Comments Add Comment

के हो अस्मिता आत्महत्याको ‘सेक्रेट’ ?

सिड्नी । अंग्रेजी नयाँ वर्षको दिन भेटेर शुभकामना आदानप्रदान गरेकी आफ्नी साथी अस्मिता रिजालले दोश्रो दिन आत्महत्याको बाटो रोजिन भन्ने पत्याउन निभा गौतमलार्इ निकै गाह्रो भएको छ ।

सोमबार सिड्नीको बरूढमा आयोजित शोक सभामा पुगेकी उनकी निकट साथी निभा भक्कानिदै अस्मिताको शव अगाडि भन्दै थिइन ‘तिम्रो समस्या एक पटक हामीलाई भनेको भए अहिले यो स्थिति हेर्नु पर्दैनथ्यो , अस्मिता एक पटक उठेर भन तिम्रो यस्तो स्थिति किन भयो ?’

स्वभावमा निकै हक्की, कहिलेकाही तीन दिनसम्म पनि सुतिदिन सक्ने , यात्रा वा फुर्सदमा पुस्तक लगातार पढ्ने , आफ्नो मन मस्तिष्कमा खेलेको कुरा कसैसँग नभन्ने तर लेख्ने अस्मिताको स्वभाव उनका साथीहरुलार्इ अनौठो लाग्थ्यो ।

आफैले किनेर उपहार दिएको ‘अन्फर्गीभन’ पुस्तक सम्झना पूर्वक आफैसँग राख्दै निभाले भनिन-विश्वास गर्न गाह्रो भएको छ ।

काठमाडौँमा भएका अस्मिताका आफन्तसँग सम्पर्क अनुमति लिएर सोमबार दिउँसो अबनस्थित उनको डेरामा गएका निभासहितका उनका साथीहरुले कोठा सफा गरिदिए, पुस्तक, कपडा र समानहरु मिलाइ दिए ।

उनको संकलनमा इ एल जेम्सका ‘डारकर’ र ‘ग्रे’ , निकोलस स्पार्क्स को ‘द लक्की वान’ र ‘द बेस्ट अफ मी’ मार्टिना रिलीको ‘अ मोमेन्ट लाइक फरइभर’ सिसेला अहेनको ‘ पीएसआर्इ लव यू’ रोहंदा बेर्नको ‘द सेक्रेट’ जस्ता अंग्रेजी समाजका लोकप्रिय पुस्तकहरु भेटिए ।

रोहंदा बेर्न को ‘द सेक्रेट’ पुस्तकमा मानिसले जीवनका प्रत्येक परिस्थितिहरुका रहस्य हरूबारे लेखिएको छ । जसमा सम्पति , स्वाथ्य , सम्बन्ध , खुशी जस्ता कुराहरुको रहश्य के हुन्छ र तिनको परम्परागत बोलाइ र बुझाइबारे ब्याख्या गरिएको छ ।

अस्मिता पछिल्ला समय आफ्ना निकट साथिहरूसंगको सम्बन्ध , स्वाथ्य र आर्थिक अवस्था जस्ता कुराहरुले चिन्तित देखिएको उनका छिमेकीहरुले बताए ।

उनले आफ्ना अनुभूतिहरु लेख्ने गरेको भनिए पनि उनले लेखेका कुनै पनि डायरी भने कोठामा भेटिएनन् । उनी चार वर्ष अघि अध्ययनको लागि अस्ट्रेलिया आएकी थिइन् ।

सोमबार आयोजित संक्षिप्त शोक सभामा गैरआवासीय नेपाली संघका ओसियाना संयोजक धर्म अधिकारिले अस्ट्रेलियामा पछिल्लो समय यस्ता घटनाहरु भैरहेकोमा आफूहरु निकै चिन्तित भएको बताए ।

उनले भने – यो दुःखद घटनाबाट सिकेर हामी सबै आफ्नो वरपरका साथीहरु के कस्तो समस्यामा छन् सबैले जान्ने बुझ्ने र सहयोग गर्ने गरौ ।

अस्मिताको निधन भएको खबर थाह पाउने बित्तिकै उनका आफन्त तथा साथीहरुको खोजि गर्न तथा क्यानबेरास्थित नेपाली दुतावाससँग समन्वय गर्न खटेका जनप्रगतिशील मन्च अस्ट्रेलियाका सल्लाहकार शेषमणि शर्माले अस्ट्रेलियामा जुनसुकै नेपालीलार्इ जस्तो सुकै समस्या पर्दा पनि सबैले सहयोग गर्नु कर्तब्य हुने बताए ।

स्थानीय प्रहरीले उनको निधनबाट निकै भाबुक भएका र मानसिक रुपमा निकै नै पीडित भएका उनका साथी तथा आफन्तहरुलाई मनोवैज्ञानिक राहत दिन सहयोग गर्ने बताएको सामाजिक कार्यकर्ता ऋषि आचार्यले बताए ।

अस्ट्रेलिया सरकारले आफ्नो देशका वासिन्दाहरु कुनै पनि मानसिक समस्यामा नरहुन भनेर सचेत भएकाले उनको निधनको खबर सुनेका र देखेकालार्इ मनोवैज्ञानिक सहयोग गर्ने बताएको हो ।

उनको शवलार्इ परिवारको इच्छा अनुसार बुधबार नेपाल पठाइने ब्यबस्था गरिएको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका युबा संयोजक धर्म अधिकारिले बताए ।

उनले यो दुःखद घडीमा आर्थिक, नैतिक र भावनात्मक सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिए । अस्ट्रेलियामा हालै मात्र अर्की एक महिला तृप्ति पाण्डेले पनि आत्महत्या गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment