Comments Add Comment

‘चिसो भञ्ज्याङ’मा रापिलो कथा

भञ्ज्याङ, पूर्वी पहाडको एउटा गाउँ । लिम्बु संस्कृतिप्रधान गाउँमा आत्मीयता छ, गाउँलेहरु दुःख-सुख आपसमा साट्छन् । पर्वका अवसरमा मेला लाग्छ, सबै गाउँले भेला हुन्छन् । पालम गाउँछन्, च्याब्रुङको तालमा धान नाच्छन् । हाँसो ठट्टा गर्दै जाँड पिउँछन्  । तरुनी-तन्नेरीको माया-पिरती उसै मेसोमा झ्याङ्गिन्छ । परिवेश हेर्दा लाग्छ, सबै सुखी र खुसी छन् । मानिसहरुबीच सौहार्द सम्बन्ध छ । तर, खुसी टुट्न बेर लाग्दैन । मेलामा अरौटेभरौटेपछि लगाएका बाबुसाहेब आइपुगेपछि खुलेर रमाइलो गरिरहेका गाउँलेको आवाज मलिनो हुँदै जान्छ । त्यसपछि मेलाको रौनकलाई बाबुसाहेबको हैकमी आवाजले दबाउन थाल्छ । भञ्ज्याङमा गाउँलेको जीवनको लय चिसिँदै जान्छ ।

राजधानीको बढ्दो चिसोसँगै मण्डला थिएटरमा चलिरहेको नाटक ‘चिसो भञ्ज्याङ’को दृश्य-कथा हो यो । सन्दीप श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक बेलायती लेखक ल्यान म्याकआनको उपन्यास ‘अटोन्मेण्ट’मा आधारित छ । परिवेशलाई उनले नेपालीकरण गरेका हुन् ।

०००

नाटक सामन्तकालीन समयको आर्थिक, सामाजिक तथा राजनीतिक संरचनाको चक्र-चित्रण गर्दै सुरु हुन्छ । गाउँका मानिस बाबुसाहेब, मुखिया, जमिन्दार वा साहु महाजनको शोषणको चक्रमा फस्थे । पूर्वी पहाडको ग्रामिण क्यानभासमा प्रस्तुत गरिएको नाटकमा आफ्नो शासकीय हैसियत गुमाएका लिम्बु जाति र अन्य समुदायमाथिको दलन अवस्था देखिन्छ । ती मानिस कथित उपल्लो जाति र वर्गका साहु महाजनको परोक्ष दास हुन बाध्य थिए । अत्यन्तै न्यून पारिश्रमिकमा उनकै हली, गोठालो, भरिया हुनु पथ्र्यो । साहुमहाजनहरु ती निमुखाजनलाई बाजेको पालादेखिको ऋणको किर्ते हिसाब देखाएर हली बनाउँथे । त्यतिले नभए जग्गाजमिन, जायजेथा लुट्थे । कतिपय मानिस घरखेती नै साहुले आफ्नो बनाएपछि खाली हात बसाई हिड्न वाध्य हुन्थे । तिनै मानिस मधेशतिर झरेर अझ ठूला महाजनको कमारा हुन पुग्थे त, कति झोडा फाँड्न थाल्थे । गाउँमै रहनेहरू जो थोरै मात्र ती साहुमहाजनले गरेको अन्याय विरुद्ध आवाज उठाउँथ्यो । त्यसको गाउँबाटै बास मेटिन्थ्यो । धेरै लामो समय देशैभरका निम्न वर्गका जनतामाथि विभेद र शोषणको जाँतो घुमाइयो । नाटकमा धान नाच्न भेला भएकाहरु भन्छन्, ‘लागेको बाली शहरमा लगेर बेच्ने, अनि पैसा ल्याएर बाबुसाहेबको पाउमा टक्राउने, के गर्छस् हाम्रो भाग्यै यस्तो । वर्षभरी दुःख गरेर जति कमायो, उति तिरियो हऊ । त्यही दुःखैदुःखमा जाँड चंै खाइयो । त्यो बाबुसाहेबलाई त जति तिर्दा पनि सकिँदैन । यस्तै चाल हो भने त्यो छोरा नाति पनाती पनि बाबु साहेबको ऋण तिर्दातिर्दै मर्छ हौ ।’

दुःखमा पनि हाँस्न जानेका ती गाउँले भाग्यवादी सोचका कारण पनि लामो समय सामन्ती शोषणको शिकार हुन वाध्य भएको नाटकले देखाउँछ । तर, नाटकको यात्रामा त्यहीनेर रोकिदैन । सामन्तकालीन विभेदको श्रृंखलामा देशमा जनयुद्ध शुरु भएपछि कसरी क्रमभंग हुँदै गयो भन्ने देखाइएको छ ।

बाबुसाहेबकी छोरी मुनासँग परेको प्रेम र त्यसलाई विखण्डित बनाउन मुनाकी बहिनीले चालेको मनोवैज्ञानिक चालले कथालाई ँट्विस्ट’ दिन्छ । जसमा बाबुसाहेबले आˆनो विवेकहीन चरित्र देखाएसँगै मायालु पात्र आलोकको विद्रोही स्वरूप देखिन्छ । त्यसपछि नाटकको मूल कथा आलोकवरिपरि घुम्छ ।

नाटकमा वर्गले प्रेममा पार्ने प्रभाव देखाइएको छ । प्रेमलाई कुनै वर्ग, जाति, धर्म, संस्कृतिको सीमाले छेक्दैन भनिन्छ, तर छेक्दै आएको छ । प्रेम गरेकै नाममा जीवन नै चुडाइएका अनेक घटना समाजमा छन् । नाटकमा पनि आफ्नो प्रेमीको जीवनमा आˆनै परिवारको तर्फबाट गरिएको उत्पीडनलाई बुझेकी मुनाको कदम प्रेमको पक्षमा छ । प्रेमले उनीलाई विद्रोहतिर तानेको छ ।

०००

विद्रोहको कथा देखाइए पनि देशभरका जनताले वास्तविक मुक्ति पाए त ? प्रश्न नाटक र समाज दुवै ठाउँ टड्कारो बनेर उभिएको छ । जनयुद्ध र जनआन्दोलनहरुको सामुहिक बलले संविधान, राज्यसत्ता त आयो । तर, तिनलाई चलाउने अनुहारमा खास फेरबदल आएको छैन । अहिले पनि जनता चिसोले कठ्याङ्गि्रएर धमाधम मर्दैछन् । के ती गरीब नागरिकले एउटा न्यानो छानो र तातो मानो पाउने नागरिक हैंसियत अझै पाउँदैनन् ? नागरिकको त्यो हक अहिले पनि कसको हातमा छ ? के फेरि विकल्प खोजिनु पर्ने हो ? यसतर्फ भने नाटक मौन छ । हुन त विश्वयुद्धको विषयमाथि लेखिएको किताबमाथि लेखिएको हुनाले पनि नाटक निर्माण गर्दा निर्देशकका लागि सीमाहरु थिए होलान् । तर, विषय उठान गरिसकेपछि त्यसको संकेत गर्नसक्ने ठाउँ हरेक सिर्जनामा हुन्छ नै, निर्देशक यो जोखिमबाट बच्न खोजेको देखिन्छ ।

नाटकले उठाएको अर्को विषय मनोविज्ञानिक हो । एउटी केटीले बाल्यकालमा गरेको गल्तीले जीवनभर लखेटिँदा भोग्नु परेको मनोदशाको चित्रणले राजनीतिक विषयवस्तु देखिँदा-देखिँदै पनि नाटकलाई जीवनको नजिक बनाएको छ । जीवनभर बोकेर हिँड्नु परेको पश्चातापको भार गरिमाले कसरी बिसाउँछे ? नाटकको अर्को चखिलो मोड देखिन्छ त्यसमा ।

०००

नाटकमा सबैजसो कलाकार बहु चरित्रमा देखिन्छन् । बाबुसाहेबको भुमिकामा देखिएका रोशन सुवेदी छापामार सेनाको भूमिका पनि देखिन्छन् । मेलामा धान नाच्ने अन्य कलाकार नै जनयुद्धको दृष्यमा देखिन्छन् । फरक-फरक चरित्रमा देखिदा पनि कलाकारले आफ्नो भुमिकामाथि न्याय गरेको देखिन्छ । नाटकको नायक पात्र गरिमाको भुमिकामा रहेकी पूजा लामा भन्छिन्, ‘निर्देशकसँग बसेर कसरी सबै चरित्रलाई न्याय गर्न सकिएला भनेर ‘एक्स्प्लोर’ गर्दै गयौं । अर्कै परिवेशमा लेखिएको उपन्यासको कथालाई हाम्रो सामाजिक परिवेशमा ढाल्न धेरै अध्ययन गर्‍यौं । नाटकलाई मौलिकपन दिन निर्देशकले धेरै नै मिहिनेत गर्नु भएको छ ।’

नाटकमा पूजा १३/१४ वर्षे चञ्चले बालिकादेखि २५ वर्षे युवती हुँदै र वृद्ध लेखकसम्मको अभिनय गर्छिन् । एउटै चरित्रको ‘जर्नी’ गरेको उनको पहिले अनुभव थियो । उनी भन्छिन्, ‘साठी वर्षे वृद्ध लेखकको भुमिका निर्वाह गर्न पक्कै गाह्रो भयो । जुन उमेरको स्टेजमा म पुगेकै छैन । फेरि लेखक कस्तो हुन्छ मलाई त्यति आइडिया पनि थिएन । तर मलाई अभिनय त गर्नु  थियो नै । आफ्नै पुरानो फोटो हेर्नेलगायत विभिन्न विधि अपनाएँ ।’ उनले नेपाली, भारतीय र केही अन्य मुलुकका लेखकहरुको जीवनशैली पाएसम्म अध्ययन गर्ने कोशिस गरिन् । उनका लागि पात्रको यो ‘जर्नी’माथि काम गर्नु निकै चुनौतीपूर्ण र रोमाञ्चक रह्यो ।

खासगरी यो विषय मानिसको मनोविज्ञानसँग जोडिएको छ । जानिनजानी मानिसले गरेको गल्तिले कसरी कसैको जीवन बर्बाद पारिदिन सक्छ । आफ्नो कारणले अरु कोही दुःखी भयो वा कसैको ज्यानैसम्म जाने अवस्था आयो भने उसको मनस्थिति कस्तो होला ? एउटा मानिसलाई कसरी जीवनभर त्यो गल्तिको पश्चातापले पोलिरहन्छ ? त्यो मनोविज्ञानको अन्दाज गर्न सकिन्छ । तर, नाटकले त्यो मनोविज्ञानको गम्भिर चित्र भने पस्कन सकेको छैन ।

०००

नाटकको आधार उपन्यास ुअटोन्मेन्ट’ दोस्रो विश्व युद्धको पृष्ठभूमिमा लेखिएको छ । लेखकले त्यसलाई नेपालीकरण गरेका छन् । हाम्रै संस्कृतिको आधारभुमिमा टेकाएर यहींको समाजमा भएको वर्ग विभेद, त्यस्तै शोषणको केन्द्रबाट जन्मेको विद्रोह जनयुद्धको कथा त्यसमा बुनेका छन् । उपन्यासमा भएको उच्च सम्भ्रान्त वर्गको पृष्ठभुमि हाम्रो तत्कालिन सामान्ती समाजको चरित्रमार्फत व्यक्त गरिएको छ  । नयाँ निर्देशकको रूपमा सन्दीपको छनोट बलियो छ । नाटकमा उनले दिएको मौलिकताले उनको सिर्जनशीलता प्रमाणित गरेको छ । उनी भन्छन्, ‘उपन्यासमा सिंगै विश्व-युद्धकै कथा छैन, पात्रले गरेको यात्रामात्रै छ । त्यसैले त्यसलाई नेपालीकरण गर्दा पनि जनयुद्धको मुद्दालाई भन्दा पात्रको यात्रालाई चित्रण गरेको देखिनु स्वाभाविक हो । जनयुद्धले हाम्रो जीवनलाई कतै न कतैबाट प्रभाव पारेको छ । त्यही भएर यो विषयलाई जोडेको हुँ । पूर्वमै हुर्केको भएर लिम्बू संस्कृतिमा कथा बुन्न सजिलो लाग्यो ।’

यसअघि अभिनय मात्रै गर्दै आएका निर्देशक सन्दीपका लागि नाटकको निर्देशन गर्नु सहज थिएन । उनका लागि काम गरेर देखाउने विश्वास बनाउनु नै चुनौतीपूर्ण थियो । कलाकार छनोटदेखि नै उनले त्यो चुनौति झेले । उनलाई समकालीन कलाकारले विश्वास गरे, उनीहरू नै उनको रोजाइमा परे । नाटकबाट उनले कलाकार र निर्देशक भएर काम गर्नुको फरक अनुभव गरेका छन् । ‘तर म आफूले गर्न खोजेको काममा स्पष्ट थिएँ’, उनी भन्छन् । उनले आफूलाई धेरै हदसम्म प्रमाणित पनि गरेका छन् । ‘चिसो भञ्ज्याङ’मा उनले जसरी सामन्ती प्रथा र निम्न वर्गमाथि त्यसको शोषण, माओवादी विद्रोह र लिम्बू संस्कृतिको रापिलो कथा प्रस्तुत गरेका छन्, त्यो त्यही प्रमाण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment