Comments Add Comment

बिचौलियाले फेरि बढाए तरकारीको भाउ

३० पुस, काठमाडौं । गत शुक्रवार प्रतिकिलो ८५ रुपैयाँमा पाइएको घिउसिमीलाई शनिबार १०५ रुपैयाँ पर्‍यो । आइतबार त किलोको खुद्रा मूल्य ११५ रुपैयाँ पुगेको छ ।

जबकि अघिल्लो आइतबारसम्म प्रतिकिलो घिउसिमीको मूल्य ६५ रुपैयाँ मात्र थियो । अर्थात करीव एक साताको अवधिमा घिउसिमीको मूल्य झण्डै ७७ प्रतिशतले बढेको छ ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार शनिबारसम्म प्रतिकिलो ६३ रुपैयाँ रहेको पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य आइतबार एकाएक १०५ रुपैयाँ पुगेको छ ।

अघिल्लो बिहीबारसम्म प्रतिकिलो ५५ रुपैयाँ रहेको रायोको सागको मूल्य शुक्रबार ८ रुपैयाँले बढेर ६३ पुग्यो । जबकि ६ दिनअघिसम्म प्रतिकिलो ४५ रुपैयाँमा रायोको साग पाइन्थ्यो । एक साताभन्दा कमको अवधिमा रायोको सागको मूल्य २० रुपैयाँ बढ्यो ।

एक साताको बीचमा सागको मूल्य अधिकतम ११३ प्रतिशतसम्म बढेको समितिको मूल्यसूचीले देखाएको छ ।

घिउसिमी र रायोको साग मात्र होइन, अधिकांश तरकारीको मूल्य एकाएक आकासिएको छ ।

सानो गोलभेडा अघिल्लो बिहीबारसम्म प्रतिकिलो ४५ रुपैयाँमा पाइन्थ्यो । शुक्रबार ५५ रुपैयाँ पुग्यो । शनिबार १० रुपैयाँ अझै थपियो । आइतबार भने गोलभेंडाको मूल्य ३ रुपैयाँले घटेको छ ।

बिहीबार यता चार दिनको अवधिमा रातो मूला प्रतिकिलोको मूल्यमा १५ रुपैयाँ, सेतो मूलामा २० रुपैयाँ र भन्टामा १३ रुपैयाँले बढेको देखिन्छ ।

पाँच दिनको अवधिमा हरियो फर्सीको मूल्य प्रतिकिलो ५५ रुपैयाँबाट ६८ रुपैयाँ पुगेको छ ।

एक साताकै अवधिमा लौकाको मूल्य १८ रुपैयाँ बढेको देखिन्छ । गत बिहीबारदेखि लौकाको मूल्य अचाक्ली बढेको हो ।

मूख्य सिजन हुँदा पनि काउली र बन्दाको भाउ पनि बढेको कालिमाटी तरकारी तथा फलफूल विकास समितिले जनाएको छ ।

माघेसंक्रान्तिमा तरुल महंगो

व्यापारीहरूले मूख्य खपत हुने समयमा तरुलको मूल्य पनि बढाएका छन् । अघिल्लो सातासम्म प्रतिकिलो ३८ रुपैयाँ रहेको तरुलको मूल्य अहिले ५८ रुपैयाँ छ ।

शनिबारसम्म ६८ रुपैयाँ प्रतिकिलो रहेको तरुलको मूल्य आइतबार १० रुपैयाँले घटेर ५८ पुगेको हो ।

कालीमाटी तरकारी बजारमा उपलब्ध यो मूल्य रिटेल मूल्यमा आउँदा भाउ अरु महंगिएको छ ।

‘आपूर्ति सहज छ’

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले उत्पादनमा गिरावट आएका कारण केही तरकारीको भाउ महंगिएको दाबी गरे । ‘अहिले केही तरकारीको उत्पादन सिजन सकिन लागेकाले त्यसको मूल्य बढेको देखिएको हो,’ उनी भन्छन् ।

मुग्लिन-नारायणगढ सडकखण्डको अवरोधका कारण पनि आपूर्तिमा समस्या हुँदा मूल्यमा प्रभाव परेको उनको भनाइ छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ तरकारीको माग आकाशिएका कारण मूल्य बढेको बताउँछन् । ‘पर्वका कारण पनि तरकारीको भाउ आकाशिएको आभाष भएको छ,’ उनी भन्छन् । आपूर्ति नियमित भए पनि माग चुलिएको भन्दै उनले केही दिनमा यस्तो मूल्य सहज हुने दाबी गरेका छन् ।

सरकारी र व्यवसायी दुवै पक्षको भनाइमा तरकारीको आपूर्ति व्यवस्थामा कुनै कठिनाई छैन । सहज आपूर्तिका बीच पनि तरकारीको मूल्य बढ्नुले मूल्यवृद्धि स्वभाविक नभएको प्रश्ट पार्छ ।

केही समयअघि आपूर्ति व्यववस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनले तरकारीको मूल्य अत्यधिक बढ्नुमा बिचौलियाको बिगविगी मूख्य रहेको निश्कर्ष निकालेको थियो ।

अध्ययनले उत्पादकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच चरणमा निर्धारण गरेको देखाएको थियो । बजार अनुगमनका कारण तरकारीको मूल्य स्वात्तै घटेपनि अहिले पुनः बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment