Comments Add Comment

व्यङ्ग्यः लठैत

सबैको चाडबाड सकियो भन्छन्, आफ्नो त पाँच वर्षपछि बल्ल आएको छ । बा-आमाले जति करकर गरे पनि क्याम्पस पढ्ने दुःख बेसाइएन । आफूले जानेको एउटै कुरो- जसको लाठी, उसकै भैंसी ।

लाठी चलाएर डन बनिन्छ, डन बनेर धन जोडिन्छ । धन भएको डन नै मन्त्री बन्ने हो । तसर्थ, चुल्ठी-मुन्द्री र पाखुरीमा मेरो विश्वास बेपत्ता बढ्यो । अनि, बल्ल आएको चुनावी चाड मनाउने पूर्वतयारीस्वरुप चुल्ठो बाँधियो, मुन्द्रा धारण गरियो ।

यो सिजनमा एक धनवान उम्मेदवारको पछि लागिएकाले दिन कटनी राम्रो छ । लूटको धनमा मजाले हात सेक्न पाइया छ । र पनि, अलिकति टेन्सन छ नै !

तुल, ब्यानर, पोस्टर, पम्प्लेट, घरदैलो, जुलूस, ठोकठाक सबै गरिदिएकै हो, र पनि नेताजीको चित्त बुझेनछ । उनको पक्षमा माहोल बनेन रे ! थप लठैत खोज्न पठाए भन्ने सुनेर नेताजीको घरतिर दौडिएँ- यिनको पक्षमा माहोल ल्याइदिने हामीभन्दा उम्दा लठैत अरु को रहेछन्, हेर्ने मनसुवाले पनि ।

ठिक्क समयमा पुगिएछ, उम्मेदवारका पीएले एउटा फुकीढललाई डोर्‍याउँदै ल्याए । यिनले पनि ग्याङ चलाउँदा रहेछन् ! मलाई नहाँस्न गाह्रो भयो । नेताजीले उनलाई आफूसँगै विराजमान गराउँदै भने, ‘जति गरे पनि भनेजस्तो चुनावी माहोल बनाउन सकिएन । तपाईंको कलम तिखो छ, हाम्रो पक्षमा लेखिदिनुपर्यो ।’

‘सिजनको बेला मोही माग्न ढुंग्र्रो लुकाएर किन समय बर्बाद पार्नू ? वैचारिक धारको सम्बन्धमा म अन्तै प्याक भइसक्या छु । त्यसबाहेक ताछ्ने र रन्दा लाउने काम छ भने भन्नुस्,’ लेखक महोदयले भने ।

‘अलिक बुझिएन हजुर… ।’

‘प्रतिस्पर्धी उम्मेदवारलाई नांगेझार पार्न ताछ्ने । कसैको व्यक्तित्व चिल्याएर उजिल्याउन रन्दा लगाउने । ताछ्नचाहिँ अलिक महँगो छ, निकै जोखिम मोल्नुपर्छ,’ लेखकले खुलस्त पारे ।

‘ताछ्ने र रन्दा लगाउने दुवै गरिदिनुस् न त मेरा लागि । कति लिनुहुन्छ ?’

‘दुवै काम एउटैले गर्न मिल्दैन । हामी पाँच जनाको समूहमा छौं, यसैबाट मिलाएर गर्नुपर्छ । मूल लेखकसँग जतिमा अनुबन्ध हुन्छ, त्यसको २५/२५ प्रतिशत थप रकम समूहका प्रत्येकलाई बुझाउनुपर्छ । यो हाम्रो नियम हो । सर्त मञ्जुर भए सुरु गरौं ।’

‘एउटालाई लगाएको कामका लागि पाँच जनालाई किन पैसा तिर्ने ? यो कुरो अलि बुझिएन ।’ बुद्धिजीवी भएर पनि ठग्न खोज्ने भनेझैं गरी नेताजीले किञ्चित चर्को स्वर पारे ।

‘तपाईं कुरा बुझ्नुहुन्न, त्यसैले नेता हुनुहुन्छ । हामी बुझ्नेहरु विद्वान कहलिन्छौं । मान्छे उराल्न लेखेर मात्र हुन्न, विश्वसनीयता पनि कायम राख्नुपर्छ । समूहका सबैले एकअर्कालाई उम्दा र स्वतन्त्र घोषणा गरेपछि मान्छेले पत्याउँछन् । सामूहिक मिहिनेत गरेपछि भुक्तान पनि तदनुरुप हुनै पर्‍यो ।’

‘तपाईंको समूहमा को-को छन् ?’

लेखकले समूहका सदस्यहरुको नाम सुनाउँदै जाँदा नेताजी बुर्लुक्क उफ्रिंदै कुर्लिए, ‘मलाई अस्ति ताछ्ने तपाईंकै साथी पो रहेछ ! नराम्रोसँग ताछेर मर्‍यो त्यसले ।’

फेरि सहज हुँदै नेताजीले सोधे, ‘तिनलाई भनेर फेरि चिल्याउन मिल्दैन ?’

‘यो रन्दा लगाउने नभई रफ्फु गर्ने काम पर्‍यो, जुन गाह्रो र महँगो दुवै छ । रफ्फु गरेर दुरुस्त पार्न कठिन पनि छ । अर्काको टाल्न खोज्दा, आफ्नै भ्वाङ पर्ने डर Û समूहको सर्वसम्मत निर्णयबेगर यो कामको बैना समाउन मिल्दैन ।’

‘तपाईंको समूहमार्फत् गर्न मिल्नेजति सबै गर्नुस्, पैसाको चिन्ता छैन,’ नेताजीले पोटिलो खाम थमाउँदै भने, ‘तर, मेरो पक्षमा चुनावी माहोल बन्नुपर्‍यो ।’

यसरी बिदावारी भएका लेखक महोदयलाई मैले भर्‍याङबाट ओझेल नहोउञ्जेल टोलाएर हेरिरहें, आफ्नो पाखुरी र त्यो झिनो कायाबीच तुलना गर्दै । मानसपटलमा उसले लिएको खाम नाच्न थाल्दा आफ्नो चुल्ठी-मुन्द्री र पाखुरी बित्थाको भार लाग्न थाल्यो ।

लेखक महोदयले हतारमा सोफामै छाडेका दुइटा पुस्तक टिपेर म भर्‍याङतिर हान्निएँ । कानको मुन्द्रा खोलेर सडकमै मिल्काइदिएँ । अनि, पारिपट्टी सैलुनमा पसेर भनें, ‘यो जुल्फी पूरै काटिदेऊ !’

(महेश थापाको व्यंग्यात्मक कृति नामोनमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment