Comments Add Comment

पत्रिका समाचारः प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल, मन्त्री नै असन्तुष्ट

भूकम्पपीडितमा अनुदानकाे पिरलाे, काठमाडौंको सडक विस्तार किन ठप्प ?


३० पुस, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले राजनीतिदेखि चिसोले प्रभावित बनेको जनजीवनसम्मलाई समेटेका छन् ।

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाले अलमल गरेको विषयलाई आजका केही पत्रिकाहरुले लेखेका छन् । समाचार अनुसार, प्रधानमन्त्रीको ढिलासुस्तीले स्वयं मन्त्रीहरु नै रुष्ट बन्न पुगेका छन् ।

सर्वोच्च अदालतले फैसला दिन ढिलाइ गर्दा १० महिनादेखि काठमाडौं उपत्यकाको सडक विस्तार ठप्प भएको भन्दै नयाँ पत्रिका दैनिकले यसमाथि चिरफार गरेको छ ।

भूकम्पपीडितले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने नियम सरकारले बनाएपछि भूकम्पपीडित त्रसित बनेको समाचारलाई पनि आजका पत्रिकाहरुले ‘स्पेस’ दिएका छन् ।

यसका अलावा  गोविन्द केसीले अनसन तोडेको, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले विद्यार्थी नपाएकोलगायतका समाचारले पनि पत्रिकामा उत्तिकै स्थान पाएका छन् ।

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल, मन्त्री नै असन्तुष्ट

प्रा.डा. गोविन्द केसीले अनसन तोडेको समाचारलाई मुख्य बनाएर छापेको कान्तिपुर दैनिकले प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्रीले अलमल गरेको समाचारलाई पनि पहिलो पृष्ठमा लेखेको छ । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन ।

प्रधानमन्त्रीको ढिलासुस्तीप्रति पार्टीकै नेताहरुसमेत असन्तुष्ट बनेको भन्दै कान्तिपुरले लेखेको छ– माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले प्रस्ताव एकाएक रोकेका हुन् ।’

समाचार अनुसार प्रधानमन्त्रीले दलीय सहमतिमा प्रदेश प्रमुख तोक्न चाहेका थिए । तर माओवादी मन्त्रीहरुले उल्टै राजीनामा दिएपछि प्रधानमन्त्री झस्किएका हुन् ।

राजधानी दैनिकले पनि यो विषयलाई समाचार बनाएर छापेको छ । राजधानीका अनुसार प्रधानमन्त्रीले प्रदेश प्रमुख नियुक्तिमा तदारुकता नदेखाउँदा कतिपय मन्त्रीसमेत असन्तुष्ट बन्न पुगेका छन् ।

राजधानीले लेखेको छ– सरकारका एक मन्त्रीले प्रमुख र मुकाम तोक्ने विषयमा प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नगरेको र प्रधानमन्त्रीकै तहबाट अघि बढिरहे पनि ढिलाइप्रति असन्तुष्टि जनाए ।

सर्वोच्चले फैसलाको पूर्णपाठ दिएन, उपत्यकाको सडक विस्तार ठप्प

चार महिनादेखि काठमाडौं उपत्यकाको सडक विस्तार ठप्प भएको छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गा धनीलाई मुअब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको भन्दै नयाँ पत्रिका दैनिकले यसमाथि खोतलेको छ ।

‘सर्वोच्चले फैसला गरेको चार महिना बित्दा पनि फैसलाको पूर्ण पाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ताको कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी नदिएको समाचारमा उल्लेख छ ।

अनुदान नपाइने त्रासमा भूकम्पपीडित

पर्याप्त कामदारको अभावमा स्थायी आवास निर्माणलाई तीव्रता दिन नसक्दा दोस्रो किस्ता नपाउने डरले भूकम्पपीडित चिन्तित बनेको विषयलाई आज काराेबार दैनिकले खबर बनाएको छ । पुस मसान्तसम्म आवास निर्माणको पहिलो चरणको काम नसके दोस्रो किस्ता उपलब्ध नहुने सरकारी घोषणाका कारण भूकम्पपीडित त्रसित बनेका हुन् ।

‘दोस्रो किस्ता नपाउने त्रासमा भूकम्पपीडित’ शीर्षक दिएर कारोबार लेख्छ– अहिले जिल्लाका हरेक गाउँमा भूकम्पप्रतिरोधी घर निर्माण सुरु भए पनि अधिकांश अलमतमा छन् । तालिमप्राप्त डकर्मी नहुँदा पीडितले घर बनाउन पाएका छैनन् । जिल्लामा युवा नहुनु र बाहिरबाट आएका डकर्मी पर्याप्त नहुँदा यो अवस्था आएको हो ।

जाडो थेग्न परालकै भर

चिसोले तराईको जनजीवन प्रभावित बनिरहेका बेला अन्नपूर्ण पोस्ट दैनिकले चिसोको कहर काटिरहेका सुनसरीका स्थानीयको कथालाई मुख्य समाचार बनाउर छापेको छ ।

समाचार अनुसार यहाँका न्यून आएका भएका यहाँका स्थानीयले जाडो छल्न आगो ताप्ने गरेका छन् । जाडो छल्न परालको साहरा लिने पनि उत्तिकै छन् ।

मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पप्त मडिकल कलेजहरु सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।

‘मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्’ शीर्षक दिएर कान्तिपुरले लेखेको छ– चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्यार्थीलाई ओपन हाउस काउन्सिलिङमा बोलाएको थियो । काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगञ्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए ।’

यी दुवै कलेजमा पूरा सिट भरिउ पनि अन्य ६ वटा कलेजमा सिट खाली रहेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

जंगली हात्तीमा अब ‘रेडियोकलर’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले गरेको सम्बोधनलाई मुख्य समाचार बनाएर छापेको गोरखापत्र दैनिकले आज जंगली हात्तीको अनुगमन अब रेडियोकलर प्रविधिबाट हुनेलाई एंकर बनाएको छ ।

जंगली हात्तीले मानवीय तथा भौतिक क्षति पुर्याएपछि सरकारले यो अवधारणा अघि बढाएको समाचारमा उल्लेख छ ।

यसअघि नेपालमा एकसिंगे गैंडा, बाघ, हिउँ चितुवामा यस प्रविधिको प्रयोग गरिँदै आएको छ ।

समाचार अनुसार बस्तीमा पसेर मान्छे मार्ने, बालीनाली नोक्सान गर्ने र घर भत्काउने बानी परेका हात्तीलाई सरकारले समस्याग्रस्त हात्तीका रुपमा व्याख्या गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment