीप्रधान’ चलचित्रमा पनि नारीको प्रभुत्व देखिएन ।

हिरोकै हैकम

पछिल्लो समय प्रदर्शित चलचित्रतिर फर्केर हेर्दा पनि हिरोइनलाई स्थापित गराउने कुनै देखिएनन् । यसबीचमा लभस्टोरी र कमेडी चलचित्र बने । यसमा पनि धेरै हिस्सा त कमेडीकै रह्यो ।

दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ले अपार व्यापार गरेपछि त्यही ट्रयाकमा चलचित्र बन्न थाले । निश्चल बस्नेत निर्देशित ‘लुट’ र रामबाबु गुरुङको ‘कबड्डी’, दीपेन्द्र के खनालको ‘पशुपतिप्रसाद’ले शुरु गरेको स्वादलाई मिसमास गर्ने प्रवृत्ति त बढी नै देखियो । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल अथवा विपिन कार्कीले ‘स्पेस’ पाए ।

चलचित्रको कथाले पात्र चयन गर्ने होइन । बरु, दयाहाङ-सौगातले कथालाई डोर्‍याए । दयाहाङहरुको स्टारडमलाई क्यास गर्ने चक्करले थुप्रै चलचित्रलाई रिंगाइदियो । यसका धेरै साइड इफेक्ट देखिनथाले । त्यसमध्ये एक हो, पर्दामा हिरोइनको फितलो उपस्थिति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment