Comments Add Comment

देउवालाई प्रचण्डको जवाफ-जनताले सत्ता हस्तान्तरण गरिसके, तपाईले त सघाउने मात्र हो

चुनावको एक महिनापछि बल्ल दिए देउवाले वाम नेतालाई बधाई

२० पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि प्रधानमन्त्री शेरवहादुर देउवाले वामपन्थी गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिएका छन् ।

मंसिर २१ मा सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि तथा कांग्रेस सभापति समेत रहेका देउवाले औपचारिक रुपमा बधाई समेत दिएका थिएनन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंले डाकेको सर्वदलीय बैठकमा देउवाले जनादेशबाट बहुमत ल्याउन सफल भएकोमा वाम गठबन्धनका नेताहरुलाई बधाई दिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

‘बैठकको शुरु गर्दै उहाँले पहिलो पटक हामीलाई वामपन्थी गठबन्धनले चुनाव जितेकोमा बधाई दिनुभयो । कांग्रेस पराजित भएको स्वीकार गर्नुभयो’ नेम्वाङले भने, ‘हामीले ढिलै भए पनि बधाई दिनुभएकोमा उहाँलाई धन्यवाद भन्यौं ।’

देउवाले बधाई दिँदा वाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली भने बैठकमा उपस्थित थिएनन् । वाम गठबन्धनका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा बादल थिए । एमालेबाट उपाध्यक्ष भीम रावल सहित सुवास नेम्वाङ, बिष्णु पौडेल र अग्नि खरेल उपस्थित थिए ।

सामान्यतः चुनाव जित्ने नेतालाई फोनबाटै भने पनि बधाई दिने प्रचलन संसदीय राजनीतिमा हुन्छ । तर, प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अहिलेसम्म वामपन्थी नेताहरुलाई बधाई दिएका थिएनन् । त्यसैले बालुवाटार बैठकमा उनले बधाई दिएपछि नेताहरुबीच चर्चाको विषय बनेको थियो ।

देउवाले बधाई मात्र दिएनन्, आफू शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको बताए ।

देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको कुरा गरेपछि प्रचण्डले आपत्ति जनाएको शैलीमा प्रतिक्रिया दिए । उनले भने, सत्ता हस्तान्तरण जनताले चुनावबाटै गरिसके । तपाईले अब नयाँ सरकार गठनको लागि सघाउने मात्र हो ।’

उनले अघि भने, सत्ता हस्तान्तरण गर्ने तपाईले होइन, जनताले हो ।’

बालुवाटार बैठकमा कांग्रेस र वामपन्थी नेताहरुबीच यस्तै यस्तै घोचपेचहरु भए ।

कांग्रेसले नयाँ सरकार गठन हुन नदिन संविधान र संवैधानिक आयोगलाई हतियार बनाएको प्रसंग पनि उठेको थियो । नेताहरुबीचको अनौपचारिक कुराकानीमा एमालेका एक नेताले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि नयाँ सरकार गठन हुनुपर्नेमा राष्ट्रियसभा चुनाव गराएर मात्र छाड्ने अडान आयो । अब स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि हामी नै गराउँछौं भन्ने त होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment