Comments Add Comment

२० औं भूकम्प सुरक्षा दिवसको सबै तयारी पूरा, सुरक्षित घर अभियान पनि शुरु

२८ पुस, काठमाडौं । २० औं भूकम्प सुरक्षा दिवस मनाउने सबै तयारी पूरा भएको छ । यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल समारोह माघ २ गते काठमाडौंको बसन्तपुरमा आयोजना हुँदैछ ।

भूकम्प सुरक्षा दिवसको अवसरमा २ गते बिहान ११ बजे न्यूरोडको भूगोल पार्कमा स्मृति सभा आयोजना हुने छ भने मूल समारोहको कार्यक्रम दिउँसो १.३० बजे तय गरिएको छ ।

यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ राखिएको छ ।

दिवसको अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्माले भने, ‘देश संघीयतामा गइसकेको परिप्रेक्षमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको अहम् भूमिका रहने हुनाले यस वर्षको भूकम्प

सुरक्षा दिवसको नारामा समेत स्थानीय सरकारलाई सबल बनाउने कुरामा जोड दिइएको हो ।’

विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

सुरक्षित घर अभियान नेपालको शुभारम्भ

कार्यक्रममा सुरक्षित घर अभियान नेपालको शुभारम्भ पनि गरियो । २० औं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले भूकम्प सुरक्षा दिवसको तयारीको अवस्था तथा भूकम्प सुरक्षा दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउन शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त अभियानको शुभारम्भ गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा, गृहमन्त्रालयका सहसचिव कृष्ण राउत, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक डा. आमोदमणि दीक्षित तथा काठमाडौ महानगरपालिका विपद् ब्यवस्थापन विभागका प्रमुख इन्द्रमानसिंह सुवालले संयुक्त रुपमा अभियानको शुभारम्भ गरे ।

अभियान समाजिक सञ्जाल मार्फत भूकम्प प्रतिरोधी घर संरचना निर्माणको लागि जनमानसमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले गरिएको २० औं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार समिति संयोजक तथा शहरी बिकास तथा भवन बिभागका महानिर्देशक शर्माले जानकारी दिए ।

सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य पूर्वतयारी तथा सुरक्षित भवन निर्माण लगायतका विषयमा यथेष्ट र प्रभावकारी प्रचार प्रसार भएमा भविष्यमा भूकम्पबाट जनधनको क्षति कम हुने भन्दै शर्माले यसलाई व्यापक बनाउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले नेपाली जनताले भोग्दै आएको बहुप्रकोपीय जोखिम न्यूनीकरणका लागि जनचेतना वृद्धिलगायत विविध उपायमा ध्यान दिनुपर्ने बताए ।

गृह मन्त्रालयका सहसचिव तथा विपद् ब्यवस्थापन महाशाखाका प्रमुख कृष्ण राउतले भूकम्पीय सुरक्षालाई संस्कृतीको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको र भूकम्प सुरक्षा दिवसले जनतालाई यस तर्फ उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय भौगर्भिक समाजका अध्यक्ष डा. कविराज पौड्यालले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा इन्जिनियरिङ पक्ष, गुणस्तरीय निर्माण सामग्री जस्ता कुराहरुमा मात्रै महत्व दिने गरिएको तर जमिनको अवस्थामा ध्यान दिने नगरिएको भन्दै यसलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक डा. आमोदमणि दीक्षितले भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि विभाग, नगरपालिका तथा गाउँपालिकाहरुलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment