Comments Add Comment

नेपाली बैंकको डिजिटल छलाङः ढड्डाबाट शुरु यात्रा रोबोट युगतिर

अझै प्रविधिमैत्री बन्न सकेनन् उपभोक्ता

१ माघ, काठमाडौं । कुनै समय बैंकको नारा हुने गथ्र्यो, बैंक तपाईंको घर-घरमा । अहिले नारा फेरिएको छ, बैंक तपाईंको गोजीमै ।

प्रविधि तीव्र विकासका कारण बैंकिङ क्षेत्रमा आएको आमूल परिवर्तनको झल्को दिन्छ यसले । नेपाली बैंकिङ क्षेत्रको आठ दशकको इतिहासमा बैंकहरु शहरबाट घर र घरबाट खल्तीमै पुगेका छन्, बैंक तथा वित्तीय संस्थाहरु ।

‘अहिले पर्समा पैसा बोक्नै पर्दैन, साथमा भएको कार्ड मेसिनमा स्वाइप गरेर भुक्तानी लिन सकिने भएको छ,’ काठमाडौं मैतीदेवीका सुमन लामिछाने भन्छन्, ‘पैसा साथमा बोक्दा हुने चोरी, लुटपाटलगायत जोखिम पनि घट्दै गएको छ ।’

प्रविधिको प्रयोग बढाउन बैंकहरुले डेबिड, क्रेडिट र प्रिपेड कार्ड जारी गर्दै आएका छन् । मोबाइल र इन्टरनेट बैंकिङजस्ता सुविधा उपलब्ध गराएका छन् । उपभोक्ताले तिनै कार्डहरु मार्फत् अत्याधुनिक बैंकिङको सेवा लिन पाएका छन् ।

सामान खरिदवापतको भुक्तानी होस् वा घरायसी बिलहरु तिर्न, बैंकिङ सुविधाको उपलब्धता बढ्दो छ । हात-हातमा पुगेका स्मार्ट मोबाइल फोनले पनि अत्याधुनिक बैंकिङको प्रयोगमा सहभागिता बढाउन थालेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा दुई करोड पाँच लाखभन्दा बढी निक्षेप खाता खोलिएका छन् । र, तीमध्येका ३० लाख सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

दुई करोड वटा निक्षेप खाता खोलिएको छ, संख्यामा । तर, त्यसरी खोलिएका खातामा दोहोरोपना मात्रै होइन, एक व्यक्तिसँग तीन वटाभन्दा बढी खाता रहेको पाइन्छ

यस्तै, ६ लाख ६७ हजारले इन्टरनेट बैंकिङ सुविधा लिइरहेका छन् । ५६ लाख वटा डेबिट कार्ड जारी भएका छन् ।

अझै सीमितको पहुँचमा

दुई करोड वटा निक्षेप खाता खोलिएको छ, संख्यामा । तर, त्यसरी खोलिएका खातामा दोहोरोपना मात्रै होइन, एक व्यक्तिसँग तीन वटाभन्दा बढी खाता रहेको पाइन्छ ।

राष्ट्र बैंकले एउटा बैंकमा एउटा व्यक्ति वा संस्थाले एकभन्दा बढी निक्षेप खाता खोल्न नपाउने व्यवस्था गरेको छ । तर, एकभन्दा बढी बैंकमा एउटै व्यक्ति वा संस्थालाई खोता खोल्नमा रोक लगाइएको छैन । र, त्यस्तो रोक सम्भव पनि हुँदैन ।

राष्ट्र बैंकको भनाइमा हाल ४० प्रतिशत जनसंख्यामा मात्रै वित्तीय पहुँच पुगेको छ । त्यसलाई आधार मान्ने हो भने पनि बैंकहरुले अझै करिब एक करोड ७१ लाख जनसंख्यालाई बैंकिङ दायरामा ल्याउन सकेको छैन ।

संघीयताको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाहरु ग्रामीण भेगमा पनि पुग्ने क्रम बढेको छ । कम्तिमा एक स्थानीय तहमा बैंक हुनुपर्ने नियम रहेकाले वित्तीय पहुँच बढ्दै जाने अपेक्षा भने गर्न सकिन्छ ।

‘भूगोलको आधारमा पनि लगभग ४० प्रतिशत क्षेत्रमा बैंकहरुको उपस्थिति थियो, अब भने ८० देखि ९० प्रतिशत भूभागमा बैंक पुग्ने देखिएको छ,’ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन् ।

प्रविधिको प्रयोगसहित केही बैंक गाउँतिर पुग्दैछन् । तथापि, त्यति नै पर्याप्त नरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।

‘बैंकहरु आफैंले पनि लगानी गरेर प्रविधिको प्रयोग गर्ने र पहुँच नपुगेको क्षेत्रमा जाने गर्नुपर्छ । तर, उनीहरु दातृ निकायहरुको मात्रै मुख ताकिरहेका छन्,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल भन्छन् ।

सर्वसाधारणको पहुँचमा डेबिट, क्रेडिट र प्रिपेड कार्डहरु छैनन् ।अहिले पनि धेरै मानिस पहिले एटीएममा गएर पैसा झिक्छन् र त्यही पैसा तिरेर सामान किन्छन्

हाल ‘एक्सेस टु फाइनान्स’लगायत निकायको सहयोगमा बैंक तथा वित्तीय संस्थाहरुले विकट जिल्लामा लघुवित्त, ट्याब बैंकिङ र मोबाइल बैंकिङ सुविधा दिएका छन् ।

कति प्रविधि मैत्री ?

आर्थिक सर्वेक्षणअनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या तीन करोड २८ लाख पुगेको छ । जुन, ०६८ सालको जनगणनाभन्दा ६३ लाख पाँच हजार बढी हो । पछिल्ला दिनमा स्मार्ट फोन प्रयोगकर्ताकै संख्या अधिक छ । तर, ती सबैले मोबाइल बैंकिङका लागि आफ्नो स्मार्ट फोन प्रयोग गरिरहेका छैनन् ।

अझ, सर्वसाधारणको पहुँचमा डेबिट, क्रेडिट र प्रिपेड कार्डहरु छैनन् ।

‘अहिले पनि धेरै मानिस पहिले एटीएममा गएर पैसा झिक्छन् र त्यही पैसा तिरेर सामान किन्छन्, नेपाल इन्भेस्टमेन्ट बैंकको कार्ड सेन्टर प्रमुख रिना चन्द भन्छिन्, ‘जबकि, पैसा तिर्न त्यही कार्डको प्रयोग गर्न सकिन्छ ।’

यसमा व्यवहारिक समस्या भएका कारणले नै आम उपभोक्ताले सीधै कार्डबाट सामान खरिद गर्न पाइरहेका छैनन् । बालाजुका राजु गुरुङ भन्छन्, ‘कुनै ठाउँमा कार्ड स्वाइप गर्दा भुक्तानी नै हुन सक्दैन । कुनै ठाउँमा स्वाइप गरेको अलग्गै शुल्क लिन्छन् ।’

बैंकहरुको पछिल्लो तथ्यांकअनुसार हाल देशभर जम्मा पाँच हजार पोइन्ट अफ सेल (पीओएस) मेसिन जडान भएका छन् । यसको सर्वसुलभ प्रयोग शुरु हुन सकेको छैन । पीओएसको माग भने बढिरहेको बैंकहरुको दाबी छ ।

ठूला मल, केही पसलले यसको प्रयोग बढाएका छन् । साझा यातायातले समेत १० वटा बसमा पीओएस मेसिन प्रयोग गरिरहेको छ । अहिले धेरैजसो पीओएस मेसिन जीपीआरएस प्रणालीमा आधारित भएकाले पनि भुक्तानीमा समस्या आउने गरेको प्रयोगकर्ताहरुको भनाइ छ ।

मोबाइल बैंकिङमार्फत् बिजुली र टेलिफोनको बिल भुक्तानी गर्न सकिने सुविधा शुरु भएको केही वर्ष बितिसकेको छ । तर, त्यसले व्यापकता अझै पाएको छैन । विद्युत र नेपाल टेलिकमका कार्यालयहरुमा हरेक महिनाको पहिलो साता लाग्ने भीडले पनि त्यसैलाई प्रष्ट्याउँछ ।

मेसिनमै राखेर रकम जम्मा गर्न सकिने सुविधा पनि राष्ट्रिय वाणिज्य बैंकलगायत वित्तीय संस्थाले नदिएका होइनन् । तर, त्यस्ता मेसिनको प्रयोग हुन नसकेपछि अहिले त्यत्तिकै थन्किएका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकका नायब महाप्रबन्धक विजेश सुवाल भने प्रविधि प्रयोगको आफ्नै शृंखला हुने बताउँछन् । भन्छन्, ‘प्रविधिको प्रयोगमा समय लाग्छ । तर, हामी नेपाली बढी प्रविधिमैत्री देखिएका छौं, विश्वमा यिनै प्रविधि आत्मसाथ हुन हाम्रोमा भन्दा बढी समय लागेको थियो ।’

प्रविधिको साटो नेपालीमा भौतिक मुद्रा मोह बढी देखिनुको अर्को आयाम पनि छ । त्यो हो, अनौपचारिक अर्थतन्त्रको आकार ४० देखि ५० प्रतिशतसम्म रहनु ।

राष्ट्र बैंकको तथ्यांकअनुसार तीन खर्ब ८४ अर्बबराबरका कागजी नोट र सिक्काहरु चलनचल्तिमा छन्, अहिले । यो दर वार्षिक रुपमा बढ्दो छ । प्रविधिमैत्री हुने हो भने विद्युतीय कारोबार बढ्ने निश्चित छ । र, कागजी मुद्राको प्रयोग घटाउनेछ ।

प्रविधिको जोखिम !

नेपालमा बेला-बेलामा प्रविधिका कारण वित्तीय दुर्घटनाहरु भएका छन् । सोही कारण ग्राहकहरुमा मनोवैज्ञानिक अड्चन पाइन्छ, प्रविधिको प्रयोगमा ।

एटीएमबाट रकम चोरी, बैंकहरुको प्रणाली नै ह्याक गरेर विदेशबाटै पैसा झिकिदिनेजस्ता घटनाले मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको पाइन्छ । त्यस्ता घटनाले पनि ग्राहकलाई प्रविधिमैत्री बन्न बाधा उत्पन्न गरिरहेका छन् ।

खातापाताबाट डिजिटलाइजेसनतिरको यात्रा

एसबीआई बैंकको स्मार्ट शाखामा रोबोटले ग्राहकलाई स्वागत गर्नेदेखि कारोबारका लागि त्यहाँको उपकरण प्रयोग गर्ने विधिसम्म सिकाउँछ । पैसा राख्ने, झिक्ने, चेक जम्मा गर्नेलगायत सबै काम मेसिनबाटै हुन्छ

बिसं १९९४ मा नेपालमा सरकारी स्वामित्वमा पहिलो बैंक सञ्चालनमा आएको थियो, नेपाल बैंक लिमिटेड । त्यतिखेर बैंकिङ सञ्चालन प्रणाली नै कागजी खातापातामा आधारित थियो ।

२०२८ सालताका मर्कन्टाइल कम्युनिकेसनले डाटा प्रणाली भित्र्याएपछि प्रविधिको युगमा नेपाली बैंकिङ क्षेत्र प्रवेश गरेको इन्भेस्टमेन्ट बैंकका नायब महाप्रबन्धक सुवाल बताउँछन् ।

२०४४ मा नेपालमा पहिलो पटक क्रेडिट कार्डको प्रयोग भयो । भित्र्याएको थियो, नबिल बैंकले । ०४७ सालमा हिमालयन बैंकले एटीएम मेसिनको शुरुवात गर्‍यो । सोही बैंकले टेलिफोन बैंकिङ शुरु गर्‍यो ।

२०५९ सालमा कुमारी बैंकले नेपालमै पहिलोपल्ट इन्टरनेट बैंकिङ प्रयोगमा ल्यायो । लक्ष्मी बैंकले ०६१ मा एसएमएस बैंकिङ शुरु गर्दै मोबाइल बैंकिङमा नेपालमा पहिलो प्रयोग गर्‍यो ।

गत साउनमा नेपाल एसबीआई बैंकले स्मार्ट शाखा सञ्चालनमा ल्याएको छ, जहाँ रोबोटले ग्राहकलाई स्वागत गर्नेदेखि कारोबारका लागि त्यहाँको उपकरण प्रयोग गर्ने विधिसम्म सिकाउँछ । उक्त शाखामा पैसा राख्ने, झिक्ने, चेक जम्मा गर्नेलगायत सबै काम मेसिनबाटै हुन्छ ।

बैंकहरुको डिजिटलाइजेसन प्रक्रियालाई थप गति दिने तयारीमा छ, राष्ट्र बैंक । तत्काल भुक्तानी हुने (आरटीएस) प्रविधिको आगामी १८ महिनामा सफल प्रयोग गरिने केन्द्रीय बैंकको उद्घोष छ । यस्तै, भुक्तानी प्रणालीको नियमन र जोखिम नियन्त्रणका लागि भुक्तानी संयन्त्र -नेसनल पेमेन्ट गेटवे) लागू गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment