Comments Add Comment

प्रदीप मेन्याङ्बोः जो मुन्धुममा ‘सेक्स’ खोज्दैछन्

छन्द कवितादेखि यौनिक मुन्धुम कवितासम्म


२९ पुस, इटहरी । धेरैले मुन्धुमलाई किरातीहरुको मौखिक धार्मिक दस्तावेज र लोक साहित्य पनि भन्छन् । धार्मिक र सांस्कृतिक अध्ययनको गन्तव्य बनेको मुन्धुममा धराने साहित्यकार तथा पत्रकार प्रदीप मेन्याङ्बो भने ‘सेक्स’ खोज्दैछन् ।

सबैले मुन्धुममा किरातीहरुको आदिम सांस्कृतिक सम्पदा र मौलिक धार्मिक आयामहरु खोजिरहँदा मेन्याङबो भने मुन्धुममा यौन खोजिरहेका छन् ।

आखिर किन ?

पत्रकार एवं साहित्यकार प्रदीप मेन्याङबोको युवाकालीन इच्छा नै यौन मनोविज्ञानमा पीएचडी गर्ने थियो । यो सोच ०५५ बाट आएको उनी बताँउछन् ।

यौन मनोविज्ञानमा पीएचडी गर्ने हुटहुटी चलेपछि मेन्याङ्बोले नेपाली र भारतीय साहित्यका यौन कथाहरु पढ्न थाले । यौन मनोवैज्ञानिक कथाहरु छान्न थाले । र, यसैको उपज उनको पहिलो कथा संग्रह ‘पुरुष गन्ध’ जन्मियो । यस संग्रहमा उनले केही यौन मनोविज्ञानका कथाहरु लेखेका छन् ।

मुन्धुममा ‘छाडा कथा’ छन् भन्ने सुनेपछि…

यौन मनोविज्ञानको लामो आकर्षण र मुन्धुम मोहसँगैको एक चियागफले आफूलाई मुन्धुमको ‘सेक्स हन्ट’ गर्न हौस्याएको मेन्याङ्बो बताउँछन् ।

कुरा सात बर्ष अगाडिको हो । धरानको एक चियागफमा भेटिए लिम्बुवान र मुन्धुमका अध्येता अर्जुनबाबु माबुहाङ । माबोहाङले मेन्याङबोलाई मुन्धुम कथाका बारेमा राखिएको जिज्ञासामा सटकट उत्तर दिए- ‘मुन्धुममा त छाडा कथाहरु मात्रै छ हौ । कतै तरुनीले कापेमा बसेर गुप्ताङ्गमा हावा घुसाएको, र कतै के गरेको… ।’

हाल तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर रहेका माबुहाङको त्यो मुन्धुमको यौनिक सारांश व्याख्याले नै आफूलाई मुन्धुमभित्रको ‘सेक्स’ बारे अध्ययन गर्ने मोह जगाएको मेन्याङबो बताउँछन् । उनी भन्छन, ‘मुन्धुम त आफ्नो तरिकाले पढ्दै आएको हो, तर माबुहाङले भनेपछि यौन आँखाले थप पढ्न थालें अनि धेरै नयाँ कुराहरु आए ।’

मुन्धुमको मौलिक यौन चरित्र

मौखिक दस्तावेजबाट लिखित दस्तावेजमा रुपान्तरित मुन्धुम अझै पनि पूर्ण ग्रन्थ बन्नै बाँकी रहेको मेन्याङबोको तर्क छ । बैरागी काइँला, लक्ष्मण मेन्याङबो र भरत तुङघङ जस्ता केही मुन्धुमका व्याख्याताले लेखेका पुस्तकबाट आफूले मुन्धुमबारे दृष्टिकोण बनाएको मेन्याङ्बो बताउँछन् ।

‘हाम्रो मुन्धुम अहिले नै पूर्ण विकास भएको ग्रन्ध भइसकेको छैन’, मेन्याङबो भन्छन, ‘तर, अहिले पढेका किताबहरुबाट निश्कर्ष निकालेर मात्रै आफ्नो विचार दिइरहेको छु ।’

आफूलाई मुन्धुमको अध्येता नभनेर सामान्य पाठक मान्ने मेन्याङ्बो मुन्धुममा व्याख्या गरिएको यौन चरित्र बेग्लैखालको भएको बताउँछन् ।

नाम्सानी केसानी मुन्धुममा व्याख्या गरिएकी एक आदिम स्त्री पात्रको उदाहरण दिँदै उनी यो कुराको उदाहरण दिन्छन । ‘मुन्धुममा इप्ना सरेङ्धङ्ना भन्ने एक पात्र छिन् जो एक्ली स्त्री हुन्छिन् । घरि तेमेनलाजे भनिने भारतबर्ष त घरि सिन्युकलाजे भनिने उत्तरी चीन क्षेत्रमा जान्छिन्’ मुन्धुम पात्रको यौन चरित्रको प्रशंगमा उनी भन्छन्, ‘तर कतै पनि सहवास गर्ने पुरुष पात्र नपाएपछि उनी रुखको कापेमा बस्छिन् । त्यहाँ आएको हावा गुप्ताङ्गमा प्रवेश गरेपछि उनले शान्त र आनन्द महसुस गर्छिन् ।’
यस कथामा कतिपय मुन्धुमविदले हावालाई तत्कालीन पुरुष पात्र अथवा राजाको रुप भनेर पनि व्याख्या गरेको मेन्याङबो बताउँछन् ।

मुन्धुममै व्याख्या गरिएका सृष्टिकर्ता तागेरा निङवाफुमाङले सृष्टि गरेको भनिएको अर्काे एक स्त्री चरित्र पनि नौलो लाग्छ मेन्याङबोलाई ।

ती युवतीले आफू वयस्क भएपछि कुनै पुरुष चरित्र नभेटाएपछि आफ्नो स्तन याक्लापुसा नामक मुन्धुममा वणिर्त किरालाई चुसाउँछिन् । पछि स्त्रीका पिताले थाहा पाएपछि स्त्रीको दूध खाएर पोटिलो भएको याक्लापुसालाई मार्छन् ।

बिजुवाले थाल ठटाएका पुलती आकारमा नाच्ने मुन्धुम संस्कार पनि यौनिक रहेको मेन्याङबो बताँउछन् ।

मुन्धुमलाई मातृसत्ता स्थापना गर्ने ग्रन्थ पनि मान्छन् मेन्याङबो । आदिमकालको मानवका रुपमा पहिलो सृष्टि महिलाकै गर्नु, बिजुवा र फेदाङवाका मूल आठ गुरुहरु सबै महिला हुनुले मुन्धुममा मातृसत्ता भेटिने उनको तर्क छ ।

छन्द कवितादेखि यौनिक मुन्धुम कवितासम्म

ताप्लेजुङको थेचम्बु छाडेर ०३० सालमा ६ बर्षको उमेरमा झापा झरे मेन्याङबो । झापामा आएपछि साहित्य संक्रमण भएका मेन्याङबोले कविता लेख्न थाले । त्यो पनि छन्दमा । छन्द कविता लेख्न सिकाउने पुस्तक हेरेर आफूले राम्रो छन्द कविता लेखेको उनी सम्झन्छन् ।

बाहुनहरुले धेरै लेख्ने छन्द कविता लेख्न पोख्त मेन्याङ्बोले एक दिन कविता प्रतियोगितामा भाग लिए । भाग लिनुको एक मात्र उद्देश्य प्रथम हुँदा पाउने तीन थान नयाँ कापी मात्रै थियो । जुन कापीले मेन्याङबोलाई चार महिना पुग्थ्यो ।

पारिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी पाउनै छन्द कविता लेखेर प्रतियोगितामा भाग लिएका मेन्याङ्बो प्रथम भए । तर, ‘लिम्बुले कसरी छन्दमा कविता लेख्यो’ भन्ने प्रश्न गर्दै मेन्याङबोलाई ‘किक आउट’ गरियो ।

कवितामा प्रथम हुन नपाएको पीडा भन्दा चार महिना पुग्ने तीनवटा कापी गुमाएकोमा धेरै पीडा भएको बताउँछन् उनी । त्यही दिनदेखि उनले छन्द कविता लेख्न छाडे । आफूलाइ प्र्रथम हुन नदिने शिक्षक माधव खतिवडाले पछि आफूलाई भेटेर ‘पाप’ गरें भनेर स्वीकारेको मेन्याङबो सम्झन्छन् ।

आफूले एसएलसी सकेर धरान आएपछि कविता कर्ममा पुरस्कृत भएपछि भेटिएका पूर्वशिक्षक खतिवडाको प्रायश्चित गरेको मेन्याङबो बताउँछन् ।

छन्द कवितादेखि मुन्धुम कवितासम्मको यात्रा गरेका मेन्याङबोको यौन मानोविज्ञानमा पीएचडी गर्ने सपना साकार हुनै बाँकी छ । तर, आफूले सोच्दै नसोचेको आफ्नो कथा कोर्षबुकमा पर्ने कुरा भने विपना भएको छ । ०६० सालमा बजारमा आएको उनको ‘पुरुष गन्ध’ कथा संग्रहको ‘अज्ञात सहित’ कथा ०६५ सालबाट बीएड तेस्रो बर्षको अंग्रेजी विषयमा पाठ्य सामाग्रीका रुपमा पढाइ हुन्छ ।

छन्द कविताबाट मुन्धुम कवितासम्म आएको यात्रा अब कता पुग्ला ? यो प्रश्नमा मेन्याङबोले भने- ‘त्यो सबै उत्तर सुनाउने प्रश्नको जवाफ मसँग केही छैन । तर, यो मुन्धुम कविताचैं छ । त्यै सुनौँः

इप्ना सरेङ्धङ्ना

लठ्याएपछि माटोको बासनाले
कोट्याएर सुँघ्दै माटो चपाउने -इप्ना सरेङ्धङ्ना
अमिलो, पिरो खोज्दै भौंतारिने -इप्ना सरेङ्धङ्ना
आदिम जुम्ल्याहा समयकी आमा- इप्ना सरेङ्धङ्ना
……………………………
थिएन गल्ती कसैको
होइन भूल पनि त्यो
साप्सुको हेल्लाङयक- निभू खोलाकिनारमा
भर्खरै भर्खरै बनेको प्रस्तरको खोपिल्टा
शायद, इप्नाको अक्षत योनीको पनि गल्ती थिएन
अर्थात, आदिम कामूकताको जंगली स्वाद
इप्ना सरेङ्धङ्नाको योनीले स्पर्श अनूभूति गरेकै थिएन ।
……………..
जुम्याहा समय जन्माउने इप्नाको अक्षत योनी
पट्टेर जंगलको वीचमा
अर्थात साप्सुको ढुङ्गामा बनेको दुई खोपिल्टामा
थाम्न नसकेर बैंश फाक्सेराले
हस्तमैथुन पछि झरेको वीर्य
अनि,
पुरुषत्वको अहंकार गर्दै
बाघले पनि आफ्नो वीर्य झार्‍यो कि ?
………………………
तीर, धनुकाँड बोकेर
मृगको शिकारमा निस्केको
फाक्सेरालाई पछ्याउँदै पछ्याउँदै
साप्सुको जंगल पुगेकी इप्ना सरेङ्धङ्ना
बैंशको तिर्खाले व्याकुल हुँदै
त्यही च्याप्टो ढुङ्गामाथि उत्तानो परिन्
त्यहीँ घोप्टिइन्
त्यहीँ कोल्टे फेरिन्
र,
त्यहीँको खोपिल्टामा
जुम्लाहा समयको वीर्यलाई
अञ्जानै पिएर तिर्खा मेटिन्
यद्यपि, बैंशको तिर्खा मेटिएपछि
त्यहाँ आफूलाई एक्लै भेटिन् ।
………………
मृग मारेर उता फाक्सेराले
बाँड्यो बिलो तिगेञ्जङ गाउँभरि
बाँड्दै बाँड्दै बिलो
इप्ना सरेङ्धङ्नाको गुन्युमा पनि
अलिकति पोको पारी राखेर
निस्क्यो फेरि अर्को मृगको शिकारमा ।
……………
माटोको बासनामा
लटि्ठएर माटो चपाउने
अमिलो पिसोको चाहनामा जताततै भौंतारिने
इप्नाको गर्भमा
जुम्ल्याहा समयले आफ्नो रुपसँगै आकार बनाउँदै
पृथ्वीमा अवतरण गरेपछि
पाप र व्यभिचार पनि सँगसँगै
जन्मिए तिगेन्जङ गाउँमा
पहिलोपटक पृथ्वीमा तयार हुँदै गरेको आदिम सभ्यतामा ।
अर्थात्
एउटा समय थिइन् इप्ना सरेङ्धङ्ना
समयले समय जन्माउँछ
दुई वटा समय पालैपालो जन्माइन्
पुशत्व र मानवीय सम्वेदनाको
विम्व जन्माइन्- केसामी र नाम्सामी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment