Comments Add Comment

आजको पत्रिकाः प्रचण्ड फकाउँदै मधेसवादी दल, प्रदेश राजधानीकाे निर्णय प्रदेशसभाबाटै

अस्तव्यस्त सिंहदरबारः दैनिक ट्राफिक जाम, गृहकै बाटो अध्यारो !

२३ पुस, काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा राजनीतिदेखि पर्यावरणसम्मका विषय परेका छन् ।

एमाले–माओवादी पार्टी एकताका लागि गृहकार्यमा जुटिरहँदा मधेसवादी दल प्रचण्डलाई फकाउन लागेका छन् । यो विषयलाई आजका केही पत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् ।

प्रदेश प्रमुख तोक्न सरकार मसक्क कस्सिए पनि राजधानीको निर्णय भने तत्काल नगर्ने मुडमा पुगको छ । प्रदेश प्रमुख र यसको राजधानीको विषयलाई पनि आजका पत्रिकाहरुले लेखेका छन् ।

यसका अलावा पत्रत्रिकाहरुले भाइरल ज्वरोले जाजरकोटमा महामारीको रुप लिएको, सिंहदरबार नै अस्तव्यस्त बनेको, निर्वाचन आयोगका प्रमुखले अख्तियार र महालेखा प्रमुखलाई सुटुक्क भेटेको लगायत समाचार छापेका छन् ।

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय प्रदेशसभाबाटै

सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । राजधानीसम्बन्धी निर्णय भने प्रदेशसभाबाटै हुनेछ ।

अन्नपूर्ण पोस्ट दैनिकले कानुन मन्त्री कानुनमन्त्री यज्ञबहादुर थापालाई उद्धृत गर्दै आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्न लागिएको लेखेको छ । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना छ ।

एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको समाचारम उल्लेख छ ।

‘सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ थापाले अन्नपूर्णसँग भनेका छन्, ‘त्यसैले सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौंं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’

अस्तव्यस्त सिंहदरबारः दैनिक ट्राफिक जाम, गृहकै बाटो अध्यारो

स्थानीय तहको निर्वाचनपछि प्रमुख दलहरुले गाउँमा सिंहदरबारको अधिकार लैजाने बताउँदै आएका छन् । मुलुकको सुरक्षाको सबै अभिारा सिंहदरबारमै केन्द्रित छ । तर, सम्पूर्ण अधिकार केन्द्रित भएको सिंहदरबार आफैं अस्तव्यस्त छ ।

नयाँ पत्रिका दैनिकले मुलुककै प्रमुख प्रशासनिक केन्द्रको अवस्था अति दुर्गम र पिछडिएको क्षेत्रजस्तो रहेको लेखेको छ ।

समाचार अनुसार सुरक्षा अवस्था मात्र होइन, सिंहदरबारले बिजुली बत्तीको समेत अभाव झेल्दै आएको छ । सिंहदरबारका अधिकांश पोलका बल्ब नबल्दा गृह मन्त्रालयछेउकै बाटो अँध्यारो छ । बिजुली नबलेपछि भएका सीसीटीभीसमेत प्रयोजनविहीन छन् ।

प्रचण्ड उचाल्दै मधेसवादी दल

राजधानी दैनिकले आज एमाले र माओवादी केन्द्रको गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको विषयलाई प्रमुखताका साथ लेखेको छ ।

चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न मधेसवादी गठबन्धन सक्रिय देखिएको हो ।

‘संविधान संशोधनका मुद्दा अघि सारेका राजपा र संघीय फोरमले विगतमा आफ्नो पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई आफ्नो समर्थन हुने बताउँदै आएका छन्’, राजधानी दैनिकले आफ्नो समाचारमा लेखेको छ, ‘विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँगको गठबन्धनबाट प्रचण्डलाई टुटाउँदा आफ्नो मुद्दा अघि बढ्ने विश्वास फोरम र राजपाले गरेका छन् ।’

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटवार्ता

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

नागरिक दैनिकका अनुसार तीन चरणको निर्वाचन सकेको मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आायुक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानबिन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमा बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ । तीन जनाबीच के विषयमा छलफल भयो भन्ने कुरा गोप्य राखिएको समाचारमा उल्लेख छ ।

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु गरिएको आयोजना समयमै नसकिँदा लागत बढेको खबर कारोबार दैनिकमा छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । यो आयोजनाको ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको कारबोबारको समाचारमा उल्लेख छ ।

भूकम्पले देवताहरुकै उठिबास !

भूकम्पमा परेर देवताहरुकै उठिबास लागेको खबर सुन्दा अचम्म लाग्ला । तर, ललितपुरको खोकनामा १७ जना जीवित देवताको उठिबास भएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, खोकनामा ४६ जना जीवित देवताको बसोबास रहेको दाबी यहाँका स्थानीय बासिन्दाको छ । तीमध्ये भूकम्पका कारण १७ जना देवताको बिचल्ली भएको हो ।

भूकम्पले बास उठेका दर्जनौं जीवितमध्येका एक हुन्, ७६ वर्षीय मानभक्त महर्जन । नेवारी संस्कृतिअनुसार २०११ सालमै उनी भगवान बनेका थिए । आर्थिक अभावका कारण घर बनाउन नसकेर टहरोमा बस्नुपरेको गुनासो गर्छन् उनी ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment