Comments Add Comment

ठूला घरानाको होटेल आकर्षणः मेची र कोशीमा थपिँदै ३५ अर्ब लगानी

पर्यटकीय गतिविधिमा केन्दि्रत हुँदै निजी क्षेत्र

२२ पुस, विराटनगर । प्रदेश-१ का मेची र कोशी अञ्चलमा होटेल व्यवसायमा लगानी थपिने क्रम बढेको छ । हरेक वर्ष सुविधा सम्पन्न होटेल निर्माण तीव्र छ ।

लगानीको जोखिम कम र मुनाफा बढी हुने भएकाले ठूला व्यापारिक घराना पनि उक्त व्यवसायमा आकर्षित हुन थालेका छन् । यस वर्ष मात्र नयाँ तारे होटेलका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको छ । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा ५० अर्ब लगानी भइसकेको छ ।

भारतीय सीमानजिकका झापाको काँकडभिट्टा र मोरङको रानीदेखि पूर्वी पहाडी जिल्लाहरु धनकुटा, ताप्लेजुङ, संखुवासभालगायतमा लगानी थपिँदो छ ।

धनकुटाको हिलेमा पहिलोपटक आठ करोड लागतमा सुविधासम्पन्न तीनतारे होराइजन माउन्टेन रिसोर्ट खुलेको छ । उक्त रिसोर्ट वर्षदिनअघि सञ्चालनमा आएको हो ।

विराटनगरका होटेल व्यवसायी रेवतबहादुर थापाले ४८ रोपनीमा ४२ कोठाको रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उनी प्रदेश-१ मा उक्त व्यवसायका सबैभन्दा ठूला लगानीकर्ता मानिन्छन् ।

विराटनगरस्थित होटेल रत्नाका सञ्चालक हुन्, थापा । कोशी करिडोर घुम्न आउने पर्यटकका लागि हिलेमा सुविधा सम्पन्न रिसोर्ट खोलिएको उनको भनाइ छ । गुराँसको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले क्षेत्रको प्रवेशमार्गमा पर्छ, हिले ।

पाँच करोड लगानीको होटेल रत्नामा ५६ कोठा छन् । त्यसलाई स्तरोन्नती गर्ने योजनामा छन्, उनी । २५ करोड रुपैयाँ थपेर प्रदेश-१ कै ठूलो होटेल बनाइँदैछ, रत्नालाई । आगामी १ वैशाखदेखि सञ्चालन गर्ने लक्ष्यसहित ७५ वटा कोठा थप्दैछन्, उनी ।

पहाडी जिल्लाहरुमा ४० भन्दा बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा आएका छन् । पाँच वर्षयता खुलेका ती होटेलमा दुई करोडभन्दा बढी लगानी छ ।

होटेल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य छिरिङ शेर्पाका अनुसार मेची र कोशी करिडोरमा खुलेका होटेलहरुमा दुई सय वटा सुविधा सम्पन्न कोठा छन् ।

‘आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेसँगै लगानीकर्ताले लाभ उठाउन थालिसकेका छन्,’ शेर्पा भन्छन् । ती होटेलले पूर्वी पहाडी भेगको आर्थिक गतिविधिमा टेवा पुर्‍याइरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् ।

होटेलको शृंखलावद्ध लाभ किसानसम्म पुग्ने भएकाले स्थानीय अर्थतन्त्रको चर्खा चलाउन कोशेढुंगा सावित हुने उनको ठम्याइ छ । ताप्लेजुङ, इलाम र पाँचथरमा पर्यटकलक्षित २० वटा होटेल खुलेका छन् ।

कोशी करिडोरअन्तर्गत् धनकुटा, तेह्रथुम र संखुवासभामा पनि २० वटा होटेल सञ्चालनमा आएका छन् । कान्जिरा, याक, सुरवी, शीतल निवास, लालीगुराँस, भेडेटार भ्यू, मनशान्त, अरुण भ्याली, गि्रन हेवनलगायत यस क्षेत्रका केही चलेका होटेलमध्येमा पर्छन् ।

यस्तै, मेची करिडोरअन्तर्गत् गि्रन भ्यू, वेलकम, चियाबारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, सरगम, सुमितलगायत चलेका ब्रान्ड बनेका छन् ।

पाइपलाइनमा २० वटा तारे होटेल

प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा बढी पर्यटकस्तरका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश-१ का उपाध्यक्षसमेत रहेका व्यवसायी थापाका अनुसार मेची-कोशीमा २० वटा तारे होटेल निर्माणाधीन छन् ।

यसअघि अधिकांश होटेलले सुरक्षा संवेदनशीलता भएका विशिष्ट पाहुनालाई सेवा दिन सक्दैनथे । ‘अब ती दिन इतिहास हुँदैछन्,’ थापा भन्छन् ।

उनका अनुसार १० वटा पाँचतारे स्तरका होटेल सञ्चालनमा आएका छन् । तिनमा १५ करोडदेखि एक अर्बभन्दा माथिको लगानी छ ।

ठूला लगानीकर्ताको आकर्षण

पछिल्ला वर्षमा ठूला औद्योगिक घरानाले पनि उक्त व्यवसायमा हात हालेका छन् । अन्य उद्योगधन्दाको तुलनामा कम झण्झटिलो व्यवसाय भएकाले उनीहरु तानिएका हुन् ।

सेन्चुरी, गोर्खा डिर्पाटमेन्ट स्टोर्सलगायतले होटेल व्यवसायमा हात हालेका छन् । सेन्चुरी मसलालगायतको खाद्य उत्पादनमा लगानी गर्दै आएका उद्योगी मोती दुगड विराटनगरमा दुई वटा ठूला होटेल निर्माणमा जुटेका छन् ।

विराटनगर-३ तीनपैनीमा उनले ४० करोड लागतमा एक वर्षअघि होटेल ह्यारिसन सञ्चालनमा ल्याएका छन् । ४० कोठाको उक्त चारतारे होटेलपछि उनी एक अर्ब २० करोड लागतमा पाँचतारे निर्माण गरिरहेका छन् ।

‘यो सेवामूलक क्षेत्र हो । होटेलबिना पर्यटन क्षेत्र उठ्न सक्दैन,’ दुगड भन्छन्, ‘त्यही भएर यता हात हालेको हुँ ।’

इटहरीस्थित गोर्खा डिर्पाटमेन्ट स्टोर्सका सञ्चालक बलराम आचार्यसहितको समूहले ७० करोड लागतमा होटेल गरिमा निर्माण गरिरहेको छ, जुन यही वर्ष सञ्चालनमा ल्याउने लक्ष्य छ । उक्त होटेल पाँचतारे स्तरको रहने आचार्य बताउँछन् ।

तीन महिनाभित्र सञ्चालनमा आउने गरी विराटनगरमा तीनतारे होटेल निर्माणाधीन छ । २० करोड लागतको होटेलमा ५३ वटा कोठा रहने सञ्चालक वीरेन्द्रबहादुर न्यौपाने बताउँछन् । उनका साझेदार छन्, रुक्मणिराज भण्डारी । दुवै निर्माण व्यवसायी हुन् । र, जलविद्युतका लगानीकर्ता पनि हुन् ।

‘प्रदेश-१ धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटन हबका रुपमा चिनिन्छ,’ विराट क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी भन्छन्, ‘निकट भविष्यमै पर्यटकीय गतिविधि अझ बढ्न आकलनका कारण लगानी थपिएको हो ।’

यी हुन् पर्यटकीय गन्तव्य

प्रदेश-१ को सगरमाथा अञ्चल मुलुककै पर्यटकीय गतिविधि शुरु गराउने क्षेत्रका रुपमा परिचित छ । विश्वको सर्वोच्च शिखर सगरमाथाकै नामबाट राखिएको उक्त अञ्चल विश्वका साहसिक पर्यटकहरुको रोजाइको गन्तव्य हो ।

मेची र कोशीमा पनि पर्यटकीय गन्तव्य प्रशस्त छन् । मेचीमा विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा (८,५८६ मिटर) र कोशीमा पाँचौं मकालु (८,४८५ मिटर) पर्छन् । दुवै हिमाल आरोहण र आधारशिविरसम्म पदयात्राका लागि प्रशस्त विदेशी पर्यटक आउँछन् । चौथो अग्लो ल्होत्से (८,५१६ मिटर) र पुमोरी (७,१६१ मिटर) पनि यही प्रदेशमा पर्छन् ।

ताप्लेजुङमा पाथीभरा देवीको मन्दिर, खोटाङको हलेसी महादेव, सुनसरीको बराहक्षेत्र धाम, सप्तरीको छिन्नमस्ता देवी, धरानका दन्तकाली र बूढासुब्बा, झापाको कन्काई धामलगायत धार्मिक स्थलमा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लाग्छ ।

प्रदेश-१ मा ३० भन्दा बढी ताल र पोखरी छन् । ती सबै धार्मिक र सांस्कृतिक महत्वका मानिन्छन् । तेह्रथुमको चिचिलिङ, इलामको माई र संखुवासभाको सभापोखरी तीमध्येका हुन् ।

इलामका डाँडापाखामा फैलिएका चियाबगान तथा तेह्रथुम र संखुवासभाको सीमामा पर्ने तीनजुरे-मिल्के-जलजले क्षेत्र पनि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

सुनसरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष र रामसार क्षेत्र, ताप्लेजुङको कञ्चनजंगा संरक्षण क्षेत्र, संखुवासभाको मकालु-वरुण राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज प्रदेश-१ को पर्यटकीय गहना हुन् ।

मोरङको बेलबारीस्थित बेतना सीमसार क्षेत्र, इलामको श्रीअन्तु, धनकुटाका भेडेटार र मुलघाटजस्ता रमणीय स्थल पनि प्रदेश-१ मै पर्छन् । सर्वोच्च शिखर सगरमाथा मात्र होइन, मुलुकको होचो केचनाकवल पनि यही प्रदेशमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment