शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

कविता: दुइटा पृथ्वी

सुनिता खनाल


पुतलीहरुको निम्ति
प्रवेश निषेध लेखिएको फूलबारी हुँदैन
चराहरुको पखेटालाई चाहिँदैन इन्धन
घर बनाउने माटो किन्नु पर्दैन कमिलाहरुलाई
मौरीहरुले तिर्नु पर्दैन महको ट्याक्स
फुलेपछि थाप्दैनन् फूलका बोटहरुले तलब
पानीले थाप्दैन माछाहरुको निम्ति जाल
माटोले गर्दैन भुइँनिकाला कुनै पनि बिउलाई
रङहरुको आफ्नै छैन कुनै थरगोत्र
ढुंगाहरुको छैन कुनै राज्य
आकाशले हान्दैन पत्थर पृथ्वीलाई
घामले कहिल्यै कोर्दैन सिमाना
किनभने उनीहरुको देशमा
छैन कुनै कानुन, छैन संविधान
छैन अधिकारको सवाल ।

सबथोक छ तिम्रो देशमा
जहाँ बन्दुक तेस्र्याएपछि फुल्छ फूल
गोली हानेपछि चल्छ हावा
मसिना नानीहरुको ओठमा
पटका झोसेपछि आउँछ गणतन्त्र
फूलहरुले लगाउँछन् ढुंगाको पर्खाल
भगवान् कैदी हुन्छ क्रमशः क्रमशः !

स्वास्नीको कोखमा
बढ्दै जान्छ बारुदको भ्रूण !
बेरोजगार आगो
कमजोर मानिसको जिउ खोज्दै आउँछ
कमजोर बस्तीको झ्याल खोल्दै पस्छ
र लुट्छ निर्दोष इन्द्रेणीहरुको सिउँदो ।

एउटै पृथ्वीमा
यो दुइटा पृथ्वी बनाउने को हुन् ?
बुद्ध !
मलाई तिम्रो नाममा शंका छ ।

२०७४ पुष २९ गते ८:५६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Kaushal Poudel लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १२:५८

    Appreciable, have a very distinct vision on this world phenomenon, Keep it up.

    1
    0
    Share

  • rajan khanal लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते १०:३६

    ramro chha di.keep it up

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this