Comments Add Comment

प्रथम राष्ट्रिय खुला लोक भजन प्रतियोगिता पाेखरामा हुने


२९ पुस, पोखरा । राष्ट्रिय खुला लोक भजन प्रतियोगिताको लागि जिल्ला तहमै अडिसन हुने भएको छ । फागुन १२ गते पोखराको प्रदर्शनी केन्द्रमा हुने फाइनलका लागि १५ समूह छनोट गर्न जिल्लास्तरमै अडिसन गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रभासले बताए ।

लायन्स क्लब अफ पोखरा भद्रकाली र पुष्पाञ्जली भजन समूह पोखराको आयोजनामा फागुन १२ मा प्रथम राष्ट्रिय खुला लोक भजन प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको बारेमा जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक प्रभासले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि थालिएको अभियान सफल बनाउन सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ५० हजार रुपैयाँका साथमा एउटा भजन रेकर्डिङको गराउन पाउनेछन् । यसैगरी दोस्रोले ३० हजार, तृतीय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार ५ समूहलाई ३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिए ।

लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष भरत कोइरालाले सेवा, नेतृत्व विकास र भाइचारको सिद्दान्तबाट निर्देशित लायन्सले संस्कृति जगेर्नाका लागि सानो पहल थालेको बताए । पुस मसान्तसम्म समूह दर्ता गर्न सकिनेमा हालसम्म २ दर्जन भन्दा बढी समूह सम्पर्कमा आएको उनले जानकारी गराए ।

कलाकार तथा लोक गायक प्रजापति पराजुलीले अब लोक भजन जगेर्नाका लागि अभियान नै सुरु गर्नुपर्ने बताए ।

संस्कृति जगेर्नामा लागि परेका अभियन्ता रमेशकान्त अधिकारीले अबको पुस्तालाई धर्म र संस्कृतिको फरक बुझाउनका लागि पनि यस्ता अभियान जरुरी रहेको बताए ।

गीत गाएर, नाचेर अनि बजाएर पनि जीवन चल्नुपर्छ अनि नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यका साथ भजन प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक तुलसी प्रवासले बताए ।

माघ महिनाभर देशका विभिन्न स्थानमा अडिशन हुने र सबैतिरबाट उत्कृष्ट ठहरिएका समूहलाई अन्तिम चरणको प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएका छन् । पोखरा बाहिरका सहभागी समूहलाई आउने जाने खर्च उपलब्ध गराइने छ । प्रतियोगितामा परम्परागत बाजा खैजडी, मुजुरा, मृदंग, मादल, हार्मोनियम प्रयोग हुनेछन् । सहभागी प्रतियोगीलाईपरम्परागत जातीय पोसाक अनिवार्य गरिएको छ ।

अन्तिम प्रतियोगितामा एउटा समूहले बढीमा २० मिनेटको समय पाउने र भजनको साथमा नृत्य र झाँकीहरू पनि देखाउन सकिने संयोजक प्रभासले जनाए ।

समूह दर्ताका लागि १ हजार शुल्क तोकिएको छ भने दर्शकका लागि १ हजार, ५ सय र २ सय रुपैयाँका टिकटको व्यवस्था गरिएको छ । ५० प्रतिशत निर्णायकको निर्णय र ५० प्रतिशत दर्शक भोटका आधारमा उत्कृष्ट छनोट गरिने छ । आयोजकका अनुसार दर्शकले काटेको टिकटको अर्धकट्टी आफूले मन पराएको समूहलाई भोटको रुपमा खसाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment