Comments Add Comment

पाँच महिनामै १३ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत

पाँच वर्षपछि उकालो लाग्दै लगानीको ग्राफ


२३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७४/७५ का पाँच महिनामै वैदेशिक लगानीको परिमाण गत आव ०७३/७४ को सीमानजिक देखिएको छ ।

उद्योग विभागले गत वर्ष कुल १५ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको थियो । यसपालि पाँचै महिनामा १३ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भइसकेको छ । पाँच महिनामा करिब एक सय ४२ वटा उद्योगका लागि उक्त रकम स्वीकृत भएको हो ।

‘गत एक वर्षमा आएजति रकम त अहिले पाँच महिनामै पुग्न लाग्यो,’ उद्योग विभागको वैदेशिक लगानी महाशाखा प्रमुख खगेन्द्रबहादुर बस्नेत भन्छन्, ‘यस वर्ष हामीले कम्तीमा २६ अर्ब रुपैयाँ भित्रिने आकलन गरेका छौं ।’

आर्थिक वर्ष ०७२/७३ मा ठूलो मात्रामा वैदेशिक लगानी भित्रिन सकेको थिएन । र, आव ०७३/७४ मा पनि त्यसले निरन्तरता पाएको थियो ।

बस्नेतका अनुसार आव ०७२/७३ मा १५ अर्ब २५ करोड रुपैयाँ भित्र्याउन स्वीकृति दिइएको थियो । आव ०७३/७४ मा १५ अर्ब रुपैयाँको मात्र लगानी स्वीकृत भएको थियो ।

आव ०६९/७० मा २० अर्ब रुपैयाँ भित्रिएको थियो । तीन सय १७ वटा उद्योग खोल्न विदेशबाट उक्त रकम आएको थियो ।

पाँच वर्षयता तथ्यांक विश्लेषण गर्दा प्रस्तावित उद्योगको संख्या बढेको छ । आव ०७३/७४ मा तीन सय ९८ वटा उद्योगका लागि विभागले लगानी स्वीकृति दिएको थियो । आव ०६९/७० मा उक्त संख्या तीन सय १७ थियो ।

‘पाँच वर्षको आँकडाअनुसार गत वर्षसम्म वैदेशिक लगानीमा गिरावट देखिए पनि सीमापारबाट भित्र्याइएको रकमबाट खुल्ने उद्योगको संख्या भने वृद्धि भएको देखिन्छ,’ बस्नेत भन्छन् ।

उनका अनुसार यस वर्ष दुई अर्बभन्दा ठूलो लगानीका आठ वटा उद्योग खोल्ने गरी वैदेशिक लगानी स्वीकृत भएको छ । जडीबुटी, बेभरेज, सिमेन्टजस्ता क्षेत्रमा यस वर्ष त्यस्तो लगानी भित्रिँदैछ ।

सानो परिमाणको लगानीबाट कपडा उद्योग खोल्ने स्वीकृति बढी दिइएको देखिन्छ । १२ वैशाख ०७२ को विनासकारी भूकम्पपछि अमेरिकाले नेपालमा उत्पादित ६५ वटा वस्तु आयातमा कर छुट दिएको छ । अमेरिका निर्यात गर्ने उद्देश्यले कपडा उद्योग खोल्ने क्रम बढ्नुको कारण पनि त्यही हो ।

नेपालमा श्रमिकको लागत कम हुने भएकाले अमेरिकीहरु नै कपडा उद्योगमा लगानी गर्न उत्सुक देखिएका छन् ।

राष्ट्र बैंकको अध्ययनअनुसार हालसम्म विदेशी लगानीसहित आएका दुई सय ५२ वटा कम्पनीमध्ये ३७ ले मात्रै उत्पादन क्षेत्रमा लगानी गरेको देखिएको छ । तीमध्येका पनि ११ वटाले मात्र उत्पादित वस्तु विदेश निर्यात गरिरहेका छन् ।

बस्नेत भन्छन्, ‘अब बन्ने सरकारले लगानीको वातावरण कस्तो बनाउँछ भन्ने कुराले विदेशबाट कति रकम भित्रिन्छ भन्ने निर्धारण गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment