Comments Add Comment

त्रिभुवन विमानस्थलमा माग्नेबुढालाई सास्ती !

मौसम खराब छ, एयरपोर्टमै खाँदै बस्दै !

१ माघ, काठमाडौं । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ धनगढी महोत्सवका लागि प्रस्तुति दिन आइतवार बिहान साढे ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगे । उनको उडान समय थियो ११.३० बजे ।

विमानस्थलको निमानुसार माग्नेबुढा समयमै एअरपोर्ट पुगेका थिए । उनले त्यहाँ विभिन्न एअरलाइन्सले भित्तामा राखेको स्क्रिनमा फ्लाइट सेड्युल हेरे । कतै कुनै पनि हवाइजहाज हलचल गरेका थिएनन् । खराब मौसमका कारण उडान अवरुद्ध भएको सूचनाहरु आइरहेका थिए ।

केही दिनयता तराईमा चिसो र हुस्सु बढेका कारण उडानमा गडबडी भइरहेको छ । दिउँसो कतिबेला मौसम खुल्छ र विमान चलाउने भनेर पाइलटहरु ‘भगवान भरोसा’मा बसेका भेटिन्छन् एयरपोर्टमा ।

धनगढी महोत्सवमामा हास्य कलाकार माग्नेबुढो आउने भन्दै प्रचार-प्रसार भइरहेको थियो । यता काठमाडौंमा माग्ने बुढा आइतबार दिनभरि पाइलटहरुसँग तस्वीर खिचाएर दिन बिताइरहेका थिए ।

धनगढी महोत्सवमामा हास्य कलाकार माग्नेबुढो आउने भन्दै प्रचार-प्रसार भइरहेको थियो । यता काठमाडौंमा माग्ने बुढा आइतबार दिनभरि पाइलटहरुसँग तस्वीर खिचाएर दिन बिताइरहेका थिए

तराईमा जस्तै काठमाडौंमा पनि चिसो बढेको छ । विमान कुरेर बस्न यात्रुहरुलाई सजिलो छैन । चिसो भगाउन माग्नेबुढाले एअरपोर्टभित्र रहेको कफीसपमा पुगेर कफी मागे ।

कफी पिएपछि उनले तल आएर उडानबारे बुझे । कर्मचारीहरु पुरानै सूचना दोहोर्‍याइरहेका थिए- ‘खराब मौसमका कारण उडान हुन सकेन ।’

आयोजक संस्थाका अधिकारीहरुसँग उनको पटक-पटक कुरा भयो । उनीहरु भन्थे, पख्नुस् है हामी मिलाउँदैछौं । फेरि भन्थे, तपाई पनि अरु कुनै एअरलाइन्समा ट्राई गर्नुस् न ।

आइतबार एअरपोर्टमा बस्दाबस्दै साँझ पर्‍यो । माग्नेबूढाले धनगढी जाने कुनै फ्लाइट भेटेनन् । उनी झोला बोकेर घर फर्किए । दिनभरि उनले कफीसपमा कफी र चाउमिन खाएको बील मात्रै तीन हजार रुपैयाँ तिरेछन् ।

सोमवार बिहानै उनी फेरि एअरपोर्ट पुगेका छन् । तर, आज पनि एअरलाइन्सका स्क्रिनमा त्यही सूचना जारी छ- खराब मौसमका कारण उडान हुन सकेन ।

माग्नेबुढाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार खराब मौसमकै कारण सोमबार पनि बिहान ९ बजेसम्म कुनै पनि एअरलाइन्सले तराईमा उडान भर्न सकेका छैनन् ।

उनी भन्छन्- ‘हेरौं आज पनि बेलुका झोला बोकेर घरै जानुपर्ने हो कि धनगढी पुगिने हो !’

पुस महिनामा मात्रै २० घण्टा जति एअरपोर्ट रुँगेर बिताएको उनी बताउँछन् । ‘गएको महिना चारपटकको उडानमा एकपटकमा कम्तिमा पाँच घण्टा एअरपोर्ट रुँगेर बिताएको छु ।’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment