Comments Add Comment

एप्पल प्रमुखलाई निजी विमान चढ्न बाध्यकारी


आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ ।

एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ ।

एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइडरले जनाएको छ । बोर्डको निर्देशन छ कि अब उनले कार्यालय प्रयोजनमा मात्र नभई निजी काम वा घुमघामका लागि निस्कँदासमेत निजी विमान नै प्रयोग गर्नुपर्ने छ ।

एप्पल बोर्डले कार्यदक्षता बढाउन र आफ्नो सीइओको सुरक्षाका लागि पनि यस्तो निर्णय गरिएको जनाएको छ ।

कम्पनीका अनुसार कुकले अघिल्लो वर्ष व्यक्तिगत यात्रामा ९३ हजार १ सय १९ अमेरिकी डलर खर्च गरे । त्यस्तै सन् २०१७ मै उनले व्यक्तिगत सुरक्षामा २ लाख २४ हजार २ सय १६ अमेरिकी डलर खर्चेको बीबीसीले जनाएको छ ।

सन् २०१७ मा कुकको तलब ३० लाख डलर थियो भने बोनसबापट ९३ लाख डलर र सेयरबापत थप ८ करोड ९० लाख डलर प्राप्त गरेका थिए ।

एप्पलका अन्य उच्च अधिकारीहरुले पनि निजी विमान प्रयोग गर्न पाउँछन तर यदि उनीहरुले परिवारका सदस्यलाई संगै यात्रा गराएको खण्डमा त्यसको पैसा भने तिर्नुपर्छ ।

तर, अब प्रमुख कार्यकारीले ढुक्कसँग आफू र आफ्ना परिवारलाई पनि त्यसमा यात्रा गराउन पाउनेछन् ।

निजी विमानमा यात्रा गर्नु निकै महँगो हुने गर्छ । जसले गर्दा अमेरिकाका धेरै धनाढ्यहरु पनि निजी विमानमा यात्रा गर्न मन पराउँदैनन् ।

एप्पलका संस्थापक स्टीभ जब्स पनि निजी विमानमै यात्रा गर्दथे जुन विमान कम्पनीले उनलाई सन् २००० मा उपहारस्वरुप दिएको थियो । जब्सको मृत्युपछि एप्पलकै डिजाइन प्रमुख जोनी इभले सो विमान खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment