Comments Add Comment

पौडेल समूहको बैठकः केन्द्रीय कार्यसम्पादन र संसदीय समिति भंग गर्न माग

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंंग गर्न माग गरेको छ । पौडेल समूहको भेलामा नेताहरुले केन्द्रीय कार्यसम्पादन र संसदीय समितिबाट राजीनामा दिन पनि समूहका नेताहरुलाई आग्रह गरेका छन् ।

सोमबार बसेको बैठकमा चुनाव हारको समीक्षा भएको छ । बैठकले कार्यसम्पादन र संसदीय समिति विधान विपरित भएको भन्दै भंग गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

कांग्रेसमा २९ सदस्यीय कार्यसम्पादन समिति छ भने टिकट वितरणका लागि संसदीय समिति बनाइएको छ । विधानमा बढीमा १४ सदस्यीय समिति हुने भनेपनि २४ सदस्यीय बनेको छ ।

बैठकमा नेताहरुले कार्यसम्पादन र संसदीय समितिमा रहेका समूहका नेताहरुलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

बैठकले केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग पनि गरेको छ । बैठकमा लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसक्नुका कारण, टिकट तथा स्रोतसाधन वितरण, जम्बो मन्त्रिपरिषद्, भ्रातृ संगठनहरुको गतिविधि शून्य हुनुका कारणबारे छलफल गर्नु पर्ने नेताहरुको सुझाव छ ।

साथै राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म अवसर नपाएका केन्द्रीय सदस्यहरुलाई अघि सार्नु पर्ने बैठकको जोड छ । नेताहरुका अनुसार केन्द्रीय समितिमा अहिलेसम्म अवसर नपाउने ७ जना छन्, जसमध्ये २ जना पौडेल समूहमा छन् । सुरेन्द्र पाण्डे, गुरु घिमिरे र कल्याण गुरुङ यो समूहमा छन् ।

पार्टीले पाउने अवसरको समुचित वितरण हुनुपर्ने भन्दै पौडेल समूहले समानुपातिकमा परेका तथा प्रत्यक्ष चुनाव लडेकाहरुलाई अघि नसार्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment