Comments Add Comment

नेपालमा औद्योगिक वातावरण अझै बनेनः अर्थ राज्यमन्त्री राणा

२९ पुस, वीरगञ्ज । अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले नेपालमा अझै व्यवसायिक वातावरण बन्न नसकेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४२ औं साधरणसभाको उद्घाटन गर्दै राज्यमन्त्री राणाले ‘डुईङ विजनेस’मा नेपालको स्थान कमजोर रहेको बताए ।

‘१ सय ९ वटा देशमा भएको डुईङ विजनेस अध्ययनमा नेपाल १०५ औं स्थानमा देखिएको छ । काम गर्ने वातावरण बन्न सकेको छैन ।’ राज्य मन्त्री राणाले भने ‘औद्योगिक वातावरण निर्माणका लागि थुप्रै कामहरु गर्नुपर्ने देखिएको छ, विशेषगरि पूर्वाधार निर्माणमा समस्या देखिएको छ ।’

नयाँ संरचनामा मुलुक गईसकेको अवस्थामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले सरकारले नीजि क्षेत्रलाई व्यवसाय चलाउन सहज वातावरण निर्माण गर्दै जानुपर्नेमा जोड दिए । ०४६ साल पछि नेपालमा औद्योगिक विकासले गति लिएको बताउँदै राज्य मन्त्री राणाले ०४८ देखि ०५० साल औद्योगिक विकासको गोल्डेन ईरा भएको बताए ।

३ वर्ष भित्रमा सबै प्रदेशमा आवश्यक संरचना बनाउने लक्ष्य सरकारले लिएको र त्यसका लागि ८ सय १२ अर्ब खर्च लाग्ने प्रारम्भिक अध्ययनले देखाएको राज्य मन्त्री राणाको भनाई छ ।

‘मुलुक नयाँ संरचनामा जाँदा आवश्यक संरचना बनाउन ८ सय १२ अर्ब लाग्ने देखिएको छ, कहाँबाट जुटाउने भन्ने चिन्ता थपिएको छ,’ उनले भने, ‘त्यसका लागि आन्तरिक र बाहृय ऋण लिने विषयमा छलफल चल्दैछ ।’

मुलुकमा लक्ष्य भन्दा १० प्रतिशत कम राजश्व संकलन भएको, पूँजीगत खर्च घटेको र अनुत्पादक क्षेत्रमा खर्च बढेकोमा चिन्ता गर्दै राज्य मन्त्री राणाले ‘अन युज्ड फण्ड’लाई बजारमा पठाउने विषयमा पनि कुराकानी भईरहेको समेत जानकारी दिए ।

‘बजारमा तरलता बढेको छ, भूकम्प पीडितलाई आएको रकम खर्च हुन सकेको छैन, विदेशी मुलुकमा त्यसरी प्रयोगमा नआएको पैसालाई आवश्यक नहुन्जेलसम्म बजारमा पठाउने चलन हुन्छ,’ उनले भने,’ सरकारले भूकम्प पीडितका पैसा पनि केहि समयका लागि बजारमा पठाउनेबारे सोचिरहेको छ ।’

वीरगञ्ज क्षेत्रमा पूर्वाधार निर्माणका काम गर्ने वातावरण पनि नभएको र सरकारी कर्मचारीहरु समेत आउन नमान्ने अवस्था रहेको भन्दै यस क्षेत्रका स्थानीय अगुवाहरु नै गम्भिर भएर लाग्नुपर्नेमा राज्यमन्त्री राणाले जोड दिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा साधारण सभा उदेघाटन कार्यक्रम भएको थियो ।

संघको साधरण सभाको उद्घाटन गर्नु अघि राज्य मन्त्री राणाले वीरगञ्जमा निर्माणाधिन एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको निरीक्षण समेत गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment