Comments Add Comment

एमाले माओवादी एकता किन ? यी हुन् ५ कारण

राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धी राजनीति गरिरहेका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीच पार्टी एकता गर्ने उदधोषका साथ वामपन्थी मोर्चा निर्माण गरी आम निर्वाचनमा सहभागी भएका थिए । यो मोर्चाको पुगनपुग दुई तिहाई संसद सदस्यहरुलाई जनताले विजय गराएबाट जनमत दुई पार्टीवीचको पार्टीगत एकताको पक्षमा अभिव्यक्त भएको छ ।

दुई पार्टीका अधिकांश नेता कार्यकर्ता, शुभचिन्तक पार्टी पार्टीगत एकताको पक्षमा देखिएका छन् । पार्टीगत एकताको आवश्यकता किन छ ? यस विषयमा कम चर्चा हुने गरेको छ । पार्टी एकताको आवश्यकता र एकताका वैचारिक सैद्धान्तिक आधारका सम्वन्धमा तार्किक बहस शुरु गर्न यो आधार पत्र प्रस्तुत गरिएको छः

मियो भूमिकाका लागि

नेपाली राजनीतिमा अभूतपूर्व र ऐतिहासिक परिवर्तन भएको छ । राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र (जनताको शासन) स्थापना हुनु यसको ज्वलन्त उदाहरण हो ।

अहिले देशमा सुदृढ मियोको आवश्यकता खडकिएको छ । वर्तमान नेपाली राजनीतिमा मूल मियोको भूमिका निभाउन सक्ने दुई शक्ति नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी -विभिन्न समूहमा विभाजित मात्र हुन् । नेपाली कांग्रेसले मूल मियोको भूमिका निभाउन नसक्ने पुष्टि पटक पटकका घटनाक्रमबाट पुष्टि भएको छ । यो अवस्थामा मूल मियोको भूमिका निभाउन सक्ने एकीकृत कम्युनिष्ट पार्टीहरु देखि बाहेक अर्को शक्ति देखिएको छैन । शक्ति र सामथ्र्यको हिसावले यस्तो भूमिका कुनै एउटा कम्युनिष्ट पार्टीले मात्र निभाउन सक्ने अवस्था छैन । एमाले – माओवादीवीचको पार्टीगत एकताबाट निर्मित शक्तिले मूल यस्तो मियोको भूमिका निभाउनु सक्ने प्रयाप्त आधार छ ।

राष्ट्रियता संरक्षणका लागि

नेपाल दुई ठूला भूभाग, जनसंख्या भएका शक्ति सम्पन्न छिमेकी राष्ट्र भारत र चीनको वीचमा अवस्थित छ । यी दुई देशवीचको अन्तर विरोधबाट नेपालको राष्ट्रिय राजनीति प्रायःजसो प्रभावित हुने गरेको छ । त्यसमा पनि चीनलाई नियन्त्रण गर्न पश्चिमा शक्तिहरुले यहाँको भूमिलाई कृडास्थल बनाएबाट नेपाल त्रिपक्षीय द्धन्दको अखडा बन्दै आएकोे छ ।

यस्तो अवस्थामा मूलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावमाथिको खतरा दिन प्रतिदिन बढदै गएको छ । यो अवस्थामा राष्ट्रियताको संरक्षण र सवर्द्धनको लागि दरो खुट्टा टेक्ने शक्तिको खाचो टडकारो रुपमा देखा परेको छ । नेपाली कांग्रेस राष्ट्रियताको सवालमा प्रायः विचलित हुने गरेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको जन्म र विकास नै राष्ट्रियता र आमूल परिवर्तनको एजेण्डाका आधारमा भएकोले राष्ट्रियताको संरक्षण र संवर्द्धन गर्ने कम्यूनिष्ट शक्ति बाहेक अर्को शक्ति छैन् । राष्ट्रियताको संरक्षण र सर्वद्धनका लागि पनि सशक्त कम्युनिष्ट पार्टीको आवश्यकता छ । यो आवश्यकताको पूर्ति एमाले र माओवादी केन्द्रवीच हुने एकताबाट निर्मित शक्तिले मात्र हुन सक्दछ । राष्ट्रियता संरक्षणका लागि यी दुई कम्युनिष्ट पार्टीवीचको एकता अपरिहार्य छ ।

परिवर्तनलाई संस्थागत गर्न

मुलुकको राजनीतिमा ठूलो राजनीतिक परिवर्तन भएको छ । यसलाई संस्थागत गर्न र धान्नको लागि शक्तिशाली राजनीतिक पार्टी र प्रभावकारी नेतृत्वको आवश्यकता पर्छ । परिवर्तनलाई संस्थागत गर्न सक्ने शक्तिको साथै स्पष्ट, दुरगामी दृष्टिकोणको आवश्यकता पर्दछ । परिवर्तनसँगै गम्भीर प्रकृतिका विकृति र विसंगतिहरु पनि देखा परेका छन् ।

जातीय, क्षेत्रीय , धार्मिक, सांस्कृतिक र भाषिक समस्याहरु वा्रहृय शक्तिको खेलौना हुँदै गएका छन् । यी मुद्दाहरुले प्रमुखता पाउँदा राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्ने विषय ओझेलमा पर्दै गएको मात्र छैन, राष्ट्रिय एकताको मूल आधार सामाजिक सदभाव नराम्ररी खल्बलिएको छ ।

राष्ट्रिय एकता र राष्ट्रिय हितमा आँच नपुग्ने गरी यी समस्याहरुको समाधान र सम्वोधन गर्नु निकै चुनौतीपूर्ण छ । यी समस्याहरुलाई उल्झाएर नेपालमा अस्थिरता सिर्जना गरी आफ्नो निहित स्वार्थ पूरा गर्न लागिपरेका बाह्य शक्तिहरुको चलखेल निकै बढेको छ ।

यस्ता जटिलता चुनौतीहरुको सामना गर्न स्पष्ट, अग्रगामी दृष्टिकोणको शक्तिशाली दल र नेतृत्वको आवश्यकता पर्दछ । वर्तमान राष्ट्रिय राजनीतिका मुख्य खेलाडी नेपाली कांग्रेस यथास्थितिवादी दृष्टिकोणबाट माथि उठ्ने सम्भावना देखिँदैन । क्षेत्रीयतावादी सोचबाट निर्देशित मधेस केन्दि्रत दलहरुबाट राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निभाउन सक्ने संभावना त छँदै छैन् ।

परिवर्तनलाई धान्न र संस्थागत गर्न सक्ने शक्ति कम्यूनिष्ट पार्टीदेखि बाहेक अरु देखिँदैन । एमाले-माओवादीवीचको पार्टीगत एकताबाट निर्मित पार्टीबाट यस्तो भूमिका निभाउन सक्ने सम्भावना छ ।

सबल राष्ट्रिय अर्थतन्त्रका लागि

संविधानसभाद्वारा नयाँ संविधान निर्माण भएपछि राजनीतिक मुद्दाहरुको छिनोफानो भएको छ । बलियो राष्ट्रिय अर्थतन्त्रविना राजनीतिक उपलब्धिहरुलाई धेरै दिन टिकाउन सकिँदैन । वर्तमान राष्ट्रिय अर्थतन्त्रमा जे जति विकाश भएको छ, त्यो असन्तुलित छ । धनीको संख्या घट्दै जाने, गरिवको संख्या बढ्दै जाने, राष्ट्रिय उत्पादन घट्दै जाने, आदि स्थितिले राष्ट्रिय अर्थतन्त्र तासको घरजस्तो बनेको छ ।

नेपालजस्तो अर्धविकसित देशमा एक्कासी खुला बजार अर्थतन्त्रको नीति लागु गर्दा यो प्रतिकूलता देखा परेको छ । भत्किएको राष्ट्रिय अर्थतन्त्रलाई पुःननिर्माण राज्यको पहलकदमीविना असम्भव हुन्छ । नेपाली कांगे्रस बजार अर्थतन्त्रको भासमा यति भासिएको छ कि यो पार्टीबाट यस्तो भूमिका असम्भव प्रायः छ । कम्युनिष्ट पार्टीहरु पनि यसबाट अछुतो छन् भन्ने होइन ।

तर, राज्यको नेतृत्वमा मात्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो, दिगो र टिकाउ बनाउन सकिने बलियो धारणा वैचारिकरुप नै कम्युनिष्ट कार्यकर्ता र समर्थक रहेका यस्तो भूमिका एमाले र माओवादी पार्टी बीचको एकतामा निर्मित बलियो कम्युनिष्ट पार्टीबाट आशा गर्ने सकिन्छ ।

शक्तिशाली केन्द्रका लागि

नेपालमा पहिलो पटक संघीय व्यवस्थाको अभ्यास हुँदैछ । राज्यको शक्तिलाई आगामी दिनमा केन्द्रीकृतको सट्टा बहुकेन्द्रबाट प्रयोग गरिने छ । केन्द्र (संघ) र प्रदेशको भूमिकाको विषयमा नै राजनीतिक क्षेत्रमा भ्रमपूर्ण धारणा छ । झन् क्षेत्रीयतावादी सोचले संघीय व्यवस्था कार्यान्वयनमा निकै चुनौती थप्ने सम्भावना छ ।

यो अवस्थामा प्रदेशसँग संयोजनकारी र नेतृत्वदायी भूमिका निभाउने शक्तिशाली केन्द्रको आवश्यकता पर्दछ । केन्द्र कमजोड हुँदा राष्ट्रिय एकतामा आँच आउन सक्छ । दुई पार्टी एकताबाट निर्मित कम्युनिष्ट पार्टीले प्रदेशसँग संयोजन र नेतृत्वदायी भूमिका निभाउन सक्दछ ।

एकताका लागि सैद्धान्तिक आधार

एमाले-माओवादीवीचको पार्टीगत एकता राष्ट्रिय आवश्यकता भए पनि कुन र कस्तो सैद्धान्तिक आधारमा एकता हुनु उपयुक्त हुन्छ भन्ने विषयमा भने तर्क बिर्तक र बहस भइरहेको छ । एमालेले आफ्नो पार्टीको कार्यक्रम-कार्यनीतिको रुपमा बहुदलीय जनवादलाई अवलम्बन गर्दै आएको छ, भने माओवादीले एक्काइसांै शताब्दीको जनवादको कार्यक्रम-कार्यनीतिलाई प्रस्तुत गर्दै आएको छ । ०४६ सालमा बहुदलीय व्यवस्था पुनः स्थापना भएपछिको विशेष परिस्थितिलाई संशोधन गर्न एमालेले बहुदलीय जनवादको कार्यक्रम-कार्यनीतिलाई अवलम्बन गरेको हो । त्यस्तै गरी जनयुद्धबाट शान्ति प्रकृयामा अवतरण गरेपछिको तत्कालीन अवस्थालाई मध्यनजर राखेर माओवादी केन्द्रले एक्काइसौ शताब्दीको जनवाद पार्टीको कार्यक्रम-कार्यनीतिको रुपमा प्रस्तुत गरेको हो । यी दुई कार्यक्रम-कार्यनीतिवीच रुपमा फरक देखिए पनि सारमा मुख्य बुँदामा समानता रहेको पाइन्छ ।

पार्टी एकता दुवै कार्यक्रमको फूयजन

नेपाली कम्युनिष्ट आन्दोलनमा प्रायः तीन धार, क्रान्तिकारी धार, उग्रवामपन्थी धार र दक्षिणपन्थी धार रहँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना कालमा पुष्पलालद्वारा प्रस्तुत पार्टीको घोषणापत्र वैचारिक-सैद्धान्तिक धार नै क्रान्तिकारी धार हो ।

उग्रवामपन्थी धार र दक्षिणपन्थी धार नेपाली राजनीतिमा असफल भइसकेका धारहरु हुन् । नेपालजस्तो अर्ध-सामन्ति र अर्ध-औपनिवेशिक अर्थ-राजनीति भएको देशमा लोकतन्त्रलाई सदुपयोग गर्दै नयाँ जनवादी र समाजवादको पूर्वाधार निर्माण गर्ने यो धारको सिद्धान्त र विचार हो ।

लोकतान्त्रिक बाटोलाई सदुपयोग गर्दै समाजवादको लक्ष्यमा पुग्ने यो धारको वैचारिक-सैद्धान्तिक आधार हो । राजनीतिक लक्ष्य प्राप्तिको कारगार कार्यनीति संयुक्त जन-आन्दोलन हो । यो धाराको वैचारिक-सैद्धान्तिक आधारहरुसँग एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइशाैं शताब्दीको जनवाद मूल-मूल कुरामा समानता पाइन्छ । ०२५ सालमा पुष्पलालको नेतृत्वमा प्रस्तुत गरिएको नयाँ जनवादी कार्यक्रमको जगमा टेकेर जबज र एक्काइशाैं शताब्दीको जनवादलाई फू्यजन गरी निर्माण गरिने कार्यक्रम-कार्यनीति पार्टीगत एकताको उपयुक्त आधार हुन्छ ।

निष्कर्ष

राष्ट्रिय आवश्कता बनेको एमाले र माओवादी केन्द्रको पार्टीगत एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पार्ने छ । यो पार्टीगत एकताले विभाजनपछि विभाजनको सिकार हुँदै आएको नेपाली कम्युनिष्ट आन्दोलनमा एकतापछि एकताको वातावरण बन्नेछ । अस्थिरता, दिशाहीनता र गतिहीनताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई यो एकताले सही गति र दिशा पनि दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment