काठमाडौं । केही निर्देशकले कलाकार नानी थापालाई लन्च र डिनर खाने प्रस्ताव राखेछन् । नानी हक्की स्वभावकी, बडा ‘स्ट्रेट फरवार्ड’ । ‘आमासँग बसेर खाना खाने फुर्सद त मलाई छैन, तपाईंसँग लञ्च खान कहाँ भ्याउँछु र ?’ नानीले फयाट्टै भनिदिइन् ।
कुरा यतिमै टुंगियो । नानीलाई फिल्म खेलाउने निर्देशकको प्रस्ताव त्यही वाक्यले त्यसभन्दा अगाडि बढेन ।
म्युजिक भिडियोका पनि धेरै प्रस्ताव नानीले अस्वीकार गरिन् । किनकि, उनी लोलोपोतो नजान्ने । धेरै निर्देशकले भिडियोमा काम गर्नुअघि भन्दा रहेछन्, ‘म तपाईंलाई घरमा लिन आउँछु ।’ उनी ठाडो जवाफ दिन्छिन्, ‘मेरो आफ्नै स्कुटर छ । तपाईं लिन आउनु पर्दैन । म आफ्नै स्कुटरमा तपाईंको अफिसमा आउँछु ।’
धेरै निर्देशकले नानी थापालाई चलचित्रमा काम गर्न प्रस्ताव गरे तर काम गर्ने मेसो अझै मिलेको छैन । आफू परिपक्व भएको हो कि नेपाली फिल्म परिपक्व हुन नसकेको हो, अहिलेसम्म नानीले छुट्याउनसकेकी छैनन् ।
फिल्ममा काम गर्न प्रस्ताव राख्नेहरुमध्ये धेरैको कुरा उनलाई चित्त बुझेन ।
‘व्यावसायिक सोच भएकाहरु अहिलेसम्म भेटिनँ,’ उनी भन्छिन्, ‘धेरैसँग कामै गर्न मन लागेन ।’
कतिसम्म भने सुटिङका लागि यो खानुस्, त्यो नखानुस्, फिटनेसमा जानुुस्सम्मको कुरा हुन्छ तर अन्तिममा कुरो मिल्दैन ।
‘कसै-कसैले त मेरो नाममै आपत्ति जनाए । तपाईंको नामै भएन, साह्रै कमन भयो, फेर्नु पर्यो भने, मैले मानिनँ,’ नानी भन्छिन्, ‘कुनै पनि फिल्म नामकै कारण चल्ने र नचल्ने हुन्न ।’
आफूसँगै रोए दर्शक
स्कुल पढ्दैताका नानीले नाटकमा अभिनय गरिन् । दर्शकले अभिनय मन पराउँछन् वा पराउँदैनन् भन्ने उनलाई थाहा थिएन । जब मञ्चमा प्रस्तुत भइन्, उनलाई अभिनयमा केही गर्नसक्ने विश्वास पलायो । किनकि, उनी रुँदा दर्शक सँगै रोएका हुन्थे, हाँस्दा पनि सँगै हाँस्थे ।
‘अभिनयको नौरससँगै दर्शकलाई पनि सँगै लैजान सक्दा आनन्द आउँदो रहेछ भन्ने मैले महशुस गरेँ,’ उनी ती दिन सम्झिन्छिन् ।
स्कुलमा हुने वाषिर्कोत्सवलगायत कार्यक्रममा नानी आफैं नाटक लेख्थिन् । कसलाई कुन रोल सुहाउँछ, साथीहरु मध्येबाटै कलाकार छनोट गर्थिन् । उनको कला स्कुलमै सीमित रहेन । उनको गाउँ सिन्धुपाल्चोकमा थुप्रै सामाजिक संघसंस्था थिए ।
चेलीबेटी बेचबिखन, घरेलु हिंसाजस्ता विषयमा मञ्चन हुने नाटकका लागि नानीको खोजी हुन थाल्यो । गाउँमै केही नाटक गरेपछि काठमाडौं आइन् । काठमाडौं आएपछि राष्ट्रिय नाचघरमा प्रशिक्षण लिइन् । उनको उद्देश्य प्रशिक्षण लिएर प्रमाणपत्र लिनेभन्दा पनि व्यावहारिक ज्ञान सिक्नु थियो । नाटक विधामा पनि उनले स्नातकसम्मको अध्ययन पूरा गरेकी छन् ।
भुर्रर उडयो, ‘पुतली’
केही फरक गर्नुपर्छ भन्ने उनको मान्यता थियो । त्यही स्टेज, त्यही पर्दा, त्यही कलाकार । कसरी फरक गर्ने त ? उनको दिमागमा यही प्रश्न खेल्न थाल्यो ।
श्री महेन्द्रोदय उच्चमाविमा कक्षा ८ मा पढ्दै गर्दा नाटक गर्नकै लागि भनेर साथी खोजिन्, एक जना पनि भेटिनन् । सबै कुनै न कुनै बहाना बनाएर काम नगर्ने मात्रै भेटिए । त्यहीबेला उनले अब एकल प्रस्तुति गर्ने निधो गरिन् ।
उनले एकल नाटक प्रस्तुत गरिन् ‘पुतली’, जुन २५ मिनटको थियो । नाटक मञ्चनलगत्तै उनका बारेमा स्थानीय मिडियामा समाचार आयो, ‘विलक्षण प्रतिभा ।’
एकल प्रस्तुति गर्नुको अर्को पनि कारण थियो । नाटकमा धेरैको रुचि नहुने । नाटक गर्ने केटी भनेपछि स्टार कलाकार हुने त सम्भावनै भएन । कतिले दुःखी कलाकारको रुपमा टिप्पणी गर्न थाले । केटाहरुसँग जोडी भएर गरेको अभिनयप्रति पनि कतिपयले सकारात्मक टिप्पणी गरेनन् । नाटकमा जोडी भएर अभिनय गरेकै केटासँग नाम जोडिँदा उनलाई दिक्क लाग्थ्यो ।
‘जूनकिरी’को उज्यालो
‘पुतली’बाट शुरु भएको उनको एकल नाटक यात्रा ‘जूनकिरी’सम्म आइपुग्यो । उक्त नाटक दुई घण्टाको थियो । जूनकिरी उनको पाँचौं प्रस्तुति थियो । यसअघि पनि उनले चार वटा नाटक गरेकी थिइन् । तर, चर्चा धेरै ‘जूनकिरी’ भयो ।
उनलाई लाग्छ, अरु चार नाटक ‘जूनकिरी’भन्दा पनि अब्बल थिए । तर, ‘जूनकिरी’लाई सामाजिक सञ्जालले बढी चर्चित बनायो । मुलुकका विभिन्न स्टेजमा गरेर अहिलेसम्म यो नाटकको ७० सो भइसकेको छ ।
‘जूनकिरी’ खासमा एउटा सामाजिक अभियानका लागि थियो । कुनै पनि टिकट बिक्री गरिएन । दोलालघाटको माझीबस्तीको सहयोगार्थ नाटक मञ्चन भएको थियो ।
स्टेजमा ‘बोक्रे भलादमी’
अघिल्ला नाटक मञ्चन हुँदा नानीले धेरै भीआईपीलाई आमन्त्रण गरेकी थिइन् । नाटक हेरिदिएवापत स्टेजमा बोलाएर विशेष सम्मान दिनुपर्ने सोच भलादमीहरुको रहेछ, नानीलाई त्यही मन परेन । ‘जूनकीरी’मा उनले कसैलाई पनि स्टेजमा आमन्त्रण गरिनन् ।
स्टेजमा नबोलाएवापत केही भीआईपी रिसाए भनेर कसैले उनलाई सुनायो । यही कारण उनलाई लाग्यो, शहरमा नाटक हेर्ने कल्चर विकास भएको भनिए पनि खासै नाट्यसंस्कार रहेनछ ।
‘भीआईपीको बानी बिगार्ने काम थिएटरहरुले नै गरेका हुन् । किनकि, कुनै पनि नाटक मञ्चनको क्रममा कोही भीआईपी देख्नेबित्तिकै स्टेजमा बोलाएर विशेष परिचय दिने चलन छ,’ उनी भन्छिन् ।
उनलाई लाग्छ, नाटक हेर्न जाने सबै दर्शक समान हुन् । जसले स्टेजमा प्रस्तुति दिन्छ ‘स्पेशल पात्र’ त्यही हो । यस्ता पनि भीआईपी छन्, जो नाटक हेर्न स्टेजमा आउँछन् र काउन्टरमा आएर फोन गर्छन्, ‘मेरो पास खै’ भन्दै ।
‘भैरव अर्यालले लेख्नु भएको बोक्रे भलादमी हाम्रो समाजमा धेरै छन्,’ उनी भन्छिन्, ‘एक/डेढ सयको टिकट काट्न पनि गार्हो मान्ने धेरै बौद्धिकहरु मैले झेलेकी छु ।’
छैटौं एकल प्रस्तुतिका लागि नानीले ‘जिन्दगी जिन्दावाद’ लेखिसकेकी छन्, जुन आगामी वर्ष मञ्चन गर्ने योजना छ । उनको अर्को योजना छ, काठमाडौंमा एउटा थिएटर स्थापना गर्ने ।
मनोविज्ञसमेत रहेकी नानीले प्रधानन्यायाधीश हुने सपना देखेकी छन् । ‘भर्खर कानुनमा स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत छु, हेरौं के हुन्छ,’ उनी भन्छिन् ।