Comments Add Comment

नारायणी उपक्षेत्रीय अस्पतालका १४ सटरमा प्रशासनको सील

२८ पुस, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतल परिसरमा सञ्चालनमा रहेका औषधि र खाजा पसलमा प्रशासनले शुक्रबार सील गरिदिएको छ । पटक-पटक अस्पताल व्यवस्थापन समितिले सटर खाली गरिदिन गरेको आग्रहलाई अटेर गरेपछि प्रशासनले १४सटरमा सील गरिदिएको हो ।

प्रशासनले सटरमा सील लगाउने जानकारी पाएका औषधि तथा नास्ता पसलेहरुले शुक्रबार अबेरसम्म औषधि पसल खोलेका थिएनन् । प्रशासनले कडा सुरक्षा व्यवस्था गरेर सटरहरुमा लहा छाप लगाइदिएको छ ।

प्रशासनको निर्देशनमा अस्पताल हाताभित्र रहेका सटरहरु सील गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिश कर्णले जानकारी दिए । व्यवसायीहरुको औषधि र नास्ता पसलका समान सबै सटर भित्रै छ । योसँगै अस्पताल र सटरवालाहबीच लामो समयदेखि चलिरहेको द्वन्द्वले नयाँ मोड लिने भएको छ ।

अस्पताल हाताभित्र नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सँगै कृष्ण कोल्ड स्टोर, गुप्ता होटल लगायत १४ वटा पसल सञ्चालनमा छन् ।

अस्पताल हाताभित्र रहेका औषधि पसलहरूले मासिक २ हजारदेखि २० हजारसम्म भाडा तिर्ने गरेको लेखा शाखाले जनाएको छ । अस्पताल प्रशासनले सटरधनीहरुसँगको सम्झौता सकिएको भन्दै पटक पटक सटर खाली गर्न आग्रह गर्दै आएको थियो । तर सटरधनीहरुले अटेर गर्दै आएका थिए । पछिल्लो पटक अस्पतालले पुस २५ गतेसम्म सटर खाली गराउने अन्तिम म्याद दिएको थियो । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले अस्पताल भित्र रहेका औषधि पसलहरू हटाउन निर्देशन दिएको थियो । अस्पतालले आफ्नै औषधि पसल समेत स्थापना गरेर सेवा शुरु गरिसकेको छ ।

लामो समयदेखि अस्पताल प्रशासनले सटर खाली गराउने प्रयास गरे पनि औषधि व्यवसायीहरूले राजनीतिक दवाव दिनुका साथै अदालतमा मुद्दा दर्ता गरेर रोक्दै आएका थिए । तीन वर्षदेखि अस्पताल तथा सटरधनीहरुबीच विवाद चल्दै आएको थियो ।

अस्पतालमा आफ्नै औषधी पसल सञ्चालनमा आइसकेको अवस्थामा त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउन अस्पताल हाताभित्र रहेका औषधि पसल हटाउनु स्वभाविक भएको अस्पताल प्रशासनको तर्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ताले अस्पतालको आग्रहमा प्रशासनले सटरमा सील गरेको बताए । ‘हामीले सटर खाली गर्न पटक पटक आग्रह गरेका हौं, उहाँहरुले अटेर गर्दै आउनुभएको थियो ।’ उनले भने ‘अस्पताल प्रशासनले दिएको पछिल्लो म्याद सकिसक्दा पनि व्यवसायीहरुले सटर खाली गरिदिएनन् । हामीले प्रशासनको सहयोग लिन बाध्य भयौं ।’

अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले अब प्रशासनको अगुवाइमा सटर खाली हुने विश्वास व्यक्त गरे । ‘अस्पतालमा हाल ओपीडी सञ्चालनमा रहेको भवन भत्काएर नयाँ भवन बनाउने तयारी भइरहेको छ । त्यसपछि ओपिडी सेवा सञ्चालनमा समस्या आउँछ ।’ उनले भने ‘त्यो भन्दा अगाडी सटर खाली भएको खण्डमा सडकपट्टीको भागमा पर्खाल लगाएर भित्रपट्टी सटर निकालेर ओपीडि त्यसैमा सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment