Comments Add Comment

युएईबाट समृद्धिको सपना बोकेर स्वदेश फर्कंंदै सन्तोष

स्वदेशमा यातायात, कृषि र रियल स्टेटमा लगानी गर्ने ईच्छा

२७ पुस, युएई । सयौं नेपाली युवा विदेश जाने सपना साँच्दै दिनहुँ पुलिस रिपोर्ट बनाउने लाममा छन् । परराष्ट्रमा पासपोर्ट बनाउनेको उस्तै ताँती छ भने डीभी भर्नेहरुको लर्को पनि कम छैन । लाखौं युवा प्लसटु नगर्दै स्टुडेन्ट भिसामा ‘यूके, अमेरीका या अष्ट्रेलिया उडने’ सपना बुनिरहेका छन् ।

बिदेशिने यो होडबीच एउटा खुशीको खबर आएको छ । युएईमा आˆनो व्यवसाय र लाखौंको कमाइ छाडेर एउटा नेपाली युवा स्वदेश र्फकने तयारी गरिरहेका छन् ।

उनी हुन्, बेलबारी मोरङका सन्तोष प्रसाई । नाम ‘सन्तोष’ भएकाले परदेशको कमाइबाट सन्तोष मानेर उनी र्फकन लागेका भने पक्कै हैनन् । उनी समृद्धिका सपना बोकेर र्फकदैछन् । नेपाल र नेपालीको आर्थिक अवस्था सुधार गर्ने योजनाकासाथ आफ्नै गाउँ जाँदैछन् ।

यो अवधिमा उनले मनग्यै कमाए । दाम कमाए र सामाजिक संस्थाहरुमा आबद्ध भएर स्वाभाविक रुपमा नाम पनि कमाए । पेशागत दक्षता आर्जन गरे । सीप सिके । अध्ययन गरे । आफूलाई प्राविधिक रुपमा दक्ष बनाए । कम्पनीमा पनि निरन्तर पदोन्नति गर्दै अगाडि बढ्दै गए । आत्मविश्वास बढाए । साथीसँगी बनाए । जनसम्पर्क बढाए । आफनो जीवनका ३७ वर्षको सेरोफेरोमा पुग्दा आम मानिसले जेजति कमाउँन सक्छन्, त्योभन्दा धेरै छिटो धेरै कुराहरु उनले कमाए ।

‘मेरो सफलताको यतिमात्र मापदण्ड हैन । सन्तोषको यति मात्र सिमा पनि हैन, मैले धेरै काम गर्नुछ’, सन्तोष भन्छन् ।

सन्तोष स्वदेश नर्फकदै उनको गुरु योजना बमोजिम नेपालमा यातायात, कृषि र हाउजीङको क्षेत्रमा काम सुरु भइसकेको छ । उन्नत ढँगले कुखुरापालनदेखि सस्तो मुल्यमा टिकाउ घर निर्माणको अभियानको श्रीगणेश भइसकेको छ ।

लेबरदेखि ‘एक्सपर्ट’ सम्म

सन्तोष तिनै हुन्, जो १५ वर्षअघि मासिक आठ सय दिराम तलबमा काम गर्न प्राविधिकको भिसामा युएई आएका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पूर्वाञ्चल क्याम्पस धरानबाट डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ अध्ययन पूरा गरेका सन्तोष सीएनसी टेक्निसियनका रुपमा युएई आएका हुन्, सन् २००४ मा । तर, उनलाई भिसामा उल्लेख गरेका काम दिइएन । लेबरका रुपमा काम गर्न भनियो ।

प्राविधिक काममा नयाँ नेपालीलाई राम्रो पदमा जिम्मेवारी दिने चलन अझै पनि धेरै कम्पनीमा छैन । नेपाल ‘लेबर सप्लाई गर्ने मुलुक’ भनी धेरैको मानसिकतामा छाप बसेको छ । राम्रोसँग अंग्रेजी बोल्न र लेख्नसक्ने, हक्की स्वभावका सन्तोषले आˆनो दक्षताबारे प्रकाश पार्दै ‘भिसामा उल्लेख गरेको काम दिनुपर्ने नत्र नेपाल फिर्ता गराइपाऊँ’ भनी प्रस्ट भाषामा अडान राखे । ४५ वर्ष पुरानो युएईको प्रतिष्ठित कम्पनीमा टेक्निसियन पदमा जनशक्ति तत्काल आवश्यक नभएपछि उनलाई लेबरमा राखेर अल्मल्याउन खोजिएको रहेछ ।

सन्तोष आˆनो सर्तमा टसमस नभएपछि कम्पनी उनलाई नयाँ जिम्मेबारी दिन बाध्यभयो । तर, उनले आफ्नो अनुभव विपरीतको प्लानिङ विभागमा काम गर्नुपर्नेभयो । उनको सर्त थियो, निर्धारित समयमा आफूलाई उक्त विभागमा काम गर्न योग्य बनाउने, उक्त अवधिमा आफूले नतिजायोग्य काम गर्न नसके नेपाल फिर्ता जाने ।

कम्पनीले शर्त मञ्जुर गर्‍यो । अन्ततः उनलाई विल्कुल नयाँ क्षेत्रमा काम दिइयो । कुशाग्रबुद्धिका धनी सन्तोषले आफूलाई निर्धारित समयभन्दा पहिल्यै उक्त विभाग सम्हाल्न योग्य सावित गरे ।

अध्ययनशील, मिहेनेती र कडा परिश्रम गर्न रुचाउने सन्तोष सोही कम्पनीमा चाँडै नै आन्तरिक बढुवा हुँदै गए । सुपरभाइजरदेखि सेल्स इन्जिनियर हुँदै १५ वर्षको अबधिमा विभिन्न विभागका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी सोही गुल्पÞm इटर्निट इन्डसटि्रज कम्पनीमा पछिल्लोपटक ‘प्रपोजल स्पेसलिस्ट’का रुपमा कार्यरत छन् ।

उनको मेहनत र लगनको कदर गर्दै कम्पनीले पनि धेरै पटक ‘उत्कृष्ट कामदार’ को उपाधि दियो । हजारौ कर्मचारीमध्ये कम्पनीबाट अमेरिकामा पठाइने उत्कृष्ट तीन जनामा आफु पनि मनोनयनमा परेका ती दिन सम्झँदा उनी गर्व गर्छन् ।

श्रमिकहरुका संगठक

गुल्फ इटर्निट इन्डष्ट्रिज कम्पनीमा बेलायती सेनाका अवकाशप्राप्त पदम राई मानव शँसाधन विभागमा काम गर्थे । उनै राईले प्रसाईलाई ‘नेपाली समाज यूएइ’मा आबद्ध गराएका थिए । नेपाली समाजबाट सुरु भएको उनको यात्रा एनआरएनसम्म पुगेको छ । एनआरएनको सदस्यबाट सुरु भएको उनको सामाजिक संस्थासँगको साइनो एनआरएनको युईएको महासचिव हुँदै सल्लाहकार संयोजकसम्म पुग्यो ।

सन् २००७ तिर एनआरएनए केही सीमित दायराभित्र रुमल्लिएको थियो । त्यो सीमित दायराबाट एनआरएनएलाई श्रमिक माझ पुर्‍याउने एक अभियन्ता सन्तोष पनि हुन् ।

‘दुबईभन्दाबाहिर रहेका नेपालीलाई एनआरएन बुझाउन कति रात कुन ठाउँसम्म पुगियो, त्यसको हिसाबै छैन’, प्रसाई भन्छन्, ‘रासअल खेमा, अजमान, फुजेरामा गएर नेपालीलाई संगठित गरेको दिन सम्झँदा गर्व लाग्छ ।’

सन् २०१५ देखि भने उनले आˆनो समय र सीपलाई व्यवसाय र समृद्धितर्फ केन्द्रित गर्न थाले । सन्तोषले नेपालको यातायात, कृषि र हाउजिङको क्षेत्रमा लगानी गर्ने आधारहरु युएईबाटै तयार पारेका हुन् । यससम्बन्धी प्रशासनिक, प्राविधिक तथा भौतिक निर्माणका काम तीव्र गतिमा अगाडि बडिरहेका छन् ।

यातायातमा नयाँ योजना

नेपालको यातायातमा क्रान्ति ल्याउने योजना बमोजिम सन्तोषले गोर्खा मोटर्सको स्थापना गरेका छन् ।

विदेशी सडकमा गुड्ने अत्याधुनिक सुविधा सम्पन्न सार्वजनिक बसहरु अब नेपालका सडकमा पनि गुडनेछन् ।

‘भारतको हैदराबादमा निर्मित सुविधासम्पन्न १५ वटा सार्वजनिक बस नेपालका पूर्वी सडकहरुमा केही साताभित्रै गुडाउने तयारी छ’, प्रशाइ भन्छन् ।

फ्री वाइफाई, एसी, कार्ड पेमेन्ट सिस्टम, अपांगमैत्री, चिल्ला र फराकिला सिट, डिजिटल डिस्प्लेसहितका सुविधासम्पन्न विभिन्न रंगका बसहरु पहिलो चरणमा काँकडभिट्टा बिराटनगर र काँकडभिट्टा धरान रुटमा चलाइँदैछ ।

भारतको हैैदराबादमा रहेको एक अत्याधुनिक बस बनाउने कम्पनीसँगको सहकार्यमा भित्रिन लागेका उक्त बसहरु निकट भविष्यमा मोरङको बेलबारीमा रहेको आफ्नै फ्याक्ट्रीमा उत्पादन गर्ने योजनाका साथ सन्लेतोषले काम अगाडि बढाएका हुन् ।

‘हामीले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउनेछौं, महिला सशक्तीकारण अभियानको ख्याल गर्दै बसहरुमा अधिकांश कर्मचारी महिला राखिनेछ । बसहरुमा महिला चालकलाई प्राथमिकतामा दिइनेछ’, प्रसाईं भन्छन् ।

गुर्खा मोटर्स नेपालकै पहिलो इलेक्टि्रक बस, कार र मोटरसाइकल बनाउने कम्पनीका रुपमा दर्ता भएको छ । डिजेलको विकल्पका रुपमा हेरिएका इलेक्ट्रिक बसहरु नेपालको सडकमा केही महिनाभित्रै उत्पादन गरी गुडाउनुका साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने गुर्खा मोटर्सको दाबी छ ।

‘गुर्खा मोटर्स बस बनाउने कम्पनी मात्र नभई नेपालको पहिलो इलेक्ट्रिक बस र सवारी साधन बनाउने कम्पनी बन्नेछ’, कम्पनीका सीइयो कविन्द्र प्रसाई भन्छन् ।

कुखुराका लागि दाना उत्पादन

१५ करोडभन्दा माथिको लगानीमा प्रसाई दाजुभाई, नवीन प्रसाईं, अनील सुवेदी र राजन सुबेदी मिलेर ‘श्री बेलबारी कृषक दाना उद्योग’ सञ्चालन गरिरहेका छन् ।

‘उद्योगलाई विस्तार गरी चल्ला उत्पादन र वितरण गरिनेछ । किसानबाट कुखुरा आफै किन्छौं’, प्रशाइले भने, ‘मिसिनबाट कुखुरा काट्ने, प्याकिङ गरी डिपफ्रिजमा स्टोर गर्ने र स्वदेश तथा विदेशमा निर्यात गर्नेसम्मका योजनाले मूर्त रुप लिइरहेको छ ।’

किसानका लागि कुखुराका खोरहरु पनि आफै बनाइदिने, नगरपालिका र गाउँपालिका कार्यालयसँग समन्वय गरी बेरोजगार युवालाई निशुल्क तालिम दिने र कुखुरापालन गर्न ऋणको व्यवस्थासमेत गरिदिएर नेपाली युवालाई आत्मनिर्भर बनाउने उनको योजना छ, जसबाट विदेशमा होइन स्वदेशमै मनग्यै पैसा कमाउने बातावरण निर्माण होस् ।

धुलो सफा गर्ने मेशिन

कम्पनीले गाडीमात्र होइन, मोटरबाट चल्ले सबै मेसिनको रिसर्च, उत्पादन तथा वितरणको अनुमति लिएको छ । यसले विश्वको कुनै पनि मानिस अथवा कम्पनीलाई आवश्यक पर्ने दैनिक उपयोगका मिसिन उत्पादन गर्नेछ । उदाहरणका लागि यो कम्पनीले बाटोमा धुलो सफा गर्ने अत्याधुनिक मेसिनको प्रोटोटाइप तयार पारेको छ । उत्पादनको क्रममा रहेको यो मेसिन सडक विभागलाई हस्तान्तरण गर्ने कम्पनीको योजना छ । यो मेसिनको सहायताले काठमाडैंको धुलो हटाउन सकिनेछ ।

पहाडका भित्ताहरुमा रहेका घरमा अति आवश्यक पर्ने औषधि पुर्‍याउने ड्रोनको निर्माण भैसकेको गुर्खा मोटर्सका टेक्निकल प्रमुख अनील कार्की बताउँछन् । त्यसैगरी नै ‘पानी मन्त्र’ नामको एक स्मार्ट मिसिन पनि निर्माण भैसकेको छ । जुनयन्त्रले घरघरमा रहेको पानी ट्यांकीमा पानीको अवस्था बताउनेछ । अटोमेटिक रुपमा पानी भर्ने र ट्यांकी भरिएपछि आफै बन्द गर्नेछ ।

‘यो मेसिनको छुट्टै एप निर्माण गरिएको छ र एपको माध्यमबाट ट्यांकीको पानीको मात्रा, पानीको खपतलगायत सबै विवरण पाउन सकिन्छ’ गुर्खा मोटर्सका रिसर्च एन्ड डेभलपमेन्ट प्रमुख विक्रान्त कार्की बताउँछन् ।

त्यसो त निम्न वर्गीय नेपालीको आफ्नै घर होस् भन्ने उद्देश्यका साथ नयाँ प्रविधिका घरहरु बनाउन आवश्यक सामग्रीको उत्पादन गर्ने प्रसाईको योजना छ । यस्तो प्रविधिबाट चार कोठे एक तले घर करिब १० लाख रुपैयाँमा र २ तले घर १८ लाख रुपैयाँभन्दा कम खर्चमा तयार पार्ने इको हाउजिङ कम्पनीको योजना रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment